यी नेताले छाडे ओलीको साथ

हिमाल प्रेस २९ मंसिर २०८२ १६:२६ | Monday, December 15, 2025
208
SHARES
यी नेताले छाडे ओलीको साथ

काठमाडौँ- लामो समयदेखि केपी शर्मा ओलीलाई साथ दिँदै आएका एमाले नेताहरू इतर पक्षमा खुलेका छन्। एमालेको जारी एघारौँ महाधिवेशनमा नेतृत्व चयनका लागि हुन लागेको चुनावमा ओली पक्षका केही नेताहरूले ईश्वर पोखरेल पक्षबाट उम्मेदवारी दर्ता गराएका हुन्।

 एमाले अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ। ओली तेस्रो कार्यकालका लागि अध्यक्षका प्रत्यासी बनेका छन् भने वरिष्ठ उपाध्यक्ष पोखरेल पहिलोपटक अध्यक्ष पदमा उम्मेदवार बनेका छन्।

पोखरेल समूहबाट कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त र गोकुल बास्कोटाले उम्मेदवारी दिएका छन्। काठमाडौँका कृष्णगोपाल श्रेष्ठ पूर्वमन्त्रीसमेत हुन्। कुनै बेला ओलीका कट्टर समर्थक रहेका श्रेष्ठले ओलीलाई फुटबल खेलाडी पेलेसँग तुलना गरेर प्रशंसा गरेका थिए। उनले ओलीलाई पेलेसँग दाँजेको भाषण चर्चित भएको थियो।

यसैगरी ललितपुरका पन्त एमाले विभाजन नहुँदा माधवकुमार नेपालका निकट मानिन्थे। नेपालले एमाले विभाजन गरेपछि ओलीसँगै रहेका पन्त पनि संसद्‌मा ओली कार्यको निकै बचाउ गर्ने नेतामध्ये एक मानिन्छन्। उनी पनि पूर्वमन्त्री हुन्।

पूर्वमन्त्री गोकुल बास्कोटा ओली निकट मानिन्थे। ओलीको प्रिय भएकै कारण उनले कुनै बेला सञ्चार राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका थिए। साथै  उनले पनि ओलीले पार्टी र सरकारमा छँदा गरेका विभिन्न कार्यको बचाउ गर्दै आएका थिए। पछिल्ला दिनमा भने बास्कोटा ओलीका आलोचक बनेका थिए।

पन्तले ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। यसैगरी श्रेष्ठ र बास्कोटाले सचिवका लागि उम्मेदवारी दिएका छन्।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्। ‘मैले उपमहासचिवमा उम्मेदवारी दिएँ’, उनले भने। उनी भने कुनै पनि प्यानलमा परेका छैनन्।

यसैगरी कानुनी पृष्ठभूमिका खरेलले पनि ओलीको साथ छाडेका छन्। उनले पनि सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन्। ओलीका सल्लाहकार भएर काम गरेका व्यक्ति खरेल कुनै पक्षमा खुलेका छैनन्।

एमालेको उम्मेदवारी दिने समय साँझ ६ बजेसम्मका लागि तोकिएको छ। यसबीचमा दुवै पक्षबाट केही नेताहरूलाई मनाउने प्रयास भइहरेको नेताहरूले बताएका छन्।

एमालेको जारी ११औँ महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। यसैगरी अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। एमालेले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast