काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औँ वार्षिक साधारणसभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले सेयरधनीहरूका लागि प्रस्ताव गरिएको आकर्षक लाभांश पारित गरेको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट सेयरधनीहरूलाई कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
बैंकले जनाएअनुसार बोनस सेयर ५ प्रतिशत र नगद लाभांश करसहित ५.३५८३ प्रतिशत रहेको छ। बोनस सेयर जारी भएपश्चात बैंकको चुक्ता पूँजी वृद्धि भई ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा पुग्ने भएको छ।
साधारणसभाले लाभांशबाहेक आर्थिक वर्ष २०८१÷८२ को वार्षित वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरेको छ।
त्यस्तै अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत साधारणसभाले गरेको छ।




