अस्ट्रेलियाको सिडनीमा गोलीबारी, १२ जनाको मृत्यु, इजरायलले भन्यो –‘आतंकवादी आक्रमण’

हिमाल प्रेस २८ मंसिर २०८२ १७:५२
30
SHARES
अस्ट्रेलियाको सिडनीमा गोलीबारी, १२ जनाको मृत्यु, इजरायलले भन्यो –‘आतंकवादी आक्रमण’

काठमाडौँ- अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिडनीस्थित बोन्डी बीचमा भएको गोलीबारीको घटनामा १२ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

सुरूमा १० जनाको मृत्यु भएको खबर आएको थियो। तर, साउथ वेल्स प्रहरी प्रमुख क्रिस मिन्सले मृतकको संख्या १२ पुगेको बताएको बीबीसीले जनाएको छ।

प्रहरीका अनुसार बोन्डीबीचमा दुई जनाको संख्यामा आएका बन्दुकधारीले अन्धाधुँध गोली प्रहार गरेका थिए। घटना स्थानीय समयअनुसार साँझ ६ बजे आसपास भएको हो।

प्रहरीका अनुसार मृतकहरूमध्ये एक जना आक्रमणकारी छन्। अर्का बन्दुकधारी भने गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

घटना बोन्डी बीचको उत्तरी भागमा धेरै भीडभाड हुने ठाउँमा भएको थियो।

सिडनी प्रहरी प्रमुख मिन्सले सिडनीका यहुदी समुदायलाई लक्षित गरेर आक्रमण गरिएको बताएका छन्।

‘बीचको पछाडि घाँस भएको ठाउँनजिकै कार्यक्रम चलिरहेको थियो, मानिसहरू गीतसंगीत बजाइरहेका थिए,’ उनी भन्छन्,‘जुन रात शान्ति र आनन्दको रात हुनुपर्ने थियो, त्यो एक भयानक र नराम्रो आक्रमणले चकनाचुर भयो।’

प्रहरीका अनुसार यहुदी पर्व ‘हनुका’ मनाउन करिब एक हजार मानिस त्यहाँ भेला भएका थिए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो घटनालाई पीडादायी बताएका छन्।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताउँदै प्रहरीले पुष्टि नभएका खबर सम्प्रेषण नगर्न अपिल गरेको छ।

यसैबीच इजरायलले यो घटनालाई ‘आतंकवादी आक्रमण’ भनेको छ।

इजरायलका राष्ट्रपति इसहाक हर्जोगले बोन्डी बीचमा भएको घटना आतंकवादी आक्रमण रहेको बताएका हुन्।

‘सिडनीमा यहुदी समुदायमाथि भएको आक्रमणप्रति हाम्रो गम्भीर संवेदना छ, हनुका पर्वको लागि मैनबत्ती बाल्न गएकामाथि आतंकवादीले आक्रमण गरेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: २८ मंसिर २०८२ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast