राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीबारे आयोगले लियो सुरक्षा निकायसँग ब्रिफिङ

हिमाल प्रेस १३ पुष २०८२ १८:३६ | Sunday, December 28, 2025
18
SHARES
राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीबारे आयोगले लियो सुरक्षा निकायसँग ब्रिफिङ

काठमाडौँ- निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसँग जानकारी लिएको छ। आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिएको हो।

बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सबै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आइतबारको बैठक राष्ट्रियसभा निर्वाचनको सुरक्षामात्रै केन्द्रित रहेको उनले बताए। आगामी माघ ११ गतेलाई राष्ट्रिय सभाको निर्वाचन मिति तोकिएको छ।

त्यस्तै प्रवक्ता भट्टराईले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरोकारवाला लगायतको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरेको जानकारी दिए। आचारसंहिता लागू हुने मिति भने केही दिनमा सार्वजनिक गरिने उनको भनाइ छ। उनले आचारसंहितालाई सबैले पालना गरेर निष्पक्ष, स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे।

आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा दलहरू खर्चको सीमामा रहनुपर्ने पनि आचारसंहितामा उल्लेख छ।

दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने लगायतका विषय आचारसंहितामा उल्लेख गरिएको छ।

प्रकाशित: १३ पुष २०८२ १८:३६ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast