निजी क्षेत्रलाई प्रोत्साहन नगरी समृद्धि सम्भव छैन : डा.भट्टराई

हिमाल प्रेस १६ पुष २०८२ १७:१४
36
SHARES
निजी क्षेत्रलाई प्रोत्साहन नगरी समृद्धि सम्भव छैन : डा.भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विकास र समृद्धिका विषयमा अनावश्यक औपचारिकतामा सीमित नबनी व्यवहारिक कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा बोल्दै आयोजित कार्यक्रममा बोल्दै डा.भट्टराईले यस्तो बताएका हुन्। पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले निजी क्षेत्रलाई प्रोत्साहन नगरी समृद्धि सम्भव नहुने पनि बताए।

उनले महँगा तारे होटलहरूमा लाखौं रुपैयाँ खर्च गरेर गरिने छलफलबाट अपेक्षित परिणाम नआएको टिप्पणीसमेत गरे। ‘के गर्ने, कसो गर्ने भन्ने कुरा २० वर्षदेखि सुन्दै आएको छु। मैले पनि भन्दै आएको छु,’ डा.भट्टराईले भने, ‘अब ‘के गर्ने’ होइन, ‘कसरी गर्ने’ तर्फ केन्द्रित हुनुपर्छ।’

मुलुकको आर्थिक अवस्थालाई रोगसँग तुलना गर्दै उनले समस्या पहिचान नगरी समाधान सम्भव नहुने बताए। उनले भने, ‘रोग के हो? किन भएको छ? त्यसको खोजी गर्नुपर्छ। देश कालको सापेक्षमा हेर्नुपर्छ। विकसित देशहरू त्यहाँ कसरी पुगे, त्यसको हिसाब गर्नुपर्छ।’

डा.भट्टराईको भनाइमा नेपाल अहिले विकासका हिसाबले अन्य मुलुकभन्दा झन्डै एक सय वर्ष पछाडि परिसकेको छ। ‘कृषि क्षेत्रमा मात्र आधारित देशहरु कहिल्यै अगाडि बढेको छैनन्,’ उनले भने, ‘कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्न समयअनुकूल सही नीति र नियमको आवश्यकता औंल्याऔं। राज्य, समुदाय र निजी क्षेत्रले सबै क्षेत्रलाई समेटेर स्पष्ट नीति लिएर अघि बढे केही वर्षमै ठूलो फड्को हान्न सकिन्छ।’

डा.भट्टराईले निजी क्षेत्रलाई सुविधा दिनुपर्नेमा जोड दिँदै विकसित देशहरूमा राज्यले नै कम्पनी खडा गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने अभ्यास रहेको बताए। लगानी भित्र्याउने विषयमा पनि छलफल आवश्यक रहेको उनले बताए। ‘कामदार पठाउनको साटो पुँजी भित्र्याउन सक्नुपर्छ,’उनले भने, ‘सम्पत्ति, भूमि र बैंकिङसम्बन्धी नीतिमा ध्यान दिऔँ।’

प्रकाशित: १६ पुष २०८२ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast