तस्बिर साभार : बीबीसी
सन् १९७५ मा कोडाक फिल्म उत्पादन गर्ने कम्पनीका एक युवा इन्जिनियरले हातमा समातिने डिजिटल क्यामेरामा पहिलो फोटो खिचेका हुन्। त्यसपछि फोटोग्राफी कहिल्यै पहिलेझैँ रहेन।
स्टिभ सासोनले इस्टम्यान कोडाकमा काम थाल्दा अमेरिकी फोटोग्राफिक फिल्म निर्माता कम्पनी अमेरिकी औद्योगिक कौशलको एक जीवित प्रतीक थियो। सन् १८७० को दशकमा जर्ज इस्टम्यानले स्थापना गरेको यो कम्पनी ‘कोडाक’ ब्रान्डका कारण फिल्म फोटोग्राफीको पर्याय थियो। मानिसहरूले कोडाक फिल्म किन्थे र त्यही फिल्म कोडाक ब्रान्डका क्यामेरामा हाल्थे। फोटो खिच्थे। ती फिल्महरू रसायनहरू प्रयोग गरेर ‘प्रोसेस’ गरिन्थ्यो। यसरी तयार भएका फोटोहरू मानिसहरूले कोडाक फोटोग्राफिक पेपरमै छापिएका रूपमै पाउँथे।
१९औँ शताब्दीको अन्त्यतिर कम्पनीले आकर्षक नारासमेत बनाएको थियो- ‘तपाईँ बटन थिच्नुहोस्, बाँकी सबै काम हामी गर्छौँ।’
सन् १९७३ मा २३ वर्षीय स्टिभ सासोन कोडाकमा पुगे। उनले आफूलाई केही भिन्न अनुभव गरे। न त उनी नयाँ फिल्महरू विकास गर्ने अनुसन्धान रसायनविद् थिए, न कोडाकका फिल्मसँग काम गर्ने क्यामेरा डिजाइन गर्ने मेकानिकल इन्जिनियर। बरु उनी इलेक्ट्रिकल इन्जिनियर थिए। यद्यपि उनलाई फोटोग्राफीको समग्र प्रक्रियामा कतै केही कुरा मेल खाइरहेको जस्तो लागेन।
‘पहिलोपटक कोडाकमा जाँदा फोटोग्राफीका कक्षा लिनुपर्थ्यो,’ ७५ वर्षका सासोनले अमेरिकास्थित आफ्नै निवासबाट बीबीसीसँगको भिडियो कलमा भने, ‘फिल्म डेभलप गर्नुपर्थ्यो। बाहिर गएर फोटो खिच्नुपर्थ्यो, फिल्म अध्ययन गर्नुपर्थ्यो। साँच्चै भन्ने हो भने मलाई यो निकै झन्झटिलो लाग्थ्यो। फोटो खिचेर धेरै बेर कुर्नुपर्थ्यो, रसायनसँग झमेला बेहोर्नुपर्थ्यो।’
उनी ‘स्टार ट्रेक’ (विज्ञान टेलिभिजन शृंखला) हेरेर हुर्किएका थिए। उनलाई राम्रा विचार त स्टार ट्रेकबाटै आएका हुन्। सासोनले भने, ‘मैले सोचेँ, यी सबै कुरा इलेक्ट्रोनिक रूपमा गर्न सकिए त? मलाई लाग्यो- तस्बिरलाई इलेक्ट्रोनिक रूपमा भण्डारण गर्न सकूँ, इलेक्ट्रोनिक रूपमा कैद गर्न सकूँ र फिल्म आवश्यक नपरोस्!’
ल्यान्डसाटजस्ता नासा उपग्रहहरूले भ्याकुम ट्युब प्रविधिमा आधारित एक प्रकारको डिजिटल सेन्सर प्रयोग गरेर अत्यन्तै प्राथमिक डिजिटल तस्बिर लिइरहेका थिए। खगोलविद्हरू पनि ठूला टेलिस्कोपले संकलन गरेको प्रकाशलाई कम्प्युटरमार्फत तस्बिरमा रूपान्तरण गरिरहेका थिए। तर ती उपकरणहरू अत्यन्तै महँगा र गह्रुँगा थिए। ती उपकरण कुनै व्यक्तिले आफ्नो छुट्टीमा तस्बिर खिच्न प्रयोग गर्न सक्ने वस्तु बिलकुलै थिएनन्।
अमेरिकास्थित बेल ल्याब्सका अनुसन्धानकर्ताहरूले सन् १९६९ मा चार्ज कपल्ड डिभाइस (सीसीडी) नामक एक प्रकारको इन्टिग्रेटेड सर्किट विकास गरेका थिए। धातु अक्साइड सेमिकन्डक्टर (एमओएस) मा विद्युत् चार्ज भण्डारण गर्न सकिन्थ्यो। त्यो चार्ज एक एमओएसबाट अर्को एमओएसमा सार्न सकिन्थ्यो। आविष्कारकर्ताहरूले भविष्यमा यसको प्रयोग कुनै इमेजिङ उपकरणको भागका रूपमा हुन सक्ने अनुमान गरेका थिए। यद्यपि त्यो कसरी सम्भव हुन्छ भन्ने कुरा उनीहरूले त्यतिबेला ठ्याक्कै बुझेका थिएनन्।
सीसीडीको विकास छिट्टै भयो। सन् १९७४ सम्ममा अमेरिकी माइक्रोचिप कम्पनी फेयरचाइल्ड सेमिकन्डक्टरले पहिलो व्यावसायिक सीसीडी निर्माण गर्यो। जसको मापन १००x१०० पिक्सेल थियो। नयाँ उपकरणले तस्बिर कैद गर्न सक्ने क्षमता सैद्धान्तिक थियो। कसैले तस्बिर खिचेर देखाउन प्रयासचाहिँ गरेको थिएन।
‘मेरा सुपरीवेक्षक ग्यारेथ ल्लोयडले मेरो ध्यान आकर्षित गर्दासम्म मलाई यसबारे केही थाहा थिएन’, सासोन भन्छन्। सन् १९७४ मा उनी इस्टम्यान कोडाकको एप्लाइड रिसर्च ल्याबोरटरीमा कार्यरत थिए। त्यो कम्पनी शिल्पकारहरूका लागि स्वर्गजस्तो थियो। ‘हामी उत्पादनका विचारहरू बनाउँथ्यौँ, समस्या समाधान गर्थ्यौँ। यो भविष्यका लागि गरिएको अनुसन्धान भने थिएन। एक दिन ग्यारेथ मेरा नजिक आए- मलाई याद छ किनभने कुरा एक मिनेटभन्दा कमको थियो। उनले भने- मसँग तिम्रा लागि दुईवटा अस्थायी काम छन्।’
सासोनलाई दिइएका काममध्ये एउटा थियो- कम्पनीको भिडियो क्यामेराका लागि केही एक्सपोजर कन्ट्रोल मोडेल बनाउनु। अर्को काम? सीसीडी नामक नयाँ प्रकारको इन्टिग्रेटेड सर्किटको अध्ययन गर्नु।
‘मलाई कसरी प्रकाशले बिजुलीलाई असर गर्न सक्छ र नियन्त्रण गर्न सक्छ भन्ने विचारमात्र मन पर्यो,’ सासोन भन्छन्, ‘मैले यसैमा आफ्नो स्नातकोत्तरमा थेसिस पनि लेखेको थिएँ।’ उनले प्रकाशको पल्सद्वारा नियन्त्रण गर्न सकिने सेमिकन्डक्टर प्रयोग गरेर सानो उपकरणसमेत बनाएका थिए।
सासोनलाई विश्वास थियो- फिल्मविहीन क्यामेरा बनाउन आवश्यक प्रविधि पहिल्यै उपलब्ध थियो, अब त्यसलाई सही रूपमा जोड्न बाँकी थियो। ‘मलाई के चाहिएको थियो भने चार्ज प्याटर्न र अप्टिकल प्याटर्न भण्डारण गर्न केही जुल ऊर्जा। मैले सोचेँ, यो त सफा छ। मैले सोचेँ, यो त उत्कृष्ट छ। मैले सोचेँ, यो त आधुनिक छ’, उनले भने।
‘म यस्तो क्यामेरा बनाउने चाहन्थेँ जसमा कुनै चल्ने भाग नहोस्। यो त केवल मेकानिकल इन्जिनियरहरूलाई चिढ्याउने उद्देश्यले मात्र थियो। म आफ्नो जीवन बचाउन पनि कुनै मेकानिकल क्यामेरा बनाउन सक्दिनथेँ। त्यसैले मैले सोचेँ- यी साथीहरू सर्वोत्कृष्ट छन्, म त चल्ने भाग नभएको क्यामेरा बनाउँछु र यसले तिनीहरूलाई निकै चिढ्याउनेछ।’

ग्यारेथले उनलाई यी नयाँ सर्किटमध्ये एउटा किन्न भनेका थिए। उनले भने, ‘अन्ततः मैले दुईवटा किनेँ।’ अनि सासोनले काम थाले। उनले भने, ‘यी उपकरणहरू धेरै-धेरै अचम्म बनाउने खालका थिए। यसमा करिब १२ वटा भिन्नभिन्न भोल्टेज आपूर्ति गर्नुपर्थ्यो। उपकरणमाथि एउटा कागज राखिएको थियो जसमा लेखिएको थियो- यो विशेष उपकरण कारखानाबाट जाँदा कुन १२ भोल्टेजमा काम गर्थ्यो। तल्लापट्टि लेखिएको थियो, शुभकामना । ती भोल्टेजमध्ये कुनै एक सही थिएन भने तपाईँलाई कुनै आउटपुट प्राप्त हुन्नथ्यो र कुन भोल्टेज गलत छ भन्ने पत्ता लगाउन तपाईँमाथि निर्भर हुन्थ्यो।’
सासोनको अनुसन्धानले नयाँ सर्किटमा सम्भावना रहेको देखायो। तर केही कमजोरी पनि थिए। ‘यो त उत्कृष्ट इमेजिङ उपकरण थियो तर भण्डारणका हिसाबले डरलाग्दो पनि थियो। करिब १०० मिलिसेकेन्डसम्म तस्बिर एक्सपोज गरेमा तत्काल बिग्रन्थ्यो’, उनले भने। समस्या के थियो भने यसमा ‘डार्क करेन्ट’ भन्ने थोरै बिजुली प्रवाह हुन्थ्यो, जुन तापीय ऊर्जाबाट उत्पन्न हुन्थ्यो र सर्किटमा बाधा पुर्याउँथ्यो। यो अहिले हामीले ‘नोइज’ भनेर चिन्ने अवरोधको मुख्य स्रोत हो।
सीसीडी सर्किटले प्रकाशप्रति प्रतिक्रिया दिन्थ्यो तर त्यही बेला तस्बिर बनाउन सक्थ्यो। सासोन त्यसमा लेन्स जोड्न सक्षम हुन्थे। त्यसपछि उनी प्रकाशलाई डिजिटल जानकारी -१ र ० को डिग्रीमा रूपान्तरण गर्न सक्थे। समस्या एउटा मात्र थियो- पैसा।
‘मसँग यो उपकरण बनाउन पैसा थिएन। कसैले मलाई बनाउन भनेको थिएन। त्यसैले म यसका लागि कसैसँग पैसा माग्न सक्दिनथेँ’, उनी भन्छन्, ‘मैले सबै पार्टहरू चोरी गरेर प्रयोग गरेँ। म त कोडाकको उपकरण विभागमा थिएँ, जहाँ धेरै पार्ट थिए। मैले पार्ट बिनमा रहेको एक्सएल भिडियो क्यामेराबाट अप्टिकल असेम्ब्ली चोरेँ। म त्यहाँबाट हिँड्दै थिएँ, देखेँ र लिएँ, बुझ्नुहुन्छ?’ उनी अमेरिकी डलर १२ मूल्यको डिजिटल भोल्टमिटरबाट एनालग-टु-डिजिटल कन्भर्टर प्राप्त गर्न सक्षम भए। त्यो पनि सयौँ डलर खर्च नगरीकन।
‘म यी सबै पार्टहरू कसैले देख्न नपाईकन प्राप्त गर्न सक्षम भएँ,’ उनी भन्छन्।
क्यामेराले बिस्तारै आकार लिन थाल्यो। गह्रौँ उपकरणले सीसीडीले संकलन गरेको जानकारी भण्डारण गर्ने उपाय आवश्यक पर्थ्यो, त्यसैले सासोनले अडियो क्यासेट डेक प्रयोग गरे। तर म्याग्नेटिक टेपमा तस्बिर सुरक्षित भएपछि त्यसलाई हेर्ने उपाय पनि आवश्यक थियो।
‘हामीले प्लेब्याक युनिट बनाउनुपर्थ्यो,’ सासोन भन्छन्, ‘फेरि कसैले मलाई त्यसका लागि भनेको पनि थिएन। त्यसैले मैले क्यामेरासँग गरेको कामको उल्टो गर्नुपर्थ्यो। त्यसपछि त्यो डिजिटल प्याटर्नलाई एएनटीएससी टेलिभिजन सिग्नलमा परिणत गर्नुपर्थ्यो।’ एनटीएससी (नेसनल टेलिभिजन सिस्टम कमिटी) अमेरिकी टीभी सेटहरूले प्रयोग गर्ने मानक निकाय थियो।
क्यामेराबाट संकलित १०० लाइनको डिजिटल कोड ४०० लाइनमा परिणत गर्नुपर्थ्यो, जसले टेलिभिजन सिग्नल बनाउँथ्यो। उनले तिनलाई दोहोर्याउने काम गर्दथे। तर कसरी? ‘यसलाई गर्न सक्ने एक मात्र कुरा माइक्रोप्रोसेसर हो। ती भर्खरै बजारमा आइरहेका थिए र मोर्टोरोलाको माइक्रोप्रोसेसर विकास प्रणालीले यति ठूलो मेमोरीलाई सम्बोधन गर्न सक्थ्यो,’ उनी भन्छन्।
नयाँ माइक्रोप्रोसेसरको मूल्य केही हजार डलर थियो। त्यतिबेला यो सानो सम्पत्तिजस्तो थियो। यसै बेला सासोनले एउटा प्रस्ताव तयार पारे। यस क्रममा उनले अनुसन्धान गर्न एक माइक्रोप्रोसेसरको माग गरे। उनलाई अनुमति मिल्यो।
साथी जिम सुएक्लरसँगै सासोनले निकै समय लगाएर भारी उपकरण जोडे। डिसेम्बर १९७५ सम्ममा क्यामेरा र यसको प्लेब्याक युनिट पूरा भयो। क्यामेरामा यस्तो सटर थियो जसले करिब १/२० सेकेन्डमा तस्बिर खिच्थ्यो। सबै कुरा योजनाअनुसार काम गर्थ्यो भने क्यासेट टेप सीसीडीबाट भण्डारण गरिएको जानकारी सर्न सुरु हुँदा घुम्न थाल्थ्यो।
सासोनको नयाँ क्यामेरा सुगठित र आकर्षक थिएन, जसले फोटोग्राफी उद्योग वा क्यामेरा पसलमा सबैको ध्यान तान्न सक्थ्यो। यो ठूलो टोस्टरजस्तो देखिन्थ्यो, हिथ–रोबिन्सन शैलीको उपकरण जस्तो, जसमा एकएक गर्दै समस्या देखा परेपछि जोडिएको थियो। ‘साँचो उपकरणमा सबै कुरा एकपटक बनाइएको थियो। सबै कुरा हातैले गरिएको थियो,’ सासोन भन्छन्।
नयाँ क्यामेरा ३.६ किलो तौलको थियो तर यो पोर्टेबल थियो। सासोनले यसलाई फोल्ड गरेर नजिकैको कार्यालयमा गएर पहिलो तस्बिर खिच्ने प्रयास गरे। त्यो कार्यालयमा अर्की अनुसन्धानकर्ता जोय मार्सल पनि थिइन्।
‘मैले भनेँ- के म तिम्रो फोटो खिच्न सक्छु?’ उनलाई थाहा थियो कि हामी हलको अन्तिममा बसेका केटाहरू हौँ, तपाईँलाई थाहा छ, ती पागलहरू जससँग तपाईँले खासै धेरै कुरा गर्नुहुन्नथ्यो’, सासोन भन्छन्।
उनले भने, ‘मैले उनको टाउको र काँधको तस्बिर खिचेँ। मलाई क्यामेराले काम गरिरहेको थाहा थियो किनभने टेप घुम्न सुरु भयो—तस्बिर १/२० सेकेन्डमा कैद भयो। त्यसलाई टेपमा सुरक्षित गर्न २३ सेकेन्ड लाग्यो।’
‘त्यसैले म खुसी थिएँ। म प्रयोगशालातिर हिँड्दै थिएँ। हामीले त्यसलाई प्लेब्याक युनिटमा राख्यौँ। त्यसलाई प्लेब्याक गर्न करिब २३ सेकेन्ड लाग्यो अनि टेलिभिजन सिग्नलजस्तो देखिने गरी पुनः संरचना गर्न करिब आठ सेकेन्ड लाग्यो। त्यसलाई मैले अर्को प्रयोगशालाबाट चोरी गरेको टीभी सेटमा पठाएँ’, उनले भने।
सासोनले पहिलो फिल्मविहीन क्यामेरामा खिचेको तस्बिर बिस्तारै बिस्तारै प्रकट हुन थाल्यो। ‘हामी धेरै खुसी थियौँ किनभने हामीलाई थाहा थियो कि हामीले केही पनि नदेख्ने १,००० कारणहरू हुन सक्छन्’, सासोन भन्छन्, ‘तस्बिर व्यवस्थित थियो, कपाल सही ठाउँमा थियो, हामीले यो देख्न सक्नु नै अद्भुत थियो। हामी त बस अत्यन्तै खुसी भयौँ।’
‘जोय मेरो पछाडि आइन् किनभने उनी जिज्ञासु थिइन्। उनी हलमा उभिइरहेकी थिइन्। हामी फर्क्यौँ। जोयले भनिन्- काम गर्नुपर्नेछ’, उनले स्मरण गरे।
मेसिन पर्याप्त अँध्यारो वा पर्याप्त उज्यालो नभएका वस्तुहरू सही रूपमा देखाउन नसकिने गरी तयार पारिएको थियो। त्यसैले हल्का पृष्ठभूमि र मार्सलको कपाल त देखिन्थ्यो, तर उनको अनुहार देखिँदैनथ्यो। केही तार उल्ट्याएर सासोन र सुएक्लरले अचानक तस्बिर देख्न सफल भए।
हाते डिजिटल क्यामेराद्वारा खिचिएको पहिलो तस्बिर! पिक्सेलको सानो संख्याका कारण यसको रिजोल्युसन कम थियो। फोटोग्राफीको संसार १/२० सेकेन्ड र २३ सेकेन्डको डाटा ट्रान्सफरमा रूपान्तरण भइसकेको थियो।
सासोनले अतिरिक्त पार्ट र सानो खर्चबाट किनिएको हार्डवेयर प्रयोग गरेर बनाएको क्यामेराले उनको करियरको दिशा एक रातमै परिवर्तन गरिदियो।
‘म काम भयो भनेर खुसी थिएँ। जबसम्म मैले यसलाई कोडाक व्यवस्थापनका विभिन्न तहमा देखाउन सुरु गरिनँ तबसम्म म यसका सम्भावित प्रभावबारे सोच्न सुरु गरेँ’, उनी भन्छन्, ‘मैले सोचेँ- हे भगवान्! यदि तपाईं फोटो खिच्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ। फिल्म र कागज चाहिन्न। केही जुल ऊर्जा मात्र भए पुग्छ। यो त साँच्चिकै उत्कृष्ट हो, हैन?’
सासोनलाई तत्काल उनका प्रबन्धकले त्यो विशाल कम्पनीका अन्य विभागमा क्यामेरा प्रदर्शन गर्न आग्रह गरे। ‘ग्यारेथले मलाई आमन्त्रित गर्ने मानिसको सूची दिन्थे। म त कनिष्ठ इन्जिनियर थिएँ। म व्यवस्थापकलाई निम्तो दिइरहेको थिएँ। व्यवस्थापकहरूले मेरो काम देखेपछि अन्य व्यवस्थापकहरूलाई निम्तो दिए। यसरी मैले धेरै महत्त्वपूर्ण व्यक्तिहरूलाई भेला गराएँ’, उनले भने।
‘मैले हरेक पटक एउटै काम गरेँ। दायाँतिर बसेका जोकोहीको पनि टाउको र काँधको तस्बिर खिचिदिन्थेँ। अनि टेप चल्न थाल्थ्यो– मलाई अलि सन्तोष हुन्थ्यो किनभने यसले काम गरिरहेको थियो। मैले मानिसहरूलाई यो के हो भनेर बुझाउँथेँ। टेप रोकिएपछि म बायाँतिर बसेका पहिलो व्यक्तिको तस्बिर खिचिदिन्थेँ। टेप फेरि चल्न थाल्थ्यो। यसअघि हामीले प्लेब्याक युनिट र मोनिटर एउटा कार्टमा ल्याएर कोठाको पछाडि राखेका थियौँ। जिम त्यहाँ जान्थे। म टेप निकाल्थेँ र उनलाई दिन्थेँ अनि उनले त्यसलाई त्यसमा हाल्थे। उनी बोलिरहेका हुन्थे र अचानक तस्बिर देखा पर्थ्यो’, उनले भने।
फिल्म बेच्ने, त्यसलाई डेभलप गर्ने र त्यसमा फोटो खिच्ने क्यामेरा बेच्ने व्यवसायमा डुबेका इस्टम्यान कोडाकका प्रबन्धकहरूले अचानक टेलिभिजनमार्फत देखाइँदै गरेको क्रान्ति देखे। सासोनलाई चाहिँ अनेक प्रश्नहरूले घेर्यो। उपभोक्ताले प्रयोग गर्न सक्ने क्यामेरा बन्न कति समय लाग्नेछ? यसले रंगीन तस्बिर खिच्न सक्छ? गुणस्तर कति राम्रो हुन सक्छ? यी प्रश्नमा इलेक्ट्रिकल इन्जिनियरले पहिले कुनै विचार गरेका थिएनन्। ‘उनीहरूले मलाई सोधे- तिमीले यस्तो सानो एनालग-टु-डिजिटल परिवर्तन कसरी गर्न सक्यौ? किनभने म एक वर्षभन्दा बढी समयदेखि यही प्रश्नमा जुधिरहेको थिएँ’, उनले भने।
‘उनीहरूले मलाई ‘कसरी’ सम्बन्धी कुनै प्रश्न सोधेनन्। उनीहरूले मलाई ‘किन’ सोधे? ‘किन कसैले यसरी आफ्नो तस्बिर खिच्न चाहन्छ?’ ‘फोटोग्राफीमा के बिग्रिएको छ?’ ‘प्रिन्टहरू हुनुमा के समस्या छ?’ ‘इलेक्ट्रोनिक फोटो एल्बम कस्तो देखिनेछ?’ हरेक बैठकपछि ग्यारेथ म जीवित छु कि छैन भनी जाँच गर्न आउँथे’, उनले भने।
सासोनले आफूलाई क्रिस्टल बलबाट हेरेझैँ भविष्यवाणी गर्न खोज्दै गरेको पाए। पहिलो क्यामेरा सिर्जना भएपछि इस्टम्यान कोडाकको उपभोक्ता विभागहरूसँगको आफ्नो प्रारम्भिक भेटघाटमा उनलाई यो प्रविधि कहिले सामान्य हुन्छ भनेर सोधिन्थ्यो।

‘यो पूर्ण रूपमा डिजिटल उपकरण थियो, एक छेउदेखि अर्को छेउसम्म। त्यतिबेला कुनै पनि डिजिटल उपभोक्ता उत्पादनहरू थिएनन्। एचपी३५ क्यालकुलेटर बजारमा आएको थियो। मैले भनेँ- यसलाई लेन्स भएको क्यालकुलेटरका रूपमा सोच्नुहोस्। यसले गणना गरिरहेको छ। यसले संख्याहरू भण्डारण गरिरहेको छ। तपाईँले भण्डारण गर्ने संख्याहरूभन्दा धेरै संख्याहरू’, उनले भने।
सासोनलाई इस्टम्यान कोडाकको उपभोक्ता उत्पादन विभागका एक व्यक्तिसँगको भेटघाट याद आउँछ। उनले क्यालकुलेटरको उदाहरण दिएर क्यालिफोर्नियाको एउटा नयाँ कम्पनी एप्पलले बेच्न सुरु गरेको आफैँ बनाउन मिल्ने कम्प्युटर बोर्ड किटको उल्लेख गरेका थिए। उनले भने, ‘तपाईंले भर्खरै हामीलाई बताउनुभएको त्यो क्यालकुलेटरको कति पर्छ? मैले भनेँ- लगभग ४०० डलर।’
एउटा प्रश्न भने सधैँ दोहोरिरहेको सासोन बताउँछन्। त्यो थियो- यो प्रविधि कहिले व्यवहारमा आउनेछ? उनले भने, ‘मैले अनुसन्धान प्रयोगशालामा फोन गरेर सोधेँ, ११० फिल्मको बराबर गुणस्तरका लागि मलाई कति पिक्सेल चाहिन्छ?’ जुन त अबभन्दा खराब फिल्म फर्म्याट जस्तो थियो।’ प्रयोगशालाले तस्बिर रंगीन हुने हो भने एक मिलियन वा दुई मिलियन पिक्सेल आवश्यक पर्थ्यो।
‘मसँग कालो र सेतो गरी १० हजार पिक्सेल छन्,’ सासोन भन्छन्। उनी मुरको नियमतर्फ फर्किए। प्रविधि परिपक्व हुँदै जाँदा एक एकीकृत सर्किटमा ट्रान्जिस्टरहरूको संख्या हरेक दुई वर्षमा दोब्बर हुन्छ भन्ने मुरको नियम छ। ‘मुरको नियममा कसैले प्रश्न उठाउँदैनथ्यो। यो पूर्ण रूपमा डिजिटल थियो। सीसीडी प्रविधिले मुरको नियमलाई पछ्याउँछ कि पछ्याउँदैन भन्ने मलाई कुनै जानकारी थिएन। म हतास थिएँ, एउटा गणना गरेँ र भनेँ- १५ देखि २० वर्ष लाग्छ’। कोडाकको पहिलो उपभोक्ता डिजिटल क्यामेरा, डीसी ४० सन् १९९५ मा बजारमा आयो, सासोनको भविष्यवाणीको १८ वर्षपछि।
‘पूरै भाग्यले गर्दा’, सासोन भन्छन्, ‘त्यो भविष्यवाणीको श्रेय म लिन्नँ। म त एउटा संख्या मात्रै बताउन हतास थिएँ। उनीहरूले यसलाई चुनौती दिन चाहेमा म भन्न सक्थेँ- यो मुरको नियम हो। तपाईँ गएर मुरको नियमसँग बहस गर्नुहोस्।’
सन् १९७८ मा कोडाकलाई डिजिटल क्यामेराको पहिलो पेटेन्ट प्रदान गरियो। यो सासोनको पहिलो आविष्कार थियो। पेटेन्टले इस्टम्यान कोडाकलाई अर्बौँ कमाउन सहयोग गरेको थियो।
पहिलो उपभोक्ता डिजिटल क्यामेरातर्फको बाटो इस्टम्यान कोडाकभित्रका अन्य व्यक्तिहरूले बनाएका थिए, जसमा ब्राइस बेयर पनि थिए। उनी बेयर एरेका आविष्कारक हुन्। बेयर एरे भनेको डिजिटल सेन्सरहरूमा रातो-नीलो-हरियो फिल्टरहरूलाई तह-तह पार्ने एउटा तरिका हो। यसले डिजिटल रंगीन फोटोग्राफीलाई रूपान्तरण गर्यो।
सासोनले २००९ मा इस्टम्यान कोडाकबाट सेवानिवृत्त हुनेसम्म आफूले सिर्जना गरेको डिजिटल प्रविधिबाहेक अरू कुनै काम गरेनन्।
सासोनको आविष्कारलाई आवश्यक परेको त्यो झिल्को व्यक्तिगत कम्प्युटिङको वृद्धि र त्यसको पछि लागेर आएको इन्टरनेट क्रान्तिका रूपमा देखा पर्यो। डिजिटल फोटोग्राफीले फिल्मको मुख्य धारा बन्न लगभग एक दशक लाग्यो।
सासोनको मूल क्यामेरा रोचेस्टरको जर्ज इस्टम्यान संग्रहालयमा राखिएको छ। यसका सर्जकलाई सन् २००९ मा अमेरिकाको नेसनल मेडल अफ टेक्नोलोजी एन्ड इनोभेसन प्रदान गरिएको थियो। त्यो वैज्ञानिकहरूका लागि अमरिकाको सबैभन्दा ठूलो पुरस्कार हो। सासोनले वास्तविकतामा ल्याउन मद्दत गरेको प्रविधि कुनै पनि स्टार ट्रेक मन पराउने इलेक्ट्रिकल इन्जिनियरको सपनाभन्दा धेरै अगाडि विकसित भइसकेको छ। हामीले खल्तीमा बोक्ने फोनहरू फोटोग्राफिक फिल्ममा कैद गर्न लगभग असम्भव हुने तस्बिरहरू खिच्न सक्षम छन्।
सासोनका लागि डिजिटल क्यामेरा आविष्कारको अनुभव सन् १९९८ मा यल्लोस्टोन राष्ट्रिय निकुञ्जमा आफ्नी पत्नी सिन्डी र बच्चाहरूका साथ छुट्टीमा जाँदा भएको थियो। त्यतिबेला उनीहरू ओल्ड फेथफुल गिजर नजिकै बसिरहेका थिए, त्यो विस्फोट हुने क्षणको प्रतीक्षामा।
‘मैले मानिसहरूले त्यसको तस्बिर खिच्न तयारी गरिरहेको देखेँ। उनीहरूले आफ्ना क्यामेराहरू तयार पारे। तिनीहरूसँग फिल्म क्यामेरा, भिडियो क्यामेरा, डिजिटल क्यामेरा थिए। मलाई सिन्डीले भनेको याद छ, ‘यो के भइरहेको छ?’ मैले उनलाई धेरै वर्ष पहिले पहिलो प्रोटोटाइप क्यामेरा कसरी बनाएँ र यो कसरी विकसित हुन सक्छ भनेर व्याख्या गर्नुपर्यो। अनि मेरो सपना के थियो भनेर बताएँ।’
डिजिटल क्यामेरा बनाउँदा सासोन अविवाहित थिए। उनले भने, ‘अहिले म यलोस्ट्रोनमा मेरी पत्नी र मेरा बच्चाहरूसँग छुट्टी मनाइरहेको छु। अनि एक्कासि लाग्छ- यही हो मैले कल्पना गरेको।’
बीबीसी इनोभेसनमा प्रकाशित यो सामग्री अंग्रेजीबाट अनुवाद गरिएको हो।



