काठमाडौँ- देउकी प्रथामा आधारित ‘छोरीका मुण्डामा फोली (पार्वती)’ मञ्चन हुने भएको छ। नाटक सातदोबाटोस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल तथा कलेजको प्रस्तुतिमा मञ्चन हुन लागेको हो।
नाटक सुदूरपश्चिम क्षेत्रमा प्रचलित प्रथासँग सम्बन्धित छ। त्याहाँका मानिसहरूको आफ्नो भाकल पूरा भएपछि कन्यालाई देउकी रूपमा मन्दिरमा चढाउने चलन रहेको थियो। यही कथाको बारेमा विद्यार्थीले पढ्नुपर्ने भएकोले नाटकबाट बुझाउने प्रयास गर्न लागेको लेखक तथा निर्देशक पुष्पराज अवस्थीले बताए।
‘विद्यार्थीले सामाजिक विषयमा देउकी प्रथा बारेमा पढ्नुपर्छ। अभिनय गर्न रुचाउने बालबालिकालाई रंगमञ्चिय ज्ञान अभिवृद्धिका लागि नाटक निर्माण गरेका हाैँ,’ उनले भने। साथै, काठमाडौँमा रहेका विद्यार्थी तथा दर्शकलाई सुदूरपश्चिमको संस्कार र संस्कृतिबारे ज्ञान प्रदान गर्ने त्याहाँको भाषा, वेषभूषा, रहनसहन प्रवर्द्धन गर्ने उद्देश्यले पनि नाटक मञ्चनलाई जोड दिएको उनको भनाइ छ।
‘नाटक मञ्चनबाट हामीले सुदूरपश्चिमको भाषा, वेषभूषा, संस्कार, संस्कृति र जीवनशैलीलाई उपत्यकाका दर्शकले बुझ्न सक्नुहुनेछ भन्ने अपेक्षा छ,’ उनले भने।
उनका अनुसार नाटकमा ब्राइट फ्युचर स्कुलका नाटक विषय पढ्ने विद्यार्थीले अभिनय गरेका छन्। संवाद पनि सुदूरपश्चिमकै लवज, बोलीचाली र संस्कारमा ढालिएको छ।
नाटकमा रुबिन सुनार सह- निर्देशकका रूपमा जोडिएका छन्। नाटक रातोपुलस्थित ओजस थिएटर (शैली) मा यही मंसिर २१ देखि २५ गतेसम्म मञ्चन गरिनेछ। नाटक बिहान ७ः ३० बजे, ११ः०० बजे र दिउँसो २ः०० बजे गरी तीनवटा एक दिनमा सो मञ्चन हुने आयोजकले जनाएको छ।
निर्देशक अवस्थी लामो समयदेखि विद्यालयमा नाटक विषय पढाइरहेका छन्।



