त्रिविमा तीनदिने हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

हिमाल प्रेस २८ मंसिर २०८२ १६:११
28
SHARES
त्रिविमा तीनदिने हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

काठमाडौँ- आजदेखि हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु भएको छ। प्रदर्शनी त्रिभुवन विश्वविद्यालअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागमा सुरु गरिएको हो।

तीन दिनसम्म चल्ने प्रदर्शनीको नारा ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नव प्रवर्तन’ राखिएको छ। प्रदर्शनी कार्यक्रम हिमालयन रीम फिल्म एक्जिभिजनले पहिलाेपटक आयोजना गरेको हो।

प्रदर्शनीमा एनिमेटेड फिल्म प्रदर्शन, क्राफ्ट कार्यशाला, सांस्कृतिक-सिर्जनात्मक प्रदर्शनी तथा सिनेम्याटिक संवादहरू समेटिएका छन्। आयोजकका अनुसार प्रदर्शनीमा चिनियाँ फिल्महरूको विशेष प्रदर्शन राखिएको छ।

प्रदर्शनीकाे उद्देश्य परम्परागत चिनियाँ संस्कृति र आधुनिक प्रविधिको संयोजनमार्फत नेपाली युवा वर्गका लागि एक विशेष दृश्य-श्रव्य अनुभव प्रस्तुत गर्नु रहेको आयोजकले बताएको छ।

 

प्रदर्शनीको पहिलो दिन एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट बनाइएको छोटो फिल्म ‘द स्पिरिट अफ द माउन्टेन्स’ प्रदर्शन गरिएको छ। फिल्मले परम्परागत सांस्कृतिक धरोहर र अत्याधुनिक एआई प्रविधिबीचको अद्वितीय संयोजन प्रस्तुत गरेको छ। फिल्म चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्ने ‘क्वानसिङ तुओ’ (पूर्ण आकारको रबिङ कला) प्रविधिबाट प्रेरित थियो।

यसले डिजिटल प्रविधिको सहयोगमा परम्परागत संस्कृतिलाई कसरी पुर्नजीवित र पुनः व्याख्या गर्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ। फिल्मका निर्देशक पाङ जिया हुन्।

दिउँसो सत्रमा एनिमेटेड फिल्म ‘द लिजेन्ड अफ हेइ २’ प्रदर्शन गरिएको थियो। फिल्मले मानिस र पर्वत, जल, काठ, ढुंगा तथा जनावरलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने पात्रहरूबीचको सहअस्तित्वको कथा प्रस्तुत गरेको छ। फिल्ममा ‘गतिशील स्टोरीबोर्ड प्रिऔभिजुअलाइजेसन’ प्रविधि प्रयोग गरिएको थियो।

प्रदर्शनीको उद्घाटन समारोहमा कलाकार तथा फिल्मकर्मी अनिल यादव, बुद्धि तामाङ, प्रदीप खड्का, पवित्रा साकी, केपी पाठक तथा प्राध्यापक कुन्दन अर्याललगायत विभिन्न चर्चित व्यक्तित्वहरू उपस्थित थिए।

त्रिविसँगै प्रदर्शनी काठमाडौँ विश्वविद्यालयमा ३ दिन र लुम्बिनी विश्वविद्यालयमा १ दिन गरी साताव्यापी सञ्चालन हुने आयाेजकले जनाएको छ। प्रदर्शनीमा ‘क्वानसिङ तुओ’ जस्ता अमूर्त सांस्कृतिक सम्पदादेखि एआईजीसी (एआई जेनेरेटेड कन्टेन) एनिमेसनसम्मको यात्रा समेटिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast