एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

हिमाल प्रेस ५ पुष २०८२ ६:५८ | Saturday, December 20, 2025
10
SHARES
एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको दाबी गरेका छन्। महासचिवमा दोस्रो पटक निर्वाचित भएपछि उनले यस्तो दाबी गरेका हुन् । उनले सहि नेतृत्व चयन भएको दाबी गरेका दश बुँदा यस्ता छन्।

नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

महाधिवेशनका सन्देशहरुलाई अव पार्टी पंक्तिले आम जनताको बीचमा पुर्‍याउनु पर्दछ । विधान महाधिवेशनबाट पारित नीतिका आधारमा अघि बढ्न सक्षम नेतृत्व चयन गरिएको यो महाधिवेशनका प्रमुख विशेषताहरू यसप्रकार छन् :

१. एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक समारोह बन्न सफल भयो। भक्तपुर सल्लाघारीस्थित करिब १०० रोपनी क्षेत्रमा फैलिएको मैदान उद्घाटन समारोहका लागि साँघुरो देखिनु यसको प्रमाण हो।
२. पार्टी र नेतृत्व, विशेषतः पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उहाँको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गर्‍यो।
३. नयाँ पुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्था गरिएकोले उल्लेख्य संख्यामा नवयुवाहरू केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन्।
४. यस पटक प्रायः सबै पदमा प्रतिस्पर्धा भयो। विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरे, जसले पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको छ।
५. आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआत हो।
६. महाधिवेशनको व्यवस्थापन अत्यन्त चुस्त र दुरुस्त रह्यो। निर्वाचन प्रक्रियामा केही प्राविधिक समस्या आएर एक दिन लम्बिए पनि विगतका महाधिवेशनको तुलनामा छोटो समयमा सम्पन्न हुन सक्यो।
७. छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू आमन्त्रण गर्न नसकिए पनि उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले व्यक्त गरेका विचारले नेकपा९एमाले०को नेतृत्वकारी भूमिका स्थापित गर्‍यो।
८. महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका कमरेड विष्णु रिमालको निर्वाचनमा पराजय दुःखद पक्ष रह्यो। यस घटनाले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गरेको छ, जसलाई सच्याउन वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक देखिन्छ।
९. समग्रमा एघारौँ महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सफल रह्यो। यसले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आधार तयार गरेको छ ।यद्यपी महासचिव पदमा मेरो उम्मेदवारी अत्यन्त प्रतिस्पर्धात्मक र पेचिलो रह्यो। अनेकन् भ्रम र अफ़वाह सिर्जनागरी गरिएको चौतर्फी घेराबन्दी र प्रहारलाई कार्यकर्ता पंक्तिले दृढतापूर्वक सामना गर्यो र असफल तुल्यायो ।
१०. एघारौँ महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ। ४० वर्षमुनिका नवयुवासहित करिब एकतिहाइ नयाँ केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित भएका छन्।
महाधिवेशनलाई ऐतिहासिक रुपमा सफल बनाउन र महासचिवका रुपमा मेरो उमेद्वारीलाई सफल बनाउन भूमिका खेल्नुहुने सबैप्रति हृदय देखि नै आभार सहित धन्यवाद ज्ञापन गर्दछु । विभिन्न माध्यमवाट शुभेच्छा, शुभकामना र निर्वाचन पछि शुभकामना दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्दछु ।
पार्टी, आन्दोलन र मुलुको हितका पक्षमा आगामी दिनमा पनि हामी सबै एकसाथ रहनेछौ । धन्यवाद ।
शंकर पोखरेल
महासचिव
नेकपा एमाले

प्रकाशित: ५ पुष २०८२ ६:५८ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast