संसद्मा पेस गर्न १२१ वटा विधेयकको प्राथमिकता निर्धारण

हिमाल प्रेस ६ पुष २०८२ १४:५४ | Sunday, December 21, 2025
28
SHARES
संसद्मा पेस गर्न १२१ वटा विधेयकको प्राथमिकता निर्धारण

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षमा संघीय संसद्मा पेस गर्नका लागि १२१ वटा विधेयकहरूको प्राथमिकता निर्धारण गरिएको बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा मन्त्री सिन्हाले यसअघि नै तय भएका विधेयकहरूमध्ये १२१ वटा विधेयकहरूको प्राथमिकता निर्धारण गरिएको र चालु आर्थिक वर्षभित्रै उक्त विधेयकहरू संघीय संसदमा पेस गर्न सरकार गम्भीर भएर लागेको बताएका हुन्।

सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी छलफलमार्फत अघि बढाइएको उनले बताए। विधायन ऐन २०८१ को कार्यान्यवनको सन्दर्भमा छलफल जारी रहेको भन्दै मन्त्री सिन्हाले जारी भएको एक वर्षभित्रै नियमावली निर्देशिका तयार गरेर प्रकाशित गरिने धारणा राखे।

उनले २०७८ को जनगणनाअनुसार समानुपातिक समावेशी आधार समूहको प्रतिनिधित्व प्रतिशत तय गर्नका लागि निर्वाचनसम्बन्धी अध्यादेश जारी भएका स्पष्ट पारे। बैठकमा समिति सदस्यहरूले पारित प्राथमिकताका आधारमा समयमा नै सरकारले विधेयक ल्याउन ढिलाइ गर्न नहुने धारणा राखेका थिए।

राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले सांसदका स्वकीय हटाउने विषय ऐन विपरीत रहेको बताइन्। यस विषयमा प्रधानमन्त्रीले कानुनमन्त्री र कानुनमन्त्रीले अर्थमन्त्रीलाई देखाउने गरेको उनले गुनासो गरिन्। उनले सरकारको सय दिनमा सुशासनका लागि भएका कामका बारेमा जानकारी गराउन माग गरिन्।

त्यसै गरी राष्ट्रियसभा सदस्य बेदुराम भुसालले विधायन ऐन २०८१ बमोजिम प्रत्यायोजित ऐनहरु समयमा नै आउनुपर्ने भन्दै आगमी चैत ३ सम्म नियमावली, निर्देशिका प्रकाशित नभए निष्कृय हुने विषयमा ख्याल गर्न सुझाव दिए।

त्यस्तै अन्य सांसदहरुले प्रत्यायोजित विधायन व्यवस्थापनमा गम्भीर हुन सरकारलाई सुझाव दिएका थिए।

प्रकाशित: ६ पुष २०८२ १४:५४ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast