शेरबहादुर देउवाले निवासबाटै पार्टी सञ्चालन गरिरहनु भएको छ : गगन थापा

हिमाल प्रेस ९ पुष २०८२ १८:३८ | Wednesday, December 24, 2025
46
SHARES
शेरबहादुर देउवाले निवासबाटै पार्टी सञ्चालन गरिरहनु भएको छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तोकिएको समयमा नै पार्टीको महाधिवेशनको सुनश्चितताका लागि वडा र क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा थापाले कार्यतालिका अनुसार महाधिवेशन गर्न समयको दबाब रहेकाले वडा र क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।

अन्य अधिवेशन महाधिवेशनपछि गर्न सकिने उनको प्रस्ताव छ। थापाले क्रियाशिल सदस्यताको विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न प्रतिनिधि फिल्डमा उठाउनुपर्ने समेत बताएका छन्।

बैठकपछि महामन्त्री थापाले पुष १६ गते गर्ने भनिएको वडा अधिवेशन पुस २१ गते, २३ गते क्षेत्रको अधिवेशन र २६ गते केन्द्रीय महाधिवेशन गर्न सकिने आफ्नो प्रस्ताव रहेको जानकारी दिए। प्रस्तावित कार्यतालिकामा सहमत नभए महाधिवेशनमा नै असर पर्ने उनको भनाइ छ।

उनले आफूले प्रस्ताव गरेको विकल्प प्रस्ताव अमान्य भए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने स्पष्ट पारे। त्यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवाले नाममात्रैको कार्यवाहक दिएको आरोप लगाए। पार्टी बैठकमा नआए पनि सभापति देउवाले निवासबाटै पार्टी सञ्चालन गरेको टिप्पणी गरे। पार्टीको सर्वोत्तम हितका बारेमा सबैभन्दा बढी सभापतिले चिन्ता गर्नुपर्ने उनको भनाइ छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले महामन्त्री थापाको प्रस्तावमाथि छलफल सुरु भएको जानकारी दिए। कार्यतालिका हेरफेरले महाधिवेशनलाई असर पार्ने अवस्था आउन नहुनेमा अन्य सदस्यहरुको जोड रहेको प्रवक्ता महतले बताए। उनले संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको पनि जानकारी दिए।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु महेन्द्र यादव र बद्री पाण्डे सदस्यहरु– बिजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, ज्ञानेन्द्र बहादुर कार्की, उमा रेग्मी, सुजाता कोइराला, एन.पी.साउँद र आनन्द प्रसाद ढुङ्गानाले धारणा राखेका थिए। बैठक बिहीबार दिउँसा १ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ।

प्रकाशित: ९ पुष २०८२ १८:३८ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast