भरतपुरमा सूर्यमुखी खेती

हिमाल प्रेस १८ मंसिर २०८२ १३:२९
8
SHARES
भरतपुरमा सूर्यमुखी खेती

चितवन- चितवनको भरतपुर महानगरपालिका–१५, श्रीपुरका किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्रांगरिक तरिकाले सूर्यमुखीखेती लगाएका छन्।

अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो। उनले भने, ‘पाँच दिनसम्म दैनिक १० जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरिएको छ, यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ।’

उनले अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा ८०० रुपैयाँ र दाना प्रतिकिलो ५०० रुपैयाँमा बिक्री भएको जानकारी दिए । यसपटक अधिकारीले एकल रूपमा खेती गरेका हुन्।

दुई वर्षअघि भने चार जनाको समूह बनाएर सोही स्थानमा प्राङ्‍गारिक सूर्यमुखीखेती गरिएको थियो । त्यो समयमा फूल फुल्दा खेत क्षेत्र आकर्षक बनेको र दैनिक रूपमा फोटो खिच्न, भिडियो बनाउन तथा घुम्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उनले जानकारी दिए।

बाली राम्रो भएकाले ढकमक फूलले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अधिकारीको दाबी छ। फूल फुलेपछि क्षेत्र मौरी चरनका लागि पनि उपयुक्त मानिन्छ।

लामो समयदेखि प्राङ्‍गारिक खेतीमा संलग्न अधिकारीले यस क्षेत्रमा विविध बाली लगाउँदै आएका छन्। सूर्यमुखीखेतीलाई बाह्य प्रभावबाट जोगाउन खेतको छेउ–छेउमा राज्मा रोपेर ‘बफर जोन’ तयार गरिएको उनले बताए। उनले भने, ‘श्रीपुर गाजर उत्पादनका लागि पनि परिचित क्षेत्र हो, मैले प्रांगरिक रूपमा गाजर पनि लगाएको छु।’

उनको अगुवाइमा यहाँका साथै जिल्लाका प्रांगरिक समूहहरूले अन्य विभिन्न बाली लगाउँदै आएका छन्। करिब चार दशकदेखि प्रांगरिक खेतीमा संलग्न अधिकारीले धेरै कृषकलाई जैविक खेतीतर्फ आकर्षित गर्दै आएका छन्। रासस

प्रकाशित: १८ मंसिर २०८२ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast