यी हुन् समानुपातिकमा सिफारिस भएका सेलिब्रेटी

सुस्मिता बजगाईं १५ पुष २०८२ १४:२१ | Tuesday, December 30, 2025
120
SHARES
यी हुन् समानुपातिकमा सिफारिस भएका सेलिब्रेटी

काठमाडौँ-  जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ। सोहीअनुसार निर्वाचनका कार्यक्रमहरू अगाडि बढाइरहेको छ।

यसैक्रममा निर्वाचनमा भाग लिने दलहरूले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्। बन्दसूचीमा कलाकारहरू पनि समेटिएका छन्।

अधिकांश सेलिब्रेटीहरू वैकल्पिक शक्ति भनिएका दलबाट राजनीतिमा अघि बढ्न लागेको देखिन्छ। सो सूचीमा पूर्वमिस नेपालदेखि गायक-गायिका, मोडल, अभिनेता-अभिनेत्री र टिभी कार्यक्रम सञ्चालक-सञ्चालिकासम्म अटाएका छन्।

कोमल वली

नेकपा एमालेले ११० जनाको समानुपातिक सूचीमा कलाकार कोमल वलीलाई राखेको छ। लोकगायिका एवं पूर्व समाचार वाचिका वली एमालेको महिला क्लस्टरतर्फको तेस्रो नम्बरमा छिन्।

वली यसअघि पनि एमालेको राष्ट्रियसभा सदस्य बनेकी थिइन्। कुनै बेला राजावादी दल राप्रपामा आस्था राख्ने वली एमाले भित्रिएसँगै बारम्बार अवसर पाउनेमा पर्छिन्। उनी २०७९ सालमा दाङ ३ मा एमालेबाट चुनाव लडेकी थिइन्। तर जित्न सकिनन्।

डा. त्रिशला गुरुङ

गायिका त्रिशला गुरुङ रास्वपाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेकी छन्। उनी आदिवासी जनजातितर्फ सिफारिसमा परेकी हुन्। उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकतापछि उनको नाम ११० को सूचीमा परेको हो। उनी चिकित्सकसमेत हुन्।

पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेसागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको बताएको छ। गायिका गुरुङले पनि चुनावपछि सुशासन, समावेशी नीति निर्माण र जनउत्तरदायी स्वास्थ्य प्रणालीका लागि संसदमा दृढ रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन्।

रीमा विश्वकर्मा

कार्यक्रम सञ्चालिका, मोडल तथा अभिनेत्री समेत रहेकी रीमा विश्वकर्मा पनि रास्वपाबाट समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी छन्। रास्वपाले उनलाई दलित र महिला क्लस्टरबाट पहिलो स्थानमा राखेको छ। विश्कर्मा केही समयअघि उज्यालो पार्टी नेपालकी केन्द्रीय सदस्य बनेकी थिइन्। उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकतापछि उनको नाम पनि ११० को सूचीमा परेको हो।

आशिफ शाह

रास्वपाबाटै अभिनेता, गायक आशिफ साह पनि समानुपातिकतर्फ उम्मेदवारको सूचीमा समेटिएका छन्। रास्वपाले आशिफलाई मुस्लिम पुरुष क्लस्टरबाट पहिलो स्थानमा राखेको छ। कार्यक्रम सञ्चालकसमेत रहेका आशिफले ‘२ रुपैयाँ’, ‘जन्ते बाख्रो’ लगायत फिल्ममा अभिनय गरेका छन्।

प्रकाश सपुत

गायक, संगीतकार तथा कलाकारसमेत रहेका प्रकाश सपुत पनि अब राजनीतिमा आउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवारको सूचीमा उनको नाम छ। रास्वपाले समानुपातिक बन्दसूचीमा सपुतको नाम दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा राखेको छ।

गायक सपुतको ‘बोल माया’, ‘गलबन्दी’, ‘सकम्बरी’, ‘दमाई महाराज’, ‘फाटेका चुरा’लगायत थुप्रै गीत निकै चर्चित छ। उनले ‘हरिबहादुरको जुत्ता’, ‘परदेशी २’, ‘माइतीघर’, ‘वसन्त’, ‘मिरमिरे’ लगायत फिल्ममा अभिनय गरेका छन्। ‘वसन्त’ उनको डेब्यु निर्देशकीय फिल्म हो भने ‘मिरमिरे’ प्रदर्शनको तयारीमा छ।

सत्यकला राई

गायिका सत्यकला राइलाई पनि रास्वपाले समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ। फिल्म निर्माता नवल खड्काकी पत्नीसमेत रहेकी राईको नाम आदिवासी जनजातिको सूचीमा राखिएको हो। गायिका राई फिल्म ‘काँडेतार’ को निर्मात्रीसमेत हुन्। उनी खोटाङबाट चुनाव लड्ने चर्चा छ।

गायिका राईको ‘तिमी मसँग नबोल्ने अरे’, ‘पूर्वै धरान’, तिमीलाई हङकङ पुरायो’, ‘तिम्रो माया मुटु भरी’लगायत थुप्रै गीत चर्चित छ।

अनुष्का श्रेष्ठ

सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ पनि राजनीतिमा आउने भएकी छन्। आगामी निर्वाचनमा रास्वपाबाट समानुपातिकतर्फ चुनाव लड्नेछिन्। रास्वपाले आदिवासी महिला क्लस्टरबाट सूचीको चौथो स्थानमा श्रेष्ठको नाम राखेको छ।

रुपक विश्वकर्मा घिमिरे

रास्वपाले आदिवासी पुरुष क्लस्टरबाट पहिलो स्थानमा रुपक विश्वकर्मा घिमिरेको नाम राखेको छ। पेसाले उनी चिकित्सक हुन्। साथै विश्वकर्मा मोडल तथा कलाकारसमेत रहेका छन्। उनी सन् २०११ का मिस्टर नेपाल पनि हुन्। फिल्म ‘चकलेट’ मा उनको अभिनय छ।

प्रकाशित: १५ पुष २०८२ १४:२१ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast