ओलीको सूचीमा पुरानैको वर्चस्व, पोखरेलले उतारे नयाँ अनुहार

किरण पौडेल २९ मंसिर २०८२ १३:२२
144
SHARES
ओलीको सूचीमा पुरानैको वर्चस्व, पोखरेलले उतारे नयाँ अनुहार

काठमाडौँ- नेकपा एमालेको नयाँ नेतृत्वका लागि उम्मेदवार दर्ता सुरु भएको छ। ११ औँ महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा  उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। उनका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबार अपराह्न उम्मेदवारी दर्ता सुरु भएको छ।

यसपटक एमाले नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा उत्रँदै छन्।

ओली समूहबाट पुराना अनुहार दोहोरिने संकेत देखिएको छ। प्रमुख पदहरूमध्ये  ओली तेस्रोपटक अध्यक्ष बन्ने आकांक्षामा छन्। उनी २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशन र २०७८ सालमा सम्पन्न दसौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदै छन्।

यसैगरी दसौँ महाधिवेशनमा सर्वसम्मत महासचिव बनेका शंकर पोखरल फेरि महासचिव बन्ने प्रयासमा छन्। उनको प्रतिस्पर्धा सुरेन्द्र पाण्डेसँग हुनेछ। शंकर ओली समूहका हुन् भने पाण्डे ईश्वर समूहका हुन्।

यसपटक ओली समूहले  पदाधिकारीमा अधिकांश पुरानै अनुहार दोहोरिने भएका छन्।  ईश्वर पोखरेलले पनि आफ्नो समूहको सूची बनाइसकेका छन्।

ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ। ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखेको छ। ज्ञवालीले भने महासचिव लड्न चाहेका छन्।  थापा र बराल पुरानै अनुहार हुन्। महासचिवमा ओलीले पोखरेललाई नै दोहोर्‍याउन चाहेका छन्।

उपमहासचिवका प्रत्यासी पनि पुरानै छन्। विष्णु रिमालले उपमहासचिव दोहोर्‍याउने भएका छन्। उनी ‌ओलीका निकट सहयोगी मानिन्छन्। ओली निकट मानिने भानुभक्त ढकाल ‍उपमहासचिवको सूचीमा छन्। उनी यसअघि स्थायी कमिटी सदस्य थिए। मधेशबाट प्रतिनिधित्व गर्ने रघुवीर महासेठ एक तह बढुवा भएर उपमहासचिवमा परेका छन्।

सचिवमा पनि केही अनुहार पुरानै दोहोर्‍याउने ओलीको तयारी छ। यसअघि सचिव भएका छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्याल फेरि सचिवकै सूचीमा छन्। भट्टले उपमहासचिवमा लड्ने तयारी गरेका थिए। ओलीले सचिवमै राख्दा अहिले असन्तुष्ट छन्। शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी र यामलाल कँडेलको नाम सचिवको सूचीमा छ।

ओलीले प्रदेशगत रूपमा सचिवको नाम राखेका छन्। शेरधन र हिक्मत कोशी प्रदेशबाट पर्दा राजन र महेश बागमतीबाट सूचीमा परेका छन्। यामलालले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दा ज्वाला मधेशबाट प्रतिनिधित्व गर्दै छन्। खगराज गण्डकीबाट लेखराज सुदूरपश्चिमबाट समेटिएका छन्।

ईश्वरको सूचीमा नयाँ अनुहार

एमाले अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलको सूचीमा अधिकांश नयाँ अनुहार छन्। अध्यक्षमा पनि ईश्वर पहिलो पटक उम्मेदवारी दिँदै छन्।  ईश्वर समूहको उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल छन्। एक उपाध्यक्षको नाम सर्वाजनिक हुन बाँकी छ। महासचिवमा यसअघिका उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा छन्।

ईश्वर समूहबाट उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरीको नाम तय भएको छ। योगेश यसअघिका दुई कार्यकालका सचिव हुन् भने यसपटक उपमहासचिवमा फड्को मार्न लागेका हुन्। चौधरी आठौँ महाधिवेशनदेखिका केन्द्रीय सदस्य हुन्। ईश्वर पक्षको सचिवमा रचना खड्का, विनोद चौधरी, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल, गोकुल बास्कोटा, हिरा केसी, रचना खड्का नयाँ अनुहार हुन्।

प्रकाशित: २९ मंसिर २०८२ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast