काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।
खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो चार बजे सुरु हुनेछ। लिग चरणमा शानदार प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ। आजको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता लुम्बिनी लायन्स र काठमान्डु गुर्खाज मध्य एक टोलीसँग खेल्नुपर्नेछ।
उत्कृष्ट सुरुवातका बाबजुद बीचमा लय छोडे पनि अन्तिम खेलमा सम्हालिएको विराटनगर अर्को बलियो दाबेदार हो।
राष्ट्रिय टोलीका दुई महत्वपूर्ण खेलाडी दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरबीचको खेललाई जारी संस्करणको हाईभोल्टेज खेलका रूपमा समेत हेरिएको छ। तीन दिनअघि मात्रै भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो।
गत संस्करण जस्तै यसपटक पनि सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा रहेर प्लेअफ खेल्दैछ। सुरुवाती ६ खेलसम्म अपराजित सुदूरपश्चिम लिग चरणको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भयो। जारी प्रतियोगितामा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको सुदूरपश्चिमले अन्तिम खेल बाहेक बाँकी ६ वटामा प्रभावशाली प्रदर्शन गर्यो।
विनोद भण्डारी र क्रिस लिनले सुरुवातीक्रम सम्हाल्दा दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे आरिफ शेख र हर्मित सिंहले तल्लोक्रमसम्म टोलीको ब्याटिङ मजबुत बनाए। दीपेन्द्र, स्कट कुगेलिइन र हर्मितको अलराउण्ड प्रदर्शन सुदूरपश्चिमको बलियो पक्ष रहेको छ। प्लेअफमा क्रिस लिन र जोश ब्राउन हुने छैनन्। उनीहरुको स्थानमा अमेरिकी ब्याटर मुख्तार अहमद र भारतीय ब्याटर शेल्डन ज्याकसन खेल्नेछन्।
विदेशी खेलाडीले मात्र होइन सुदूरपश्चिममा घरेलु खेलाडीको प्रदर्शन पनि लयमा देखिएको छ। सर्वाधिक रन बनाउने र विकेट लिनेमा खेलाडीको शीर्ष ५ मा सुदूरपश्चिमका खेलाडी छन्।
पहिलो संस्करण खराब प्रदर्शन गरेको विराटनगर यसपटक बलियो दाबेदारका रुपमा देखा परेको छ। विदेशी खेलाडीमा खुलेर खर्च गरेको उसले दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसीलाई अनुबन्ध गरेर लक्ष्यमा पुग्ने योजना बनाउँदा मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ, साम हिजलेटलाई अनुबन्ध गरेर स्तरीय टोली बनायो।
उनीहरुलाई बसिर अहमद र लोकेश बमले साथ दिइरहेका छन्। बलिङमा सन्दीप आफै सर्वाधिक विकेटकर्ताका रुपमा शीर्षस्थानमा छन् भने मर्चेन्ट डे लाङले साथ दिइरहेका छन्।
शुभम रन्जाने र जर्ज मन्से फर्किसक्दा मध्यक्रममा घरेलु ब्याटर चल्नु विराटनगरका लागि आवश्यक छ। सुरुवाती ३ खेल जिते पनि बीचमा केही धर्मराएको विराटनगरले अन्तिम खेलमा सुदूरपश्चिमको अपराजित यात्रामा पूर्ण विराम मात्र लगाएन एक पक्षिय नतिजा नै निकाल्यो।
विराटनगर र सुदूरपश्चिमबीच एनपीएलमा अहिलेसम्म २ खेल हुँदा दुवैले १–१ खेल जितेका छन्। गत संस्करण सुदूरपश्चिमले ९० रनको फराकिलो जित निकाल्दा यसै संस्करण शनिबार भएको खेलमा विराटनगरले ६ विकेटको सहज जित हात पार्यो। सुदूरपश्चिमले लिग चरणका ७ खेलमा ६ जित र १ हारको नतिजा निकाल्दा विराटनगरले ५ जित र २ हार व्यहोरेको छ।



