तस्बिरः डब्ल्यूडब्ल्यूएफ
काठमाडौँ- नेपालमा बाघको अवस्था पत्ता लगाउन बाघ सर्भेक्षण तथा राष्ट्रिय बाघ गणना चितवनको सौराहाबाट सुरु भएको छ।
बाघ गणना प्रत्येक ४-४ वर्षमा गरिँदै आएको छ। बाघ गणना नेपालको पाँच वटा राष्ट्रिय निकुञ्ज सरक्षित क्षेत्र र वरपरको बाघ पाइने वन क्षेत्रमा गरिने छ। उक्त बाघ गणनाको वनमन्त्री माधव चौलागाईले बाघ गणनामा प्रयोग गरिने स्वचालित क्यामाराको स्विच अन गरेर उद्घाटन गरे।
उक्त अवसरमा उनले नेपालमा भएको संरक्षणको कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा हुने गरेको र बाघ गैडा लगायतका वन्यजन्तुले नेपाललाई थप परिचित गराएको बताए।
उक्त अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी तथा इकोलोजिष्ट हरिभद्र आचार्यले बाघ गणना चितवन पर्सा क्षेत्रबाट सुरु भएर बाँके–बर्दिया क्षेत्र र शुक्लाफाँटा लालझाडी क्षेत्रमा ८ वटा ब्लक बनाएर सम्पन्न गरिने जानकारी दिए। प्रत्येक ब्लकमा दुई किलोमिटर लम्बाइ दुई किलोमिटर चौडाइको ग्रिड बनाएर स्वचालित क्यामराबाट ट्रयापिङ गरिने उनले बताए। बाघ गणनाको लागि करीब ३ करोड खर्च हुने र १ हजार १ सय क्यमारा प्रयोग हुने उनको भनाइ छ।
बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका करिब २५० जना कर्मचारी र प्राविधिकहरू सहभागी हुनेछन्। बाघ गणना गर्ने कार्य जोखिमपूर्ण चुनौतीपूर्ण हुने बाघ गणना सुुरु हुँदा देखि नै काम गर्दै आएका राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तीर्थमान लामाले बताए। बाघ पाइने स्थानमा क्यामरा राखेर जंगलमा नै क्याम्प खडा गरेर बाघ गणना गर्ने गरिएको उनको भनाइ छ।
बाघ गणनाको नतिजा बाघ दिवसको अवसरमा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छन्। त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको सरकारी तथ्यांक छ।




