काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व कसले गर्ने भनेर होडबाजी चलेको छ। यसपटक एमालेको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा कुनै विषयमा छलफल नहुने बताइसकेका छन्। उनले भनेका छन्, ‘मैले महाधिवेशनमा निर्देशनात्मक सम्बोधन गर्नेछु। कुनै विषयमा छलफल हुँदैन।’ मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ।
एमालेको आगामी अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष ओली तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न लागेका हुन् भने पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष हुन्।
दुवै अध्यक्षका दाबेदार आफ्नो टिम निर्माणमा लागेका छन्। पदाधिकारीमा आकांक्षीको भीड बढेको छ। यसले गर्दा आफू निकट आकांक्षीलाई समेटेर जान सकस देखिएको छ। पाँच महिनाअगाडि विधान महाधिवेशनमार्फत एमालेले पदाधिकारीको संख्या १९ बाट ११ मा झारेको थियो। आकांक्षीको लामले गर्दा फेरि पदाधिकारीको संख्या बढाउनुपर्ने दबाब देखिएको नेताहरूले बताएका छन्।
एमालेमा अध्यक्षसहित तीन उपाध्यक्ष, महासचिव एक, उपमहासचिव एक र पाँच सचिवका लागि प्रतिस्पर्धा हुने भएको छ।
‘संस्थापन (ओली)मा धेरैको आकांक्षा छ। त्यसैले ओली कमरेड पदाधिकारी बढाउन लाग्नुभएको छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘अब उपाध्यक्ष र सचिव पद बढाउने तयारी छ।’ पदाधिकारीका आकांक्षी ५० भन्दा बढी पुगेका छन्। यसको सबैभन्दा बढी दबाब ओलीमाथि परेका नेताहरू बताउँछन्।
‘आफ्नै समूहमा व्यवस्थापन गर्न सकस भएको छ। लामो समयदेखि सहयोग गरेकादेखि पछिल्लो समयमा प्रभाव जमाएका नेतालाई समेत अध्यक्ष कमरेड (ओली) ले समेट्नुपर्ने बाध्यता छ’, ओली निकट एक नेता भन्छन्। यसैले गर्दा ओली पदाधिकारीको संख्या थप्न चाहन्छन्।
पोखरेल पक्षधर नेता भने पदाधिकारी संख्या बढाउँदा ‘विधान महाधिवेशन’ को सान्दर्भिकता सकिने बताउँछन्। ‘विधान महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्छ, पदाधिकारी बढाउन मिल्दैन’, उपाध्यक्ष एवम् पोखरेल समूहकी नेत्रृ अष्टलक्ष्मी शाक्य भन्छिन्।
ओली समूहको ‘अन्तरविरोध’ बुझ्दै पोखरेल
पदाधिकारी आकांक्षी प्रकट गर्नेमा ओली समूहमा धेरै नेता छन्। कतिपय त अटाउनैपर्ने नामसमेत ओली समूहमा छन्। महासचिवमा ओली समूहबाट तीन आकांक्षी छन्। हालका महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ।
ओलीले पोखरेललाई महासचिव दोहो¥याउन चाहे पनि ज्ञवाली र गुरुङ पनि सहजै ‘गल्ने’ अवस्थामा छैनन्। ओलीले पोखरेल ‘च्यापे’ ज्ञवाली र गुरुङ असन्तुष्ट हुने सम्भावना छ। यसले गर्दा ओली दबाबमा परेको उनी निकट नेताहरू बताउँछन्। ‘ओलीले पोखरेल दोहोर्याए गुरुङले समूह फेर्न पनि सक्छन्। यसको फाइदा पोखरेललाई पर्न सक्छ’, ती नेता भन्छन्।
महासचिवमा मात्र होइन, अन्य पदमा समेत उम्मेदवार बन्न दौडधूप चलेको छ। उपमहासचिवमै पनि ओली समूहमा एक उपमहासचिवमा आधा दर्जनको आकांक्षा छ। यस्तै ५ सचिवमा ४० जनाको आकांक्षा छ।
यसको दबाब पनि पोखरेललाई भन्दा ओलीलाई बढी छ। ओलीले आफ्नो समूहमा ककसलाई राख्छन्, पोखरेल पक्ष बुझ्ने प्रयासमा छ। पोखरेल जति सक्दो संस्थापन पक्षबाट तान्ने पक्षमा र ओली पक्षका नेताहरू समेट्ने प्रयासमा लागेको छ। ओली भने आफ्ना आकांक्षीलाई थुमथुम्याउने प्रयासमा लागेका छन्। आफू निकट नेताहरूलाई साविककै पदमा राख्नुपर्ने वा अन्य कुनै पदको आश्वासन दिनुपर्ने बाध्यता ओलीलाई छ।
‘नयाँ पद थप्नदेखि आफ्ना निकटस्थ अटाउन संस्थापनमा सकस छ। उहाँ (ओली) पद थपेर अथवा उधारो सहमति गरेर जानुपर्छ’, एक नेता भन्छन्। इतरपक्षमा भने अहिले दबाब नरहेको नेताहरू बताउँछन्। ‘हाम्रो अभियान ओली पराजित गर्ने हो। हामी शक्तिशाली उम्मेदवार उठाउँछाँ, त्यसमा उम्मेदवारको आकांक्षाभन्दा पनि परिस्थिति हेरेर उम्मेदवारी दिइन्छ’, ती नेता सुनाउँछन्।
राष्ट्रियताको एजेन्डाको मलजलमा ओली, पुस्तान्तरणको मुद्दामा पोखरेल
ओली पक्ष अहिले पनि राष्ट्रियताको एजेन्डा लिएर प्रचारमा छ। विगतमा ओलीले देखाएको अडान भन्दै उनलाई फेरि अध्यक्ष बनाउनुपर्ने बुझाइ उनीहरूको छ। भारतीय नाकाबन्दीका बेला ओलीले राखेको अडान, लिम्पियाधुरासहितको नेपालको नक्सा संसद्बाट पारित गर्दाको ओलीको कामलाई उनीहरू मुख्य एजेन्डा बनाइरहेका छन्।
‘जेनजी आन्दोलनपछि राष्ट्रियतामाथि अनेक प्रश्न उठेका छन्। यतिबेला फेरि ओली कमरेडको खाँचो परेको छ’, ओली निकट नेता विशाल भट्टराई भन्छन्, ‘देश रहे मात्र रहौँला हामी भोलि, राष्ट्रकै आवश्यकता हो, केपी शर्मा ओली’, ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ जस्ता नारा लिएर संस्थापन पक्ष प्रचारमा छ।
पोखरेल पक्ष भने यिनै विषयविरुद्धमा एजेन्डा बनाएर प्रचारमा छ। जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री समेत भाग्नुपर्ने परिस्थिति बनेको भन्दै ओलीको सान्दर्भिकता सकिएको पोखरेल समूहको निष्कर्ष छ। ‘प्रधानमन्त्री हुँदा समेत हेलिकप्टरमा भाग्नुपरेको व्यक्तिलाई नेतृत्वमा ल्याउन सकिन्न। म पार्टीमा नयाँ नेतृत्वको खाचो छ’, इतरपक्षका नेता कर्ण थापा भन्छन्, ‘एउटै व्यक्ति धेरै पटक अध्यक्ष बनिरहनु हुँदैन। पुस्तान्तरण आवश्यक छ।’



