काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा एडम रोसिङ्टनको शतकमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जवाफी बलिङ रोजेको कर्णालीविरुद्ध पोखराले २ विकेटको क्षतिमा २०१ रन जोड्दै जारी सिजनमा पहिलोपटक २०० पार गरेको हो। यसअघि विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो।
इंग्ल्यान्डका ३२ वर्षीय विकेटकिपर-ब्याटर एडम रोसिङटनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा शतक पुरा गरे। अन्ततः उनी ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गर्दै १०८ रनमा अविजित रहे। यो जारी सिजनको दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका थिए।
पोखराका कप्तान कुशल भुर्तेलले १८ रन जोडेर रोसिङटनसँग ४.५ ओभरमा ३४ रनको ओपनिङ साझेदारी गरेका थिए। भुर्तेल आउट भएपछि जासन रोय क्रिजमा आए र रोसिङटनसँग दोस्रो विकेटका लागि १२ ओभरमा १२७ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। एनपीएलमा डेब्यू गरेका रोय ४६ रनमा (३४ बल, २ चौका, ३ छक्का) आउट भए, शतकको लक्ष्य चार रनले छुट्यो।
अन्त्यतिर धनञ्जय लक्षनले ११ बलमा अविजित २३ रन जोड्दै पोखरालाई २ सय पार गराए। कर्णालीतर्फ नन्दन यादव र मार्क वाटले १/१ विकेट लिए। प्लेअफको दौडमा टिक्न दुवै टोलीका लागि जित महत्वपूर्ण छ। दुवैले एक-एक खेल जितेका छन् तर कर्णालीले एक खेल बढी खेलेको कारण आज हार ब्यहोरेको खण्डमा उनीहरू अन्तिम खेलअघि नै बाहिरिनेछन्। कर्णालीले पाँच र पोखराले चार खेल खेलेका छन्।



