काठमाडौँ- यही मंसिरको २३ गते म्याद सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गर्दै नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी केन्द्रीय समितिको आज सम्पन्न बैठकले कार्यसमितिको म्याद दुई महिना थप गरेको हो।
विसं २०७८ मंसिर २८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको १४औँ महाधिवेशनबाट निर्वाचित सबै तहका पदाधिकारी र सदस्यहरूको अवधि पार्टीको विधानअनुसार मंसिर २३ गतेसम्म कायम रहेको थियो।
देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण १५औँ महाधिवेशन अहिले गर्न सम्भव नभएपछि महाधिवेशनको तयारीकका लागि थप समय आवश्यक पर्ने भएकाले यस्तो अवस्थालाई ‘असाधारण स्थिति’ मानेर पार्टीको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि मंसिर २४ गतेदेखि लागू हुनेगरी आगामी माघ मसान्तसम्मका लागि थपिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार दुई महिना म्याद थप भएसँगै कांग्रेसले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने कार्यतालिकासहित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेसले १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते काठमाडौँमा हुनेगरी यही मंसिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फाराम वितरण गर्ने निर्णय गरेको उनले बताए।
बैठकमा मंसिर २४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फाराम पठाउने निर्णय भएको छ। उनका अनुसार यसरी वितरण भएको क्रियाशील सदस्यता फाराम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले निर्णय गरी उक्त सूची जिल्ला कार्यसमितिलाई आगामी पुस ८ गतेभित्र बुझाउने कार्यतालिका तय गरेको छ।
आगामी पुस ११ गतेभित्र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता दिई फाराम र सूची केन्द्रीय समितिमा पठाउनुपर्नेछ। त्यस्तै, केन्द्रीय कार्यालयले केन्द्रीय सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पुस १४ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउनेछ।
पार्टीको क्रियाशील सदस्यता लिन चाहनेलाई नेपाली कांग्रेसको विधान, २०१७/संशोधनसहितको धारा ४ को उपधारा ९१ र ९३ बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रूपमा सदस्यता प्रदान गर्ने र कुनै पनि पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने निर्णय केन्द्रीय समितिले गरेको मुख्यसचिव पौडेलले जानकारी दिए।
१४औँ महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य संख्याको शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फाराम प्रतिनिधिसभा क्षेत्रलाई केन्द्रले उपलब्ध गराउने तथा वडाको जनसंख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकताअनुसार थप माग भएबमोजिम सदस्यता वितरण गर्नसक्ने गरी सदस्यता फाराम उपलब्ध गराउने निर्णय केन्द्रीय समितिले गरेको छ।
पार्टीले वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस, आर्य, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगताको जनसंख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिकरसमावेशी प्रतिनिधित्वलाई ध्यान दिने, नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाको व्यापक प्रतिनिधित्व हुनेगरी प्राथमिकता दिई वितरण गर्नुपर्ने, समाजमा विभिन्न पेसागत बुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिलाई प्राथमिकता दिनुपर्नेलगायत निर्णय गरेको मुख्यसचिव पौडेलले बताए।



