ईश्वरसँग पराजित सुरेन्द्र ईश्वरकै प्यानलबाट महासचिवको प्रतिस्पर्धी

हिमाल प्रेस २९ मंसिर २०८२ ११:०४ | Monday, December 15, 2025
24
SHARES
ईश्वरसँग पराजित सुरेन्द्र ईश्वरकै प्यानलबाट महासचिवको प्रतिस्पर्धी

काठमाडौँ- एमालेको नवौँ महाधिवेशन (२०७१) मा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे एघारौँ महाधिवेशनमा उनै पोखरेलको प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन्। एमाले अध्यक्षका लागि ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्माबीच प्रतिस्पर्धा हुने भएको छ। यसैगरी पदाधिकारीमा पनि दुई नेताहरू प्यानल बनाएर मैदानमा उत्रँदैछन्।

पाण्डे नवौँ महाधिवेशनमा माधव नेपाल प्यानलबाट प्रतिस्पर्धामा थिए। त्यति बेला ईश्वर पोखरेल ओली समूहबाट उम्मेदवार बनेका थिए। पोखरेलसँग ६ मतको झिनो अन्तरले महासचिवमा पराजित भएका पाण्डे ओली इतर समूहमा रहँदै आएका छन्। पोखरेल १०३६ मतसहित निर्वाचित हुँदा पाण्डेले १०३० मत ल्याएका थिए।

ओली समूहबाट शंकर पोखरेल दोहिरिने भएका छन्। अब यी दुई नेतामध्ये एकजना एमालेका महासचिव बन्नेछन्। पाण्डे पूर्वअर्थमन्त्रीसमेत हुन् भने पोखरेल पूर्वसञ्चारमन्त्री हुन्। साथै उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री हुन्। पाण्डे दसौँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए।

एमालेको १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यका लागि नयाँ नेतृत्व चयन हुँदै छ। ईश्वर समूहले उम्मेवारको टुंगो लगाए पनि ओली समूहबाट अध्यक्ष र महासचिवबाहेक अन्य प्रतिस्पर्धीको टुंगो लाग्न बाँकी छ।

प्रकाशित: २९ मंसिर २०८२ ११:०४ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast