यस्ता छन् एनपीएल सिजन-२ मा बनेका रोचक रेकर्ड

हिमाल प्रेस २९ मंसिर २०८२ २०:५४
22
SHARES
यस्ता छन् एनपीएल सिजन-२ मा बनेका रोचक रेकर्ड

काठमाडौँ– क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सम्पन्न भइसकेको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भयो। प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न ‘रेकर्ड’ बारे पनि चर्चा भइरहेका छन्।

दोस्रो सिजनको उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भयो। फाइनलमा लायन्स ६ विकेटले विजयी हुँदै च्याम्पियन भयो। रोयल्सले भने दोस्रोपटक पनि उपविजेतामै चित्त बुझायो।

टस जितेर पहिला ब्याटिङ गरेको रोयल्स १९ दशमलव एक ओभरमा ८५ रनमा अलआउट भयो। जवाफमा लायन्सले ९ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो। पहिलो संस्करणको फाइनलमा पनि रोयल्स जनकपुर बोल्ट्ससँग पाँच विकेटले स्तब्ध भएको थियो।

च्याम्पियन बनेसँगै लायन्सले ट्रफीसहित एक करोड १० लाख नगद पुरस्कार पायो। रोयल्सले भने ५१ लखमा चित्त बुझायो। यस्तै, प्रतियोगितामा तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा पुगेको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ पुरस्कार पायो।

लायन्सका कप्तान पौडेलले जिते कार र मोटरसाइकल

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीलाई च्याम्पियन बनाउनुका साथै उत्कृष्ट खेल्दै कार र मोटरसाइकल जितेका छन्। लुम्बिनीको सफलतामा रोहितको प्रदर्शन निर्णायक रह्यो। ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै रोहितले कार पाए।

उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे। यो नेपालको तर्फबाट सर्वाधिक रन हो। विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे। रोहितले बलिङतर्फ पनि १० विकेट लिए। उनी उत्कृष्ट ब्याटरसमेत हुँदै प्रतियोगिताको ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै पल्सर बाइक पाए।

यसका साथै प्रतियोगिताभर १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त (विराटनगरका सन्दीप लामिछाने र सुदूरपश्चिमका अविनाश बोहोरा) शीर्ष स्थानमा रहे, तर कम ‘इकोनोमी’ का कारण सन्दीपले सर्वोत्कृष्ट बलर पुरस्कारसहित बाइक पाए। बोहरा ‘रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट’ भए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन भए। उनले पाँच लाख नगद पुरस्कार जिते। लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदा लुम्बिनीकै शेर मल्लले ‘इमर्जिङ’ खेलाडी बन्दै बाइक हात पारे।

गत वर्ष सुदूपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका थिए। मोटरसाइकल जनकपुरका ललित राजवंशीले हात पारेका थिए।

‘ह्याट्रिक’ गर्ने बलरमा रोहित र शाहब

यो सिजनमा दुई बलरले मात्रै ह्याट्रिक गर्न सके। दुवै नेपाली बलर लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेल र काठमाडौँ गोर्खाजका शाहब आलम हुन्।

रोहितले फाइनलमा सुदूरपश्चिमविरुद्ध ‘ह्याट्रिक’सहित तीन विकेट लिएका थिए। यसअघि काठमाडौँ गोर्खाजका आलमले यो सिजनमा पहिलो ‘ह्याट्रिक’ गरेका थिए। पोखरा एभेन्जर्सविरूद्ध ह्याट्रिकसहित ६ विकेट लिँदै उनले ‘रेकर्ड’ राखेका थिए। शाहब एकै खेलमा ६ विकेट लिने पहिलो बलरसमेत बनेका थिए।

यस सिजनमा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए। यस्तै, एकै खेलमा चार विकेट लिने खेलाडीमा भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगरका कप्तान सन्दीप लामिछाने, पोखरा एभेन्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र पोखराका धनन्जय लक्षन रहे।

एनपीएलमा ५०० रन कटाउने एकमात्रै खेलाडी रोहित

एनपीएलको दुई सिजन सम्पन्न हुँदा ५०० रन कटाउने एकमात्रै ब्याटर पनि रोहित पौडेल बनेका छन्। दुवै सिजनमा गरेर १७ खेलबाट उनले ५५५ रन बनाएका छन्। उनले ५०० रन कटाउने पहिलो नेपाली खेलाडीको ‘रेकर्ड’ पनि राखे।

उनलाई सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले ४९९ रन बनाएर पछ्याएका छन्। यसअघि चितवन राइनोजका विदेशी खेलाडी रवि बोपराले ५०० रन पूरा गरेका थिए। उनले १५ खेलमा ५२३ रन बनाएका थिए। यस्तै, सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी १८ खेलमा ३८९ रन बनाएर तेस्रो स्थानमा छन्।

तीन शतकको कीर्तिमान विदेशी खेलाडीका नाममा

दोस्रो सिजनसम्म तीन शतक बनाउने कीर्तिमान बने। दोस्रोमा दुई र गत संस्करणमा एकमात्रै शतक जोडिएको थियो। एनपीएलमा जोडिएका सबै शतक विदेशी खेलाडीका नाममा छन्।

दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन र कर्णाली याक्सका मार्क वाटले मात्रै शतक प्रहार गरे। रोसिङ्टनले कर्णाली याक्सविरुद्धको उक्त खेलमा उनले ५५ बलमा शतक पूरा गरेका हुन्। ५८ बल खेलेका एडम १०८ रनमा अविजित रहे। कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए। एडम इङ्ग्ल्याण्डका हुन्।

यस्तै, कर्णाली याक्समा अनुबन्ध स्कटल्याण्डका मार्क वाट दोस्रो संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी हुन्। उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए। ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे। यो खेल कर्णालीले नौ विकेटले जितेको थियो। जसमा वाट ‘प्लेयर अफ द म्याच’ समेत चुनिए। वाट सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडीसमेत बने।

पहिलो संस्करणको एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ। पोखराको टोलीमा आवद्ध गोउसले लुम्बिनीविरुद्ध शतक जोडे । गोउसले ५४ बलमा शतक पूरा गरेका हुन्। उनी १०४ रनमा अविजित रहे।

अर्धशतकमा पनि विदेशीकै दबदबा

यस सिजनमा ३६ अर्धशतक प्रहार भए । जसमा २९ खेलाडी सामेल छन्। २९ खेलाडीमध्ये नौ नेपाली खेलाडीले मात्रै अर्धशतक हिर्काउन सकेका छन्। सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले दुई, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दुई दुई अर्धशतक जोडेका छन्।

यस्तै, इशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, बसिर अहमद, चितवनका अर्जुन साउँद, काठमाडौंका भीम सार्की,जनकपुरका अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन्।

विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपराले तीन, पोखराका एडम रोसिङटन, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काए।

यसैगरी सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, विराटनगर किङ्सका साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, पोखराका सुमित बर्मा, जिमी निशम, रिसि धवन, चितवनका डेविड मलान, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकतले एक÷एक अर्धशतक जोडे।

छिटो अर्धशतकमा भीमको रेकर्ड

काठमाडौँ गोर्खाजका भीम सार्कीले यो सिजनमा छिटो अर्धशतक हिर्काउने रेकर्ड राखे। सार्कीले पोखरा एभेन्जर्सविरूद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए। उनी कम बलमा अर्धशतक हिर्काउने पहिलो खेलाडी बने।

यसका साथै विराटनगर किंग्सका फाफ डु प्लेसिस र सुदूरपश्चिम रोयल्समा आबद्ध खेलाडी हर्मित सिंहले पनि १९ बलमा अर्धशतक जोडेका थिए। गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ।

सर्वाधिक विकेट लिनेमा नेपाली बलर र रनकर्तामा विदेशी

प्रतियोगिताभर सर्वाधिक विकेट लिने शीर्ष तीन बलरमा सबै नेपाली रहेका छन्। विराटनगरका कप्तान लामिछाने, सुदूरपश्चिमका बोहरा र लुम्बिनी लायन्सका मल्लले समान १७÷१७ विकेट लिएका छन्।

बलिङ इकोनोमीका हिसाबले सन्दीप पहिलो, अभिनाश दोस्रो र शेर तेस्रो नम्बरमा पुगेका हुन्। सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा विदेशी अटाउदना त्यसपछि दोस्रो र तेस्रो नम्बरमा भने नेपाली ब्याटर छन्।

पोखराका एडम रोसिङटन ३२३ रन बनाए र सबैभन्दा बढी रन बनाउनेको पहिलो नम्बरमा छन्। उनले सात खेलबाट एक शतक र दुई अर्धशतकको मद्दतमा ३२३ रन बनाएका हुन् ।

दोस्रो नम्बरमा लुम्बिनीका कप्तान रोहित पौडेल छन्। उनले १० खेलबाट २७६ रन जोड्दै दोस्रो नम्बरमा पुगेका हुन्। तेस्रो नम्बरमा सुदूरपश्चिमका विनोद भण्डारी रहेका छन्। भण्डारी नौ खेलबाट दुई अर्धशतकको मद्दतमा २६४ रन जोड्दै तेस्रो नम्बरमा अटाएका हुन्।

कीर्तिमानी उच्च र खराब स्कोरमा विराटनगर

एनपीएल इतिहासमै उच्च स्कोर बनाउने टोलीमा विराटनगर किंग्स अगाडि छ। उसले जारी सिजनमा पोखराविरुद्ध २२० रन बनाएको थियो। जुन एनपीएल इतिहासकै उच्च स्कोर हो। दोस्रो उच्च बनाउनेमा पोखरा रहेको छ। पोखराले कर्णालीका विरुद्ध २०१ रन जोडेको थियो।

यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा पनि विराटनगर नै रह्यो। सुदूरपश्चिमविरुद्धको पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो। यो स्कोर सबैभन्दा कम रनमा अलआउट हुने रेकर्ड बन्यो।

सबैभन्दा बढी रनअन्तरले जित्ने सुदूरपश्चिम

दोस्रो संस्करणमा सबैभन्दा ठूलो रनअन्तरको जित हासिल गर्ने टोली सुदूरपश्चिम रोयल्स बनेको छ। सुदूरपश्चिम रोयल्सले विरानटनगर किंग्सलाई ७७ रनको फराकिलो अन्तरले हराएको थियो।

दोस्रो ठूलो रनअन्तरको जित विरानगटर किंग्सको नाममा रहेको छ। विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो।

यसैगरी, तेस्रो ठूलो रनअन्तरको जित काठमाडौँको नाममा रह्यो। काठमाडौँले पनि चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो। एनपीएलको पहिलो संस्करणमा भने सबैभन्दा ठूलो रनअन्तरको जित सुदूरपश्चिम रोयल्सले हासिल गरेको थियो। सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनको फराकिलो अन्तरले हराएको थियो।

एनपीएलको दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई नै सबैभन्दा ठूलो रनअन्तरले हराउँदै कीर्तिमान बनायो। दोस्रो संस्करणमा विकेटका आधारमा सबैभन्दा ठूलो अन्तरको जित कर्णाली याक्सको नाममा रह्यो। कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले हरायो।

एनपीएलको पहिलो संस्करणमा भने विकेटका आधारमा ठूलो अन्तरको जित पोखरा एभेन्जर्सको नाममा रहेको थियो। पोखराले लुम्बिनी लायन्सलाई नै १० विकेटले हराएको थियो। पहिलो र दोस्रो दुवै संस्करणमा विकेटका अधारमा सबैभन्दा ठूलो अन्तरको हार ब्यहोर्ने टोली लुम्बिनी बन्यो।

दोस्रो संस्करणमा सबैभन्दा कम रनअन्तरको जित भने कर्णाली याक्सले हासिल गर्‍यो। कर्णालीले लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई केवल तीन रनले हराएको थियो।

प्रतियोगितामा पहिलो विकेटका लागि चितवनका अर्जुन साउँद र डेभिड मलानले जनकपुरविरुद्ध ११२ र दोस्रो विकेटका लागि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखराविरुद्ध १३२ रनको उच्च साझेदारीको रेकर्ड छ।

यस्तै, यस सिजनमा सबैभन्दा बढी क्याच लिने खेलाडीमा विराटनगरका शमूएल डेली हेजलेट र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी रहे। दुबै खेलाडीले ११÷११ क्याच समाते। यसका साथै सुदूरपश्चिमका विकेटविकर विनोद भण्डारी सात क्याच र तीन स्टाम्पिंग गरेर १० जनालाई आउट गराएका छन्।

कर्णालीका मार्क वाटले प्रतियोगिताभर सबैभन्दा बढी २१ छक्का हिर्काए। सबैभन्दा बढीपटक शून्यमा अर्थात डकआउट हुनेमा सुदूरपश्चिमका जोश ब्राउन,लुम्बिनीका सुमित महर्जन,जनकपुरका आसिफ शेख, लुम्बिनीकै सन्दीप जोरा रहेका छन्। यी सबै खेलाडी तीन÷तीन पटक डकआउट भएका खराब रेकर्ड छ।

शेर मल्ल लगातार दोस्रोपटक ट्रफी उचाल्ने खेलाडी बने। गत संस्करणमा जनकपुर खेलेर च्याम्पियन बनेका शेर यसपटक लुम्बिनीबाट खेलेर उपाधि उचाले।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। लुम्बिनी च्याम्पियन बन्दा सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो। विराटनगर तेस्रो र काठमाडौँले चौथो स्थानमा चित्त बुझायो।

गत वर्षको विजेता जनकपुर एक खेल मात्रै जितेर पुछारमा रह्यो। चितवन दुई खेल जितेर सातौँ, समान दुई खेल जितेको कर्णाली याक्स छैटौँ, तीन खेल जितेको पोखरा पाँचौँ स्थानमा पुग्यो।-रासस

प्रकाशित: २९ मंसिर २०८२ २०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast