नेपाल राष्ट्रिय प्राविमा शिक्षक–अभिभावक अन्तर्क्रिया, बालमैत्री वातावरण निर्माणमा साझा प्रतिबद्धता

हिमाल प्रेस १६ मंसिर २०८२ १०:१०
12
SHARES
नेपाल राष्ट्रिय प्राविमा शिक्षक–अभिभावक अन्तर्क्रिया, बालमैत्री वातावरण निर्माणमा साझा प्रतिबद्धता

काठमाडौँ- नेपाल राष्ट्रिय प्रा.वि. चन्द्रपुरमा सोमबार आयोजित शिक्षक अभिभावकको अन्तर्क्रियाले विद्यालय-समुदाय सम्बन्धलाई अझ मजबुत बनाएको छ। आत्मीयता र खुसीले भरिएको विद्यालय वातावरणमा दुवै पक्षबीच बालबालिकाको सिकाइ, अनुशासन, घर-विद्यालय समन्वय तथा नियमित उपस्थितिका विषयमा खुला र मैत्रीपूर्ण छलफल सम्पन्न भएको विद्यालयले जनाएको छ।

अन्तर्क्रियामा शिक्षक र अभिभावकले बालबालिकाको सिकाइ पद्धति, उनीहरूले सामना गरिरहेका चुनौती तथा आगामी दिनमा गर्न सकिने सुधारका उपायबारे गम्भीर रूपमा विचार-विमर्श गरे।

अभिभावकहरूले विद्यालयमा देखिएको सुधारप्रति खुसी व्यक्त गर्दै अझ प्रभावकारी शैक्षिक वातावरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। शिक्षकहरूले अभिभावकको सुझाव र अनुभव विद्यालय सुधारका लागि अत्यन्त उपयोगी हुने बताए।

कार्यक्रमसँगै बालविकास कक्षामा भएको खाजा समयको अवलोकनले विद्यालयको वातावरण झनै जीवन्त देखिएको थियो। बालबालिकाहरूको रमाइला गतिविधि, खेल, हाँसो र सिकाइ शैलीले अभिभावकहरू प्रफुल्लित बने। शिक्षकको मायालु साथ र अभिभावकको उपस्थिति बालमैत्री विद्यालय निर्माणको भावनालाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ छ।

शिक्षक तथा अभिभावक दुवैले खाजा समय केवल खाने समय मात्र नभई सामाजिक विकास, साझा खुसी र प्राकृतिक सिकाइको महत्वपूर्ण क्षण भएको टिप्पणी गरे। बालबालिकाहरूको सहज गतिविधि सँगै बसेर हेर्दा विद्यालय रूपान्तरणको मुख्य आधार आपसी विश्वास, सहकार्य र खुला संवाद नै रहेको उनीहरूको अनुभव थियो।

अन्तर्क्रियाले विद्यालय सुधार तथा रूपान्तरण अभिभावक–शिक्षक साझेदारीबाटै अघि बढ्ने सन्देश दिएको विद्यालयले जनाएको छ। ‘खुला संवाद र विश्वासका माध्यमबाट विद्यालय सुधार सम्भव छ,’ एक शिक्षकले भने,‘यो भावना हामी निरन्तर कायम राख्नेछौँ।’

प्रकाशित: १६ मंसिर २०८२ १०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast