काठमाडौँ- ठूलै रस्साकस्सीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच एकता हुने औपचारिक निर्णय भएको छ। छोटो समयकै बीच पनि एकता लागि अनेक प्रयत्न भए। अन्तत: उनीहरूले आज बिहान ४ बजे सहमतिपत्रमा हस्ताक्षर गर्दै एक भएको सन्देश दिए।
अब उनीहरूको सहकार्य कसरी जाला भन्नेमा छ। त्यसो त, राजधानीकै महानगरको मेयर चलाइरहेका बालेन कसरी रास्वपामा समाहित हुने पक्षमा पुगे भन्ने पनि चासोको विषय हो। सामाजिक सञ्जालमा ठूलै समर्थन पाएका बालेनसँग आफैँले पार्टी नेतृत्व गर्ने विकल्प पनि थियो। तर उनी लामिछाने नेतृत्वकै रास्वपा र रास्वपाकै घण्टीबाट चुनाव लड्ने भएका छन्।
आज बिहान भएका ७ बुँदे समझदारी पत्रमा उनीहरूले भाबी प्रधानमन्त्रीको रूपमा बालेनलाई अघि सार्ने निर्णय गरेका छन्। यता लामिछाने रास्वपाकै सभापतिका रूपमा रहने छन्। स्वतन्त्ररूपमा मेयर जितेका बालेन र दल खोलेर राजनीतिमा होमिएका लामिछानेबीच खास समानता देखिँदैन।
बालेन इन्जिनियर पृष्ठभूमिका युवक हुन् भने लामिछाने पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा होमिएका हुन्। बालेन हरबखत मौन रहने स्वभावका छन् भने लामिछाने ‘मुखर’ सुनिने गर्छन्। लामिछाने ‘मास’लाई आफूतिर तान्ने क्षमताका नेता मानिन्छन्।
बालेनको स्वभाव भने ‘प्राविधिक’ जस्तो छ। यी दुई पात्रको मिलनले भाविष्यमा सहकार्य सकस पर्ने हो कि भन्ने देखिन्छ। राजनीतिक विश्लेषकहरू पनि उनीहरूको शैलीका कारण समस्या पर्ने अनुमान गर्छन्।
‘उनीहरू दुवै आफैंलाई नेता ठान्ने प्रवृत्ति छ। यसो भइरहे सँगै रहिरहने सम्भावना कम हुन्छ,’ राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्। निकट नेताहरूका अनुसार रास्वपाभित्र रहेका बालेन निकट नेताहरूले पनि उनीहरूलाई एक बनाउन भूमिका खेले। रास्वपा नेता असिम शाह, पुकार बम, गणेश कार्कीसहितका नेता रवि-बालेनको ‘सेतु’ बनेका थिए।
बालेनलाई उधारो प्रधानमन्त्री!
बालेन-लामिछानेबीच विगतमा खास उल्लेखनीय सम्बन्ध बनेको छैन। लामिछाने गृहमन्त्री हुँदा महानगरसँग सहकार्य नगरेको भन्दै बालेन असन्तुष्ट थिए। विगतमा बालेनले सामाजिक सञ्जालमार्फत पनि ‘पुराना र नयाँ दल उस्तै हुन्’ भन्ने लेखेका थिए। उनले रास्वपासहितका दललाई अश्लील गाली पनि गरेका थिए। तर अहिले ती सबै बालेन बिर्सिएर रास्वपामा समाहित हुने भएका छन्।
बालेन-रास्वपाबीचको ७ बुँदे सहमतिपत्रअनुसार रास्वपाले भाबी प्रधानमन्त्रीको उम्मेदवार रूपमा बालेनलाई अघि सार्नेछ। पार्टीमा बालेनले दोस्रो एवं लामिछानेपछिको वरीयता पाउने छन्। सहमतिपत्रअनुसार अब बालेनको पार्टी र चुनाव चिह्न रास्वपाकै रहने छ। यसबाहेक अन्य सहकार्य के-केमा हुनेछ भन्ने सहमति पत्रमा खुलाइएको छैन। ‘हामी अपारदर्शी सम्झौता गर्दैनौँ। जे सहमति पत्रमा छ। त्यो नै सहमति हो,’ रास्वपा नेता गणेश पराजुली हिमाल प्रेससँग भने।
अहिले रास्वपाको समानुपातिक उम्मेदवार छान्ने प्रक्रिया थालेको छ। त्यहाँ समेत बालेन समूहको सहभागिता हुनुपर्ने हो। तर रास्वपाकै उम्मेदवार मात्र रहेकाले बालेन समूह त्यहाँ नपर्ने हो कि भन्ने देखिएको छ। तर पराजुली भने ‘सम्मानजनक हिस्सा दिने’ दाबी गर्छन्। रास्वपा स्रोतका अनुसार समानुपातिक उम्मेदवार छनोटमा लामिछाने र बालेन नै रहनेछन्।
अर्को कुरा, पार्टीमा कति हैसियत बालेनको रहने भन्ने पनि खुलाइएको छैन। यसअघि बालेनले रास्वपासँग ‘सम्मानजनक हिस्सा’ खोजेका थिए। रास्वपाले सम्मानजनक हिस्सा नदिने भएपछि दुईदिनअघि बालेन आफैं नेतृत्वको ‘देश विकास पार्टी’ चलाउने तयारीमा थिए। तर एकाएक बालेन लचक हुनुले हिस्सा बढेको अनुमान गरिएको छ।
रास्वपा नेताहरू भने बालेनलाई सम्माजनक स्थान दिँदै जाने दाबी गर्छन्। सहमतिपत्रअनुसार बालेनका नेता समेत अब लामिछाने बनेका छन्। यसअघि उपप्रधानसहित गृहमन्त्री बनेका लामिछाने भने बालेनका लागि सहजरूपमा प्रधानमन्त्री पद छाड्न तयार भएका छन्। यसरी लामिछाने सहमत हुनुमा उनको कानुनी अल्झन रहेको नेताहरू सुनाउँछन्। लामिछाने जेलबाट छुटे पनि मुद्दा मुक्त छैनन्।
कानुनविद्हरूका अनुसार उनले चुनाव जिते पनि संसद् प्रवेश गर्न पाउने छैनन्। सहकारी प्रकरणको ‘सम्पत्ति शुद्धीकरण’को मुद्दाले उनलाई सांसदको लोगो लगाउन छेक्नेछ। संसद् नै प्रवेश गर्न नपाउने भएपछि प्रधानमन्त्री बन्न पाउने बाटो बन्द भएको छ। यही कारण उनले नयाँ ‘व्यक्ति’ रोजेको रास्वपा स्रोतको बुझाइ छ। तर प्रधानमन्त्रीको लोभले बालेनले रास्वपा रोज्नुले नैतिक रूपमा उनी उठ्नै नसक्ने गरी गिरेको खतिवडा बताउँछन्। ‘बालेनले प्रधानमन्त्रीको लोभ देखे। तर नैतिकरूपमा उनी उठ्नै नसक्ने गरी लडे,’ खतिवडा भन्छन्।
जेनजी आन्दोलनको दबाब, बालेन-रवि दुवैले हेरे फाइदा
जेनजी आन्दोलनपछि गुमनाम बनेका परम्परागत राजनीतिक शक्ति (कांग्रेस, एमाले र नेकपा (तत्कालीन माओवादी) सहित दल फेरि उठ्ने प्रयत्नमा छन्। उनीहरू जेनजी आन्दोलन विध्वंश भएको र राजनीतिक घटना भन्न नमिल्ने तर्क गरिरहेका छन्। यदि फेरि पनि कांग्रेस-एमाले सत्तामा आए जेनजी भावनासहितको भदौ २३ लाई ‘द्वन्द्व घटना’ भन्ने सम्भावना छ।
अहिले बालेन-रास्वपा यसैको दबाबमा परे। यसअघि बालेनले छलफल गर्दा समेत जेनजी भावनाअनुसार अघि बढ्ने सुझाव दिएका थिए। ‘जेनजी आन्दोलनलाई आत्मसात् गरे अघि बढ्नु आजको आवश्यकता हो। हामीले पनि एकता गर्ने कुरालाई सकारात्मक रूपमा लिएका छौँ,’ गत बिहीबार बालेनसँग संवाद गरेर बाहिरिएपछि जेनजी अभियान्ता रक्षा बमले भनेकी थिइन्।
यता जेनजी अभियन्ता सुदन गुरुङले त बालेन-लामिछाने छलफल गर्दा अन्तिम निष्कर्ष ननिकाली बाहिर निस्कन नपाउने भन्दै गेटमा ताला लगाएका थिए। यी र यस्तै घटनाको पनि दबाबमा उनीहरू परे।
दुई नेताहरूको मिलनमा उनीहरूका आ-आफ्नै स्वार्थ पनि छन्। रास्वपामा लाामिछानेपछिको विकल्पमा नेता छैनन्। केही समय जेल बस्दा पार्टी चल्न नसकेको पीडा लामिछानेमा छँदैछ।
यता बालेनलाई पनि नयाँ पार्टी डोहोर्याउन सकस थियो। वैकल्पिक राजनीतिको जग बोकेको रास्वपामै समायोजन भएर प्रधानमन्त्री पद पक्का गर्दा बालेनलाई सहज भयो। ‘नयाँ पार्टी बनाएर अघि बढ्न सहज छैन। रास्वपा एकै किसिमले ट्रयाक समातेको पार्टी हो,’ बालेन निकट एक नेता भन्छन्।
के गर्छन् कुलमान?
ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रास्वपासँग एकता गर्ने तयारीमा थियो। तर अन्तिममा एकाएक उज्यालो नेपाल पार्टी एकता प्रक्रियाबाट बाहिरियो। कुलमानले आफ्नो अस्तित्व संकटमा पारेर एकता नगर्ने बताएका थिए। उज्यालो नेपाल स्रोतका अनुसार अहिले पनि अडान यथावत छ।
‘हामी अस्तित्व नै संकटमा पारेर एकता गर्दैनौँ,’ उज्यालोका प्रवक्ता राजु थापा भन्छन्, ‘एकता नगर्ने भन्ने त होइन। तर हाम्रो पनि स्वामित्व चाहियो भन्ने हो।’
थापाका अनुसार रास्वपासँग एकता लागि पनि स्वामित्व खोजिएको थियो। ‘हामीले पार्टीको नाम वा चुनाव चिह्नको प्रस्ताव गरेका थियौँ। तर सहमति भएन। अब पनि छलफल चल्दै छ,’ थापा भन्छन्।





