४४ औँ वर्षमा पिपल्स क्याम्पस

‘जनशक्ति उत्पादन र रोजगारीको सन्तुलन मिलाउन चुक्यो सरकार’

हिमाल प्रेस १० पुष २०८२ १३:५३ | Thursday, December 25, 2025
140
SHARES
‘जनशक्ति उत्पादन र रोजगारीको सन्तुलन मिलाउन चुक्यो सरकार’ पिपल्स क्याम्पसको ४४ औँ वार्षिकोत्सव समारोहमा सम्मानित प्राध्यापक, कर्मचारी र विद्यार्थी।

काठमाडौँ– नेपालका विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरे पनि तिनले राम्रो काम पाउन नसक्दा शैक्षिक संस्थामाथि बेरोजगारी उत्पादन गर्ने गरेको आरोप लागिरहेको सरोकारवालहरूले बताएका छन्।

पिपल्स क्याम्पसको ४४ औँ वार्षिकोत्सव समारोहका विज्ञ वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. महानन्द चालिसेले आफूहरूले पाँच हजार विद्यार्थीमा गरेको सर्वेक्षणमा सहभागी ९० प्रतिशत विद्यार्थीले आर्थिक लाभका कारण बिदेसिन चाहेको पाइएको बताए।

उनका अनुसार सर्वेक्षणमा १० प्रतिशत विद्यार्थीले मात्र गुणस्तरीय शिक्षाका लागि बिदेसिन चाहेको बताएका थिए। ‘जनशक्ति उत्पादन गर्ने काम विश्वविद्यालयको हो,’ डा. चालिसेले भने, ‘तिनलाई रोजगार, स्वरोजगार बनाउने काम सरकारको हो। हालसम्म कुनै पनि सरकारले यति संख्याको युवालाई रोजगार दिन्छु भन्ने कार्यक्रम ल्याएको छैन।’

जनशक्ति र रोजगारीको सन्तुलन मिलाउन सरकार र शैक्षिक निकायले गर्नुपर्ने तालमेल नगर्दा देशमा समस्या भएको उनले बताए। ‘हाम्रो नर्सिङ, डाक्टर, इन्जिनियरिङ, होटेल म्यानेजमेन्टका जनशक्ति विश्वभरी राम्रो नाम र दाम कमाइरहेका छन् तर देशभित्रै भने राम्रो अवसर दिन सकिरहेका छैनाँ। यसको दोष विश्वविद्यालयलाई मात्रै छैन,’ डा चालिसेले भने, ‘अब सरकार-विश्वविद्यालय-निजी क्षेत्र/प्रतिष्ठानले सहकार्य गरेर यो समस्याको समाधान निकाल्नुपर्ने हो कि त्यतातर्फ पनि सोच्नुपर्ने बेला भएको छ।’

नेपालीको आर्थिक हैसियत बढेका कारण पनि विदेशिने क्रम चुलिएको बताउँदै पिपुल्स क्याम्पसका प्रमुख मनोजबहादुर कुँवरले विद्यार्थी बिदेसिनुमा देशको आर्थिक-सामाजिक कारणले मुख्य भूमिका खेलेको बताए। उनले सामुदायिक शैक्षिक संस्थाहरू दोहोरो मापदण्डको मारमा परिरहेको बताउँदै विपन्न वर्गको शैक्षिक उन्नयनमा भूमिका खेल्ने सामुदायिक क्याम्पसलाई हेर्ने छुट्टै दृष्टिकोण आवश्यक रहेको बता ।

क्याम्पसमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रमहरुमा चारवर्षे बीबीएस तथा सेमेस्टर प्रणालीअन्तर्गत चारवर्षे बीबीए, बीबीएम र सेमेस्टर प्रणालीअन्तर्गत दुईवर्षे एमबीएसका कक्षाहरु सञ्चालनमा छन्। यसैगरी बीएस्सी सीआईटी, बीआईटी, बीसीए, बीआईएमका कार्यक्रम सुरु गर्ने तयारी रहेको क्याम्पस प्रमुख कुँवरले जानकारी दिए। साथै कानुन संकायअन्तर्गतको बीएएलएलबीको कार्यक्रम सुरु गर्ने तयारी पनि रहेको बताए।

‘कार्यक्रम सुरु गर्नका लागि त्रिभुवन विश्वविद्यालयमा गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरिसकेका छौं,’ कुँवरले भने, ‘हामी मुनाफा वितरण नगर्ने सामुदायिक संस्था भएकाले न्यूनतम शुल्कमा गुणस्तरीय शैक्षिक गुणस्तर कायम गर्दै नयाँ शैक्षिक धारमा पनि अब्बल बन्नुपर्ने चुनौती पनि हामीलाई छ।’

वार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

पुरस्कृत हुने उत्कृष्ट विद्यार्थीमा कक्षा १२ तर्फ अनिस नेपाली, दीपिका श्रेष्ठ; बीबीएसतर्फ सुदीप बसेल; बीबीएतर्फ कुसुर राई, मेरिना कायस्थ; बीबीएममा करिना श्रेष्ठ; ऋतु केसी; एमबीएसतर्फ अनुष्मा श्रेष्ठ छन्। समारोहमा लामो समय काम गरेका प्राध्यापक तथा कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेमा सहायक क्याम्पस प्रमुख रोजेश पण्डित, प्रह्लाद बैदार र प्रदीपमान तुलाधर छन्।

प्रकाशित: १० पुष २०८२ १३:५३ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast