चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना

हिमाल प्रेस ३ पुष २०८२ १३:४०
6
SHARES
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना प्रतिकात्मक तस्बिर।

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ। बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन्। उनले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए। उनले भने, ‘एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ।’

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको बताए।

उनका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखी बाघ गणना गरिने छ। चितवन-पर्सा ब्लकमा नौ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको उल्लेख गर्दै सूचना अधिकारी मगरले यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए।

‘योसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिँदै छ। तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो। हरेक चार/चार वर्षमा बाघ गणना गरिँदै आइएको छ’, मगरले भने।

निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका उनले जानकारी दिए।

ग्रिडहरू बीचभागमा पर्ने स्थानमा गणना गर्ने प्राविधिक क्याम्प (शिविर) सथापना गरी गणकका लागि बस्ने व्यवस्था गरिएको निकुञ्ज कार्यालयले जनाएको छ। गणकहरूले भूगोल अनुसार आठदेखि १२ सम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने उनले जानकारी दिए।

‘ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ। बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ। ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ’, सूचना अधिकारी मगरले भने। बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा संख्या छुट्याइने उनले बताए।

‘हरेक बाघको पाटा फरक-फरक हुने गर्दछन्। पहिलो कम्प्लेक्स (समूह) यो हो भने दोस्रो बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ। त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन्। तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ। यसलाई एउटै ब्लक बनाइने छ’,उनले भने।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा तीन सय ५५ वटा वयस्क बाघ रहेका तथ्यांक सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा एक सय २८, बर्दियामा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए।

बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ। गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो।

प्रकाशित: ३ पुष २०८२ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast