जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले मधेशमा महिला हिंसा न्यूनीकरणका लागि कठोर कारबाहीका साथै सचेतना आवश्यक रहेको बताएका छन्।
लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको क्रममा मंगलबार राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश कार्यालयले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
लाभले अहिले पनि समाजमा महिला हिंसा, बालविवाह, दाइजो, भेदभाव जस्ता सामाजिक विकृतिहरूले जडा गारेको बताए। यस्ता घटना न्यूनीकरण गर्न कठोर कानुनी कारबाही र सचेतना आवश्यक रहेको उनको भनाइ छ।
प्रदेशमा मानवअधिकारविरोधी घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसप्रति सबैको सजगतामाथि जोड दिए।
कार्यक्रमका सहयोगी संस्थामध्येका पिपुल इनरिडका प्रदेश परियोजना व्यवस्थापक सुनिल साहले मधेश प्रदेशमा सचेतनाको अभावमा लैङ्गिक हिंसाको घटना वृद्धि भएको उल्लेख गरे।
जागरुकता बढेकाले विगतको तुलनामा अहिले हिंसाका घटनाहरू बढी दर्ता हुने गरेको उनले बताए।



