काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा वैकल्पिक राजनीतिक शक्तिहरू उदाउँदै गएको समयमा दुई फरक धारको निर्माण हुनु लोकतन्त्रका लागि सुखद् संकेत भएको टिप्पणी गरेका छन्।
मंसिर ७ गते चार राजनीतिक घटकहरूको एकताबाट प्रलोपा गठन र मंसिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको प्रसंग जोड्दै उनले आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
भट्टराईका अनुसार प्रलोपा मध्य–वाम (लेफ्ट अफ सेण्टर) धारमा उभिएको छ भने रास्वपा मध्य–दक्षिण (राइट अफ सेण्टर) मा आधारित देखिन्छ। ‘जुनसुकै देशमा वाम र दक्षिण धार रहेकै हुन्छन्। कहिले ‘अति’ तिर, कहिले ‘मध्य’ तिर ढल्किए पनि उनीहरूको प्रतिस्पर्धा र सहकार्यबाट नै लोकतान्त्रिक प्रणाली स्वस्थ रूपमा चल्छ,’ भट्टराईले भने।
जेनजी विद्रोहपछि परम्परागत दलप्रति जनतामा असन्तुष्टि बढिरहेको उल्लेख गर्दै उनले कांग्रेस र कम्युनिस्ट दलप्रति व्यापक वितृष्णाले नयाँ विकल्पहरूको उदयलाई सहज बनाएको बताए।
‘रास्वपा र प्रलोपा क्रमशः नयाँ र वैकल्पिक शक्तिका रूपमा उदाउँदै जानुले देशको राजनीतिलाई सकारात्मक दिशातिर लैजान सक्छ,’ उनले भने।
भट्टराईले सचेत नागरिक तथा पछिल्लो आन्दोलनका अगुवा युवा पुस्तालाई समसामयिक राजनीतिक रूपान्तरणप्रति ध्यान दिन पनि आग्रह गरेका छन्।
भट्टराईले सामाजिक सञ्जालमा व्यक गरेको धारणा
यही मंसीर ७ गते चार राजनीतिक घटकहरूको एकताद्वारा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को गठन र मंसीर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीको एकता पश्चात देशमा दुई फरक धारका नयाँ तथा वैकल्पिक शक्तिहरूको निर्माण हुनु नेपालको लोकतन्त्रको भविष्यनिम्ति निकै सुखद र दूरगामी महत्वका परिघटना हुन्।
आफ्नो घोषित प्रतिबद्धता अनुसार प्रलोपाको वैचारिक-राजनीतिक धार मध्य-वाम ( लेफ्ट-अफ-सेन्टर ) देखापर्छ भने रास्वपाको धार मध्य-दक्षिण ( राइट-अफ-सेन्टर ) देखिन्छ।
जुनसुकै देशको राजनीतिमा पनि रूप-रंगमा केही फरक भए पनि वाम र दक्षिण धार र प्रवृत्ति निरन्तर रहेकै हुन्छन्। ती सम्बन्धित देशको अर्थ-राजनीतिको विकासको स्तर र सामाजिक-सांस्कृतिक बनोटको अवस्था अनुसार कहिले ‘अति’ तिर ढल्कन्छन् भने कहिले ‘मध्य’ तिर ढल्कन्छन्। वाम र दक्षिण दुई धार वा प्रवृत्ति वीचको प्रतिष्पर्धा र सहकार्यबाट नै लोकतान्त्रिक राज्य-प्रणाली स्वस्थ ढंगले परिचालित हुनसक्छ।
नेपालमा केही समय यता र विशेषतः जेन-जी विद्रोह पछि परम्परागत रूपमा दक्षिण धारमा रहेको कांग्रेस र वाम धारमा रहेका कम्युनिष्टहरूप्रति आम जनतामा ब्यापक वितृष्णा र आक्रोश बढ्दै गएको स्थितिमा नयाँ र वैकल्पिक शक्तिको रूपमा क्रमशः रास्वपा र प्रलोपाको उदयले देशको राजनीतिलाई सकरात्मक दिशातिर लैजान महत्वपूर्ण योगदान गर्नसक्छ।
सबै सचेत नागरिकहरू र विशेषतः पछिल्लो क्रान्तिकारी आन्दोलनका अगुवा जेन-जी पुस्ताको ध्यान पुगोस्!