सुर्खेत– प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा कर्णाली प्रदेशका दुई जिल्लामा विवाद देखिएको छ। प्रदेशका कालीकोट र रुकुमपश्चिममा विवाद देखिएको हो। कालीकोटबाट दुई भिन्नभिन्न सूची सिफारिस गरिएको छ भने रुकुमपश्चिममा असन्तुष्टि चुलिएको नेताहरूले बताएका छन्।
नेपाली कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र थापाले प्रदेशका १० वटै जिल्लाबाट उम्मेदवार सिफारिस भइसकेको जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेशका सबै जिल्लाबाट आएको प्रतिनिधिको नाम सिफारिस गरेर पठाइएको हो। उनले कर्णालीमा उम्मेदवार सिफारिस गर्दा केही जिल्लामा देखिएका विवाद समाधान गरिने पनि बताए।
सुर्खेत : सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्णबहादुर खड्का एकल रूपमा सिफारिस भएका छन् । कांग्रेस कार्यवाहक सभापतिसमेत रहेका खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । समानुपातिकतर्फ भिमा मल्ल र नवीन विकको नाम सिफारिस गरिएको कांग्रेस सुर्खेतले जनाएको छ।
सुर्खेत निर्वाचन क्षेत्र २ बाट हृदयराम थानी म्मेदवारका लागि सिफारिस भएका छन्। यसपटक थानीको एकल नाम भने सिफारिस गरिएको छैन। उनीसहित अन्य पाँचजना पनि सिफारिसमा परेका छन् । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य थानी जिल्लाका पुराना नेता हुन्। २०५१ यताका सबै संसदीय निर्वाचनमा उनी सुर्खेतको निर्वाचन क्षेत्र २ बाट कांग्रेसको उम्मेदवार बनेका छन् भने तीन पटक निर्वाचित भएका छन्।
उम्मेदवारका लागि थानीसहित उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भीष्मराज हमाल र वसन्ती बस्नेतका नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भेग कामी, गंगा नेपाली, पार्वती गिरी, धना विष्ट, भीम शाही नेपालीको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ।
दैलेख : दैलेख निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारीमा १३ जना सिफारिस भएका छन्। जसमा सभापति मणिराम रेग्मीसहित खेमराज ओली, खेमराज केसी, गणेश उपाध्याय, नरसिंह मल्ल, पदम मल्ल, नगेन्द्रबहादुर मल्ल, मनोज थापा, सुशील देउजा, वासना थापा, देवेन्द्र थापा, बखतबहादुर कटुवाल र भूपेन्द्रबहादुर शाही छन्।
दैलेखकै निर्वाचन क्षेत्र २ बाट प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस भएको छ । सीताकुमारी राना, दिक्पालकुमार शाही, मधुरविक्रम खनाल र रञ्जना शाहीको नाम सिफारिस गरिएको हो। समानुपातिकतर्फ जानकी विष्ट, पूर्णबहादुर थापा, भगवतीप्रसाद रेग्मी, लीलाराम उपाध्याय, शेरबहादुर शाही, सूर्यबहादुर विकलाई सिफारिस गरिएको छ।
सल्यान : सल्यानबाट प्रत्यक्षतर्फ १६ जना सिफारिस भएका छन्। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै पार्टीले १६ जना उम्मेदवार सिफारिस गरेको हो। कांग्रेस सल्यानको बैठकले राष्ट्रियसभामा एकजना, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ नौजनाको नाम सिफारिस गरेको छ।
राष्ट्रियसभाको उम्मेदवारका लागि जिल्लाबाट ध्रुवराज पुरीको एकल नाम सिफारिस भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केशबहादुर विष्ट, सन्तोष केसी, एकराज डाँगी, मानबहादुर डाँगी, दीपेन्द्रकुमार खत्री र सुरेश चन्दको नाम सिफारिस भएको छ।
समानुपातिक खसआर्यतर्फ चक्र देवकोटा, प्रेमबहादुर डाँगी, वीरबहादुर सेजुवाल, गणेश चन्द, धुव्रबहादुर मल्लको नाम सिफारिस भएको छ। महिलातर्फ सुभद्रा बस्नेत, सीता गिरी, विष्णुकुमारी शर्मा र दलिततर्फ चक्रबहादुर परियारको नाम सिफारिस भएको नेपाली कांग्रेस सल्यानले जनाएको छ।
जाजरकोट : जाजरकोट कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पाँचजनाको नाम सिफारिस गरिएको छ। सिफारिस भएका खड्गबहादुर बुढा, मैना कार्की, मुक्तिप्रसाद आचार्य, महेन्द्रबहादुर शाह र रामजंग शाह छन्।
प्रतिनिधिसभा समानुपातिकतर्फ रामछाया शाही, हजारी नेपाली वादी, भूमिलाल रोकाया, जनक बादी र बिष्णु गिरीको नाम सिफारिस गरिएको छ। राष्ट्रियसभातर्फ भने दीपकजंग शाह, खम्बजंग शाह र गीता नेपालीको नाम सिफारिस गरिएको छ ।
डोल्पा : कांग्रेस डोल्पाको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ कर्ण बुढाको नाम सिफारिस गरेको छ। त्यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ टंकप्रसाद उपाध्याय, जयकुमारी शाही, रमादेवी न्यौपानेको नाम सिफारिस भएका छन्। राष्ट्रियसभातर्फ दूधकुमारी हमाल, राजीमान सार्की र जुना मिजारको नाम सिफारिस भएको छ।
रुकुमपश्चिम : नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ प्रेम प्रकाश ओली र गोपाल जंग शाहको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीका जिल्ला सभापति प्रेमप्रकाश ओलीेले जानकारी दिए। समानुपातिकतर्फ मानबहादुर नेपाली र मनीषा भण्डारीको नाम सिफारिस गरिएको छ।
राष्ट्रियसभा सदस्यमा वीरबहादुर ओलीको नाम सिफारिस गरिएको छ। रुकुमपश्चिममा भने उम्मेदवार सिफारिसलाई लिएर असन्तुष्टि बढेको छ। राजु केसी, शिव आचार्यलगायतका आकांक्षीले असन्तुष्टि जनाएका हुन्।
कालीकोट : कांग्रेस कालीकोटमा उम्मेदवार चयनमा विवाद देखिएको छ। सोही कारण दुई समूहले भिन्नभिन्न नामावली सिफारिस गरेको छ। प्रतिनिधिसभातर्फ हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशरजंग बम र जीवन सुवेदीको नाम सिफारिस भएका छन्।
समानुपातिकतर्फ कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार, भरत विक सिफारिस भएका छन्। राष्ट्रियसभातर्फ विष्णुबहादुर शाही र दानबहादुर बमको नाम सिफारिस गरिएको कालीकोटका जिल्ला उपसभापति मीनबहादुर बोगटीले जानकारी दिए।
कालीकोट जिल्ला सभापति अम्मरबहादुर शाहीले छुट्टै नाम सिफारिस गरेका छन्। जसअन्र्तगत प्रतिनिधिसभा खुलातर्फ भूपेन्द्रजंग शाही, अम्मरबहादुर शाही तथा महिलातर्फ सीता रावलको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ खस आर्यबाट कालीबहादुर सहकारी सिफारिस भएका छन्। महिलातर्फ सुशीला शाही बम, दलिततर्फ मानबहादुर नेपाली सिफारिस भएका छन्।
यसैगरी राष्ट्रियसभाका लागि टेकराज शाही र महिला तर्फ यशोधा शाही सिफारिस भएका छन्।
जुम्ला : नेपाली कांगे्रस जुम्लाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ कर्ण बहादुर शाही, निवर्तमान सांसद कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्गबहादुर सेजुवाललाई उम्मेदवारमा सिफारिस गरेको छ। समानुपातिकतर्फ पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटासहित १४ जनाको नाम सिफारिस गरिएको छ।
राष्ट्रियसभातर्फ कांग्रेसका वर्तमान कर्णाली प्रदेशका सभापति ललितजंग शाही, पूर्व राज्यमन्त्री भक्त बहादुर रोकायासहित चारजनालाई सिफारिस गरिएको छ।
मुगु : नेपाली कांगे्रस मुगुले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ऐनबहादुर शाही, खड्कबहादुर शाही र रमाइली रावतको नाम सिफारिस गरेको छ। राष्ट्रियसभातर्फ हस्तबहादुर मल्लको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ। समानुपातिकतर्फ दलितमा भीम तिरुवा, मीन भाम र केशरकला मल्लको नाम सिफारिस भएको छ।
हुम्ला : नेपाली कांग्रेस हुम्लाले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ जीवनबहादुर शाही, जयपति रोकाया र रीता शाहीको नाम सिफारिस गरेको छ।
प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ भने राष्ट्रियसभा सदस्य (खुला) तर्फ पदमबहादुर लामा एकल रूपमा सिफारिस गरिएको छ। राष्ट्रियसभा सदस्य (महिला) तर्फ भने रंगमती शाही र सबिता बुढाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस हुम्लाले जनाएको छ।





