खुल्यो रसुवागढी नाका, नेपाली ट्रकचालक केरुङ जान सुरु

हिमाल प्रेस १४ पुष २०८२ ७:०८
10
SHARES
खुल्यो रसुवागढी नाका, नेपाली ट्रकचालक केरुङ जान सुरु फाइल तस्बिर।

काठमाडौँ- करिब छ महिना ठप्प भएको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले सीमापार ढुवानीमा संलग्न नेपाली ट्रकका सवारीचालक बिहान ७ बजेदेखि केरुङतर्फ आवागमन गर्न थालेको जानकारी दिए। उनले भने, ‘नेपाल–चीन सीमामा ल्हेन्देखोलामा निर्माणाधीन बेलिब्रिजको प्राविधिक जाँच सफल भएसँगै पुस १७ गतेदेखि नाका खोल्ने निर्णय भएको छ ।’

रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले रसुवा नाकास्थित मैत्री पुलको ठाउँमा नयाँ बेलिब्रिज निर्माण भइसकेको र आइतबारदेखि सो पुल भएर मानिसको आवतजावत सुरु भइसकेको जानकारी दिए।

यही पुस १७ गते (बिहीबार) देखि मालवाहक सवारीसाधन तथा व्यापारीलाई समेत नाकाबाट आवागमनको अनुमति दिइने छ । चिनियाँ पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन सुरु गरिने उल्लेख छ । साथै सबै विदेशी व्यापारिक प्रतिष्ठानले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीले प्रवेशअघि नै आवश्यक तयारी, सवारीसाधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ ।

यसैबिच गत असार २४ गते केरुङतर्फ सामग्री पु¥याएका मालवाहक कन्टेनर डिब्बा व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरुङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए। बिहीबारदेखि भन्सार कार्यालयले भित्रिने तथा बाहिरिने सवारीसाधनको निरीक्षण गरेपछि मात्र आवागमनको अनुमति दिने व्यवस्था गरिएको छ। यस अवधिमा एकतर्फी पालैपालो प्रणाली कडाइका साथ लागु गरिने चिनियाँ पक्षको भनाइ छ ।

साथै जी–२१६ सीमाक्षेत्रमा सडक कालोपत्रेको काम जारी रहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग गरिने छ । सो अवधिमा चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बनेसम्म आवागमन खुला रहने छ भने बाँकी समयमा दुवैतर्फबाट सवारी आवगमन नियन्त्रण गरिने छ।

जनवरी ८ पछि भने चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सामान्य भन्सार समयभन्दा एक घण्टा बढी सवारीसाधन प्रवेशका लागि खुला रहने छ । साथै दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म अस्थायी रूपमा आवागमन सञ्चालन गरिने छ ।विसं २०७६ जेठमा सञ्चालनमा अर्को मितेरी पुल गत असारको बाढीले बगाएपछि नेपाल–चीनबिचको सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । यसअघि २०७७ सालको बाढीले पनि पुलमा क्षति पु¥याएको थियो, जसलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको थियो । गोरखापत्र अनलाइनबाट

प्रकाशित: १४ पुष २०८२ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast