काठमाडौँ- नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई चितवनस्थित बसोबासस्थलबाट बिदाइ गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई सोमबार बिदाइ गरेको हो।
पुस २ गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ। हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो।
खगेन्द्रप्रसाद र रूद्रकलीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइने र पुस २ गते कतार एयरवेजको चार्टर फ्लाइटबाट सीधै कतार लगिने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए।
बिदाइ कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाललाई संसारसामु चिनाउन हात्ती उपहारले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए।
कतार पठाउन लागेका खगेन्द्रप्रसाद भाले हात्ती ६ वर्षको र रुद्रकली पोथी हात्ती ७ वर्षका छन्। २०८१ वैशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने प्रतिबद्धता जनाएको थियो।




