तेस्रोपल्ट एमाले अध्यक्ष बनेका ओलीको यस्तो छ राजनीतिक यात्रा

हिमाल प्रेस ३ पुष २०८२ १४:२०
18
SHARES
तेस्रोपल्ट एमाले अध्यक्ष बनेका ओलीको यस्तो छ राजनीतिक यात्रा

काठमाडौँ- नेकपा एमालेमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। पार्टीको एघारौँ महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मत गणनाको परिणामअनुसार ओली निर्वाचित भएका हुन्। ओली यसअघि एमालेको दसौँ र नवौँ महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएका थिए। उनी लगातार तेस्रोपटक अध्यक्ष बन्न सफल भएका हुन्।

अध्यक्ष ओली ६ दशकदेखि वाम राजनीतिमा संलग्न छन्। उनी २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भएका हुन्। २०२५ सालमा पूर्णकालीन राजनीतिक कार्यकर्ताका रुपमा सक्रिय भएका ओलीले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए।

सोही वर्ष झापामा पहिलो पटक गिरफ्तार ओली २०३० सम्म १० पटक गिरफ्तार र रिहा भएका थिए। उनले २०२७ सालमा पूर्णकालीन नेताका रुपमा आन्दोलन परिचालनका लागि भूमिगत जीवन थालेका थिए।

यस क्रममा ओली २०२८ सालमा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनीत भए।

२०३० सालमा राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न आरोपमा गिरफ्तार भएका ओली चार वर्ष गोलघरसहित १४ वर्ष जेलमा परेका थिए।
उनी जेलमै रहँदा २०३५ मा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनिवादी)को संस्थापक नेता थिए।

ओली २०४५ सालमा जेलबाट रिहा भएका थिए। सोही पुसमा उनी नेकपा (माले) को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन भएका थिए भने उनलाई लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी दिइएको थियो।

२०४७ सालमा उनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष भएका थिए। सोही वर्ष नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो। ओली संस्थापक केन्द्रीय सदस्य बनेका थिए। उनलाई २०४९ सालमा केन्द्रीय विदेश विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो। केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारीसहित २०५० सालमा ओली पोलिटब्युरो सदस्य निर्वाचित भएका थिए।

ओली २०५१ सालमा पार्टी संसदीय विभागको प्रमुख भएका थिए। पार्टीको छैटौँ राष्ट्रिय महाधिवेशनमा उनीद्वारा प्रस्तुत कार्यनीतिक प्रस्ताव अत्यधिक मतद्वारा पारित पारित भएको थियो। ओली २०५४ सालमा महाधिवेशनबाट स्थायी समिति सदस्यमा निर्वाचित भएका थिए भने उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो।

पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा ओली स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुननिर्वाचित भएका थिए। ओलीले २०६५-६६ सम्म केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख भएर काम गरेका थिए। आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको प्रत्यासी भएका ओली झलनाथ खनालद्वारा पराजित भएका थिए।

नवौँ राष्ट्रिय महाधिवेशन (२०७१) बाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका ओली दसौँ महाधिवेशन (२०७८) मा भीम रावललाई पराजित गरी अध्यक्ष भएका थिए।

२०४८ सालमा झापा-६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओली मध्यावधि निर्वाचन २०५१ मा झापा-२ बाट निर्वाचित भएका थिए। उनी पहिलो मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो

वामपन्थी सरकारमा २०५१ सालमा गृहमन्त्री भएका थिए। यसैगरी उनी प्रतिनिधिसभा २०५६ को चुनावमा झापा-६ बाट निर्वाचित भएका थिए। ओली पुनर्स्थास्पित संसद् २०६३ मा गिरिजाप्रसाद कोइरालको नेतृत्वमा गठित सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका थिए।

ओली २०७२ असोज २५ मा पहिलोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनी करिब १० महिना अर्थात् २०७३ साउन १९ गतेसम्म प्रधानमन्त्री थिए। त्यसपछि दोस्रोपल्ट ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सो कार्यकाल ३ वर्ष ९ महिना अर्थात् २०७८ वैशाख ३० गतेसम्म कायम रह्यो। सोहीअनुसार प्रधानमन्त्रीमा उनको तेस्रो कार्यकाल २०७८ वैशाख ३० देखि २०७८ असार २९ अर्थात् दुई महिना प्रधानमन्त्रीमा कायम रह्यो।

तत्कालीन नेकपामा विभाजन आएपछि ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएका थिए। ओली २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ओली बालुवाटारबाट हेलिकप्टर चढेर भागेका थिए।

प्रकाशित: ३ पुष २०८२ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast