नारीले यसरी सशक्त बनाए संगीत

हिमाल प्रेस १२ पुष २०८२ ९:०० | Saturday, December 27, 2025
12
SHARES
नारीले यसरी सशक्त बनाए संगीत

शास्त्रीय संगीतका बारेमा आमधारणा के छ भने यो अभिजात वर्गको संगीत हो; सम्पन्न वर्गको मनोरञ्जनको माध्यम र पुरुषप्रधान छ। यसको व्यापक जनजीवनसँग कुनै सम्बन्ध रहेन। यसको जटिलता, परिष्कार र सूक्ष्मता आदि यसको आधारभूत आभिजात्यका प्रमाण हुन्। शास्त्रीय संगीतमा महिलाको उपस्थिति निकै कम छ।

परम्परा हेर्ने हो भने विद्या र कलाकी देवी सरस्वती ‘वीणावादिनी’ हुन्। ऋग्वेदमा धेरै रचनाहरू महिला ऋषिका छन्। बौद्धिक र दार्शनिक जगतमा पनि स्त्रीहरूको उपस्थिति पाइन्छ। उनीहरू शास्त्रार्थमा समेत भाग लिने गर्दथे। ठूला देवताहरू आफ्नी संगिनीका साथमा नै देखिने र पुजिने गरिन्थ्यो- जस्तै विष्णु, शिव, राम, कृष्ण आदि। महाकाव्यहरूमा धेरै सशक्त स्त्री पात्रहरू छन् भने स्त्रीमाथि अन्याय गर्दा ब्रह्मा, इन्द्र जस्ता देवतासमेत दण्डित भएका छन्। काव्य, स्थापत्य र मन्दिरहरूमा नृत्यका जति पनि चित्रण भेटिन्छन्, ती अधिकतर स्त्रीहरूकै छन्। संगीतमा स्त्रीहरूको उपस्थितिको प्रमाण भने दुर्लभ छ।

आधुनिक भारतीय शास्त्रीय संगीत ४००-५०० वर्षभन्दा बढी पुरानो छैन। यसमा चाँडै स्त्रीहरूको सहभागिता हुन थाल्यो। यद्यपि शास्त्रीय संगीतमा भन्दा लोकसंगीतमा स्त्रीहरूको उपस्थिति र सक्रियता धेरै पहिलेदेखि बढी र सशक्त छ।

हाम्रो शास्त्रीय संगीतको संरचनामा ‘स्त्री-तत्त्व’को सुन्दर समावेश छ। रागका अलावा रागिनीहरू छन्। मूर्च्छना, श्रुति, तान, बन्दिस र ठुमरी सबै स्त्रीलिंगी शब्द हुन्। धेरै रागहरूको नाम पनि स्त्रीलिंगी छन्: बागेश्वरी, घनाश्री, सोहनी, सावनी, हंसध्वनि, नीलाम्बरी, तोडी आदि।
लघुचित्र कलामा रहेको रागमालाको चित्रण मुख्यतया स्त्री-केन्द्रित छ।

भारतीय शास्त्रीय संगीतको विकास, संरक्षण र विस्तार मुगल र मुसलमान कालमा नै भएको थियो।

सितार, सरोद, तबला, इसराज, सुरबहार, सुरमण्डल जस्ता धेरै वाद्ययन्त्र यसै अवधिमा शास्त्रीय संगीतमा भित्रिए। शास्त्रीय संगीतमा स्त्रीहरूको प्रवेश र सक्रियतालाई प्रोत्साहन एवं संरक्षण भने समाजको अभिजात वर्गबाट नै प्राप्त भयो।

संगीतका क्षेत्रमा बीसौँ शताब्दीको एउटा ठूलो परिघटना फिल्मी संगीतको उदय र अपार व्यापकता हो। संगीतमा त स्त्रीहरूको सहभागिता सुरुदेखि नै सशक्त रहेको छ। एक्ली एक फिल्मी गायिका लता मंगेशकरले हजारौँ गीत गाएकी छन्। उनी दशकौँसम्म फिल्म संगीतको शिखरमा रहिन्।

शास्त्रीय नृत्यमा स्त्रीहरू प्रमुख रूपमा बीसौँ शताब्दीमा मात्रै आए। उनीहरूको बढ्दो उपस्थिति र सहभागिताको परिणामस्वरुप धेरै नृत्य शैलीहरूमा अभूतपूर्व परिवर्तनहरू भए। कत्थक एक समय पुरुषप्रधान नृत्य थियो, अहिले लगभग स्त्रीप्रधान नृत्य भएको छ। ओडिसीबाट पनि पुरुष नर्तकहरू हराएजस्तै भएका छन्। साथसाथै, रंगमञ्च, सिनेमा, ललितकला र साहित्य जस्ता अन्य धेरै विधाहरूमा पनि स्त्रीहरूको अत्यन्त सशक्त र प्रभावशाली उपस्थिति एवं सक्रियता रहेको छ।

प्रकाशित: १२ पुष २०८२ ९:०० | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast