यस्तो छ मन्त्री घिसिङको सय दिनको रिपोर्ट कार्ड

हिमाल प्रेस ९ पुष २०८२ १६:५२
12
SHARES
यस्तो छ मन्त्री घिसिङको सय दिनको रिपोर्ट कार्ड फाइल तस्बिर

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङले सय दिनको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्। रिपोर्टमा उनले जेनजी आन्दोलन र प्राकृतिक विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण, पूर्वाधार सुधारलगायत काम तीव्र रूपमा अघि बढाइएको बताएका छन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको अवसरमा आज सहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सम्पादित कामको विवरण सार्वजनिक गरेका हुन्।

मन्त्री घिसिङका अनुसार आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सहरी पूर्वाधार विस्तार, फोहोर व्यवस्थापन, नदी संरक्षण र दीर्घकालीन सहरी योजना निर्माणमा उल्लेखनीय काम अघि बढाइएको छ। यस अवधिमा मन्त्रालयअन्तर्गतका चार रुग्ण ठेक्का तोडिएको छ।

जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी संरचनामध्ये सामान्य क्षति (हरियो स्टिकर) भएका १४० भवनको पुनर्निर्माण अन्तिम चरणमा पुगेका मन्त्री घिसिङले जानकारी दिए।

आंशिक क्षति (पहेँलो स्टिकर) भएका २४९ र पूर्ण क्षति (रातो स्टिकर) भएका ५१ भवनको विस्तृत क्षति मूल्यांकन ‘फास्ट ट्र्याक’मा भइरहेको बताउँदै उनले पुसभित्र पुनर्निर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइने बताए।

खेल पूर्वाधारतर्फ त्रिवि क्रिकेट रंगशालाको पहिलो चरण निर्माण तथा ‘हाइमास्ट फ्लडलाइट’ जडान सम्पन्न गरी हस्तान्तरण गरिएको छ। साथै कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत भई दोस्रो चरणको निर्माणका लागि रु १० अर्ब बराबरको स्रोत सुनिश्चितताको प्रक्रिया सुरु गरिएको मन्त्री घिसिङले बताए।

उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अवरोध वार्तामार्फत समाधान गरी बञ्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। मन्त्री घिसिङले आफ्नो कार्य सम्पदानबारे जानकारी दिँदै स्थानीयवासीसँग विगतका सरकारी सम्झौताहरू कार्यान्वयन सुरु गरिनुका साथै दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको बताए।

मेलम्ची खानेपानीको मुहान बन्द गराइएकामा वार्ताबाट समाधान गरी उपत्यकामा पानी वितरण पुनः सुरु गरिएको मन्त्री घिसिङले बताए।

उनका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजनाको अवधारणापत्र स्वीकृत गरी अर्थ मन्त्रालयमा पठाइएको छ। काठमाडौँ भिजनअन्तर्गत उपत्यकाको एकीकृत सहरी विकास मार्गचित्रलाई अन्तिम रूप दिने काम भइरहेको छ।

निर्माण क्षेत्र सुधारका लागि बाँस संरचना डिजाइन मार्गदर्शन-२०८२, भवन निर्माण मार्गदर्शन-२०८२ र भूकम्पप्रतिरोधी भवन निर्माण संहिता परिमार्जन जारी गरिएको छ। स्वास्थ्य पूर्वाधारतर्फ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, बेनी अस्पताल, सुर्खेत र धनगढी प्रादेशिक प्रयोगशाला तथा कञ्चनपुर प्रसूति तथा बालरोग अस्पताल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ।

बागमती नदी सफाइ अभियानअन्तर्गत गोकर्णेश्वरबाट गुह्येश्वरीसम्म ढलमुक्त गर्ने कार्य, नदीबाट लेदो हटाउने, गौरीघाटमा ‘ट्र्यास बेरियर’ जडान र थप पाँच स्थानमा जडान प्रक्रिया अघि बढाइएको छ। नदी करिडोर क्षेत्रमा ‘हाइमास्ट फ्लडलाइट’ र ‘स्मार्ट लाइटिङ’ जडानका लागि टेण्डर गरिएको छ।

झोलुङ्गे पुलतर्फ बाढीपहिरोबाट क्षतिग्रस्त ४५ पुल पुनर्निर्माणका लागि स्रोत सुनिश्चित र कर्णाली नदीमा दौलतपुरघाट मल्टिस्पान झोलुङ्गे पुल निर्माण सुरु तथा राष्ट्रिय झोलुङ्गे पुल नीति-२०८२ मन्त्रिपरिषद् पेसको प्रक्रियामा रहेको छ।

नीतिगत सुधारअन्तर्गत आवासको अधिकार नियमावली-२०८२, बागमती कार्ययोजना (२०२५-४५), नगर विकास कोषसम्बन्धी कानुन संशोधन, ग्रामीण पूर्वाधार विकास नीति तयारी प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ पुष २०८२ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast