अध्यक्षमा ओलीको विकल्प छैन, म महासचिवको दाबेदार हुँ : पृथ्वीसुब्बा गुरुङ [अन्तरवार्ता]

किरण पौडेल २२ मंसिर २०८२ १३:२१
12
SHARES
अध्यक्षमा ओलीको विकल्प छैन, म महासचिवको दाबेदार हुँ : पृथ्वीसुब्बा गुरुङ [अन्तरवार्ता]

नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिरको २७ देखि २९ सम्म काठमाडौँमा हुँदै छ। जेनजी आन्दोलनमा प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष बन्ने दाउमा छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेदवारीको घोषणा गरेपछि ओली सर्वसम्मत नहुने निश्चितजस्तै छ। दुवै नेताले आफूलाई अब्बल ठर्‍याउँदै नेतृत्व लिने दाउ गरेका छन्। एमाले नेतृत्वका लागि दुई नेता टिम बनाएर भिड्न तयार भएका छन्। यसै सन्दर्भमा नेकपा एमालेका उपमहासचिव एवं पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग गरिएको संक्षिप्त कुराकानी :

एमालेको महाधिवेशन आउन लाग्यो। कत्तिको लाग्दै छ महाधिवेशन?
हो, एमालेको महाधिवेशन आउन लाग्यो। पार्टीलाई त महाधिवेशन लाग्ने नै भयो। मलाई पनि लागेकै छ। महाधिवेशन प्रतिनिधि छनोटको काम भयो। बिस्तारै नेतृत्व चयनमा पुगिँदैछ।

नेतृत्वमा तपाईंको आकांक्षा कुन पदमा छ?

मैले त पहिलैदेखि भनेको छु, मेरो महासचिवमा दाबेदारी रहन्छ।

अहिले त एमालेमा दुई समीकरण बनेको छ। ओली फेरि अध्यक्षको दाबेदारी गर्दै हुनुहुन्छ भने अर्कातिर ईश्वर पोखरेल हुनुहुन्छ। तपाईँचाहिँ कुन समूहमा हुनुहुन्छ?

मैले त एकपटक ओलीलाई नै चान्स दिनुपर्छ भन्दै आएको छु। देशलाई नेतृत्व गर्ने नेताको आवश्यक परेको छ। यो संकट ‘हेन्डिल’ गर्न सक्ने नेता भनेकै उहाँ (ओली) हो। राष्ट्र जोगाउन र संकट टार्न ओलीकै नेतृत्व आवश्यक छ भन्नेमा म दृढ छु।

जेनजी आन्दोलनपछि ओली नेतृत्वबाट हट्नुपर्छ भन्ने धारणा एमालेमा छ। तपाईंचाहिँ फेरि ओली नै नेतृत्वमा आउनुपर्छ भन्दै हुनुहुन्छ, किन नि?

जेनजी आन्दोलनपछि ओलीको औचित्य झनै देखिएको छ। जेनजी आन्दोलनमा देशमा बरबरतापूर्ण घटना भए। राजनीतिक अन्योल झन् बढेको छ। यस्तो अवस्थामा ओलीको औचित्य बढेको देखिन्छ।

सरकारमा रहँदारहँदै हेलिकप्टर चढेर भाग्ने नेताले एमाले चलाउन सक्छ त? किन फेरि ओली खोज्दै हुनुहुन्छ?

जेनजी आन्दोलनको सबै अपजस तत्कालीन सरकारको नेतृत्वमाथि लगाइँदै छ। त्यो नै गल्ती हो। जेनजी आन्दोलनमा भएका घटना सरकारमाथि प्रहार थिए। अब राष्ट्रलाई राष्ट्रवादी नेताको खाँचो छ। त्यो भनेको नै ओली हो।

११ वर्ष ओलीले एमाले हाक्ँनुभयो, के चाहिँ गर्नुभयो र फेरि ओली चाहियो?

असल नेताले ११ मात्र होइन २० वर्ष पनि हाँक्न सक्छ नि।

ओलीकै टिममा पनि महासचिवका दाबेदार धेरै नेता छन्। तपाईँलाई ओलीले साथ नदिए के गर्नुहुन्छ?

मैले सुरुबाटै महासचिवको दाबेदारी गरेको हुँ। म टिम बनाएर राजनीति गर्दिनँ। नेतृत्वले महासचिवमा मलाई सक्षम माने म तयार छु। नभए अरू नै केही विकल्प पनि हुन सक्छ। म टिम बनाउँदिन, ओलीले बनाउनुहुन्छ होला टिम।

ओली र पोखरेलबीच कस्तो प्रतिस्पर्धा होला?

प्रतिस्पर्धा नै भन्न सकिन्न। १० औँ महाधिवेशनमा जस्तो मात्र प्रतिस्पर्धा हुँदैन। रावल जस्तो मात्र पोखरेल हो जस्तो लाग्दैन। किनभने रावल विगतमा एक्लै हुनुहुन्थ्यो, अहिले टिम बनिरहेको छ। प्रतिस्पर्धा नै हुन्छ भन्ने लाग्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast