शेखर भन्छन् – पार्टीका मान्छेलाई बाहिर जान रोकेर सरकारले कस्तो चुनाव गराउन खोजेको हो?

हिमाल प्रेस ५ पुष २०८२ १५:०९ | Saturday, December 20, 2025
32
SHARES
शेखर भन्छन् – पार्टीका मान्छेलाई बाहिर जान रोकेर सरकारले कस्तो चुनाव गराउन खोजेको हो? नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला/फाइल तस्बिर

काठमाडौँ-  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले चुनावको वातावरण बनाउनतर्फ ध्यान नपुर्‍याएको बताएका छन्। शनिबार विराटनगर–६ मा स्थानीयहरूसँग अन्तरक्रिया गर्दै उनले यस्तो बताएका हुन्।

कोइरालाले चुनावको वातावरण बनाउन सरकारले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने प्रस्ट पारे।

उनले भने,‘चुनावका लागि सरकारले वातावरण बनाउन सकेको छैन, सरकारले सुरक्षाको प्रत्याभुति गराउनुपर्‍यो। पाँच हजारभन्दा बढी कैदी अझै बाहिर छन्, सार्पसुटरहरु फरार छन्, तिनीहरुलाई फेरि समातेर जेलमा हाल्नुपर्‍यो। पाँच सातसय हतियार लुटिएका छन् ती हतियार पनि फिर्ता लिनुपर्‍यो, सरकार त्यतातिर ध्यान दिइरहेको छैन।’

नेता कोइरालाले राजनीतिक दलका मान्छेलाई काठमाडौँबाहिर जान रोकेर सरकारले कस्तो चुनाव गराउन खोजेको भनेर प्रश्नसमेत गरे।

‘देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले पार्टीको व्यक्तिलाई काठमाडौँ उपत्यकाभन्दा बाहिर जान नपाइने भनेर भनेको छ, अनि सरकार अर्कोतिर भन्दैछ म चुनाव गराउँछु, यो कस्तो चुनाव गराउन खोजेको हो,?’उनले भने।

कांग्रेस चुनावमा जान आतुर रहेको बताउँदै उनले सबै राजनीतिक दलले चुनावमा भाग लिन पाओस् भन्ने आफूहरूको चाहना रहेको जिकिर गरे।

नेता कोइरालाले भदौ २३ र २४ गतेको घटना एउटै हो वा फरक यसबारे विचार गर्न आवश्यक रहेको बताए। उनले भदौ २४ गतेको घटनालाई २३ गतेको घटनासँग जोडेर हेर्न नमिल्ने आफ्नो मान्यता रहेको उल्लेख गरे। नेता कोइरालाले भदौ २४ गतेको घटना प्रायोजित रहेको समेत बताए।

‘२४ गतेको घटनालाई २४ गतेको घटनासँग जोडेर हेर्न मिल्दैन भन्ने मेरो मान्यता हो। २३ गतेको घटना घृणित हो र यसका लागि माफी दिने अवस्था छैन,’ उनले भने,‘२४ गतेको घटना देशको निम्ति दुर्भाग्य हो। विश्वको कुनै पनि देशमा ५÷६ घन्टामा देश जलेको थाहा छैन, हुनैसक्दैन, यो प्रायोजित हो भनेर विस्तारै खुल्दैछ।’

प्रकाशित: ५ पुष २०८२ १५:०९ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast