पोखरा– प्रेरणा आचार्य गत वर्ष स्नातकअन्तर्गत बीबीएको अन्तिम सेमेस्टर पढ्दै थिइन्। स्नातक सकेपछि विदेश जाने योजना बुनेकी थिइन् उनले। साथीसंगी पनि यस्तै कुरा सुनाउँथे।
उनका बाबुआमा दुवैजना सरकारी जागिरे हुन्। छोरी पनि विदेश नगई स्वदेशमै बसे हुन्थ्यो भन्ने चाहना राख्थे उनीहरू। मानवअधिकार अधिकृत आमा कल्पना नेपाल आचार्यले बेलाबखत लोकसेवा दिन सुझाउँथिन्। छोरीले भने खासै चासो दिएकी थिइनन्।
प्रेरणाले एक दिन ल्यापटपमा स्क्रोलिङ गर्दै जाँदा राष्ट्रिय मानवअधिकार आयोगको नासु पदमा विज्ञापन खुलेको थाहा पाइन्। ख्यालख्यालमै घरैबाट अनलाइन फाराम भरिन्। फाराम भरेको जानकारी बाबुआमा र बहिनीलाई सुनाएकी थिइनन्। परीक्षा दिने बेला भएपछि मात्र आमालाई कार्यालयबाट प्रवेशपत्र प्रिन्ट गरेर ल्याइदिन अनुरोध गरिन्।
छोरीले लोकसेवा दिन थालेकोमा आमा खुसी भइन्। उनको खासै तयारी नभएको र मानवअधिकारमै फाराम भरेको विषयमा जिज्ञासा राखिन्, ‘मानवअधिकार सेवामा दिन्छ्यौ र? यता त मै छु। बरु सामान्य प्रशासन वा परराष्ट्रतिर प्रयास गरे हुने नि!’
एकफेर परीक्षा दिएर हेरौँ भन्ने सल्लाह भयो। आमाले छोरीको चाहनालाई मूर्त रूप दिन पढ्नेलेख्ने तरिकाबारे आवश्यक सल्लाहसुझाव दिन थालिन्। प्ररेणा केही समयपछि परीक्षामा सम्मिलित भइन्। जानेको कुरा ढुक्कसँग लेखिन्।
लोकसेवा आयोगले गत वर्ष ११ माघमा नतिजा प्रकाशित गर् यो। उनी उत्तीर्ण मात्र भइनन्, एक नम्बरमै सिफारिस पो भइन्। मानव अधिकारको नासु बनिन्।
२२ वर्षकै उमेरमा सरकारी जागिरमा प्रवेश गरेकी आचार्यको पुर्ख्यौली घर हो पाल्पा जिल्लाको माथागढी गाउँपालिका। २०५९ साउन २ गते जन्मिएकी उनले स्कुले शिक्षा तथा क्याम्पस तहको पढाइ काठमाडौँमा हासिल गरेकी हुन्।
प्रेरणा घरमा लोकसेवाको क्रेज थियो। जता हेर्यो, त्यतै लोकसेवाका किताबका ठेलीले कोठा भरिएको देखेकी थिइन् उनले। तैपनि जेनजी पुस्ताको विदेश जाने ट्रेन्डमा उनी पनि अछूतो रहने कुरा थिएन। शिक्षित परिवार र सरकारी जागिरे अभिभावक भएकाले आर्थिक रूपमा पनि खासै दुःख नभएकाले सानैदेखि एकोहोरो पढाइमै ध्यान दिन्थिन् उनी।
प्रेरणाले पाठ्यपुस्तकबाहेक पत्रपत्रिका, विभिन्न साहित्यिक पुस्तकहरु, इतिहास, देशविदेशबारे लेखिएका पुस्तक, अंग्रेजी उपन्यास पढ्न रुचाउने गरेको स्मरण गरिन्।
जीवनको गोरेटो सरकारी जागिरतिर मोडिएपछि उनी आमासँगै सरकारी ड्रेस लगाएर मानवअधिकारको केन्द्रीय कार्यालय हरिहर भवन आउजाउ गर्न थालिन्।
प्रेरणालाई लोकसेवाको परीक्षका लागि थप पढ्ने चाहना पलायो। कार्यालयबाट फर्केपछि बचेको समय बिस्तारै परराष्ट्र सेवाका किताब पनि पल्टाउन थालिन्। गत वर्ष आयोगले वर्ष २०८१/८२ का लागि पनि परराष्ट्र सेवामा ठूलै संख्यामा अधिकृतका लागि विज्ञापन खुलायो। प्रेरणाले पनि राजपत्राङ्कित तृतीय (शाखा अधिकृत) मा खुला र महिला समूहतर्फ फाराम भरिन्। प्रशासन र मानवअधिकारतिर पनि छुटाइनन्।
उनी कडा अनुशासनमा बसिन्। ढोका थुनेर पढ्न थालिन्। सामाजिक सञ्जालबाट परै बसिन्। नजानेको कुरो बाबुआमालाई सोध्थिन्। कार्यालय समयबाहेक अरू बेला पढाइमै घोत्लिन थालिन्। आमाले ट्युसन कक्षाको वातावरण मिलाइदिइन्। यसबाट अझ आत्मविश्वास बढ्यो। उनले ढुक्कसाथ सबैतिर परीक्षा दिइन्।
गत असोज २३ मा राष्ट्रिय मानवअधिकार सेवातर्फको नतिजाले उनलाई थप खुसीको बहार ल्यायो। उनी पास मात्र भइनन्, एक नम्बरमै सिफारिस भइन्। नासु बनेको ८ महिना नबित्दै आमा समान मानवअधिकार अधिकृत पो बनिन् प्रेरणा ।
यसैगरी प्रशासनतर्फ पनि उनको महिला कोटामा नाम प्रकाशित छँदै थियो। यति मात्र कहाँ हो र! कडा परिश्रम, अनुशासन र लगनशीलताकै परिणाम परराष्ट्रतिर पनि खुला र महिला दुवैमा नाम आयो। सबैतिरबाट बधाईको ओइरो लाग्न थाल्यो उनलाई।
यस वर्षको दसैँतिहारमा अन्त कतै घुम्न नगई प्रेरणा अन्तरवार्ता र कम्प्युटर सीप परीक्षणको तयारीमा लागिन्। बाबुआमा जिल्लाबाहिरै थिए। घरमा उनी एकमात्र बहिनी सुप्रियाको हेरविचार गर्थिन्। दिदीको निजामतीमा एकपछि अर्को फड्कोले उनलाई पनि प्रेरणा मिलेको बताउँछिन्।
खुलातर्फ ५४ उम्मेदवारको अन्तरवार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षासमेतको प्रातांकका आधारमा मंसिर २० मा प्रकाशित परराष्ट्रको नतिजामा प्रेरणा अन्ततः सिफारिस भइछाडिन्।
उनको आशा उत्कृष्ट १० मै पर्छु भन्ने रहेछ। परराष्ट्रको एकमुष्ठ योग्यता क्रममा खुलातर्फ उनको २९ नम्बरमा नामअंकित छ। परराष्ट्रमा खुलासहित समावेशीतर्फ महिला, आदिवासी जनजाति, दलित, अपांग, पिछडिएको क्षेत्रसमेत गरी ६७ जना सिफारिस भएका छन्।
परराष्ट्र सेवामा १ नम्बरमै नाम निकाल्ने पाल्पाकै बगनासकाली–७ का मनोज गैरे हुन्। पाल्पाबाट मनोज र प्रेरणा मात्रै सिफारिस भएका छन्।
‘छोटो समयको तयारीमा पनि नाम निक्ल्यो। खुसी छु। बाबुआमाको पनि सपनाको एउटा खुड्किलो पूरा गरेँ,’ प्रेरणाले खुसी व्यक्त गर्छिन्।
छोरीको सफलतामा आमाबाबु पनि झनै खुसी छन्। परराष्ट्रका ६७ नयाँ अधिकृत गत २२ मंसिरमा औपचारिक प्रवेश गरेका हुन्। तीमध्ये प्रेरणासहित २७ महिला छन्।
‘बच्चा हुँदादेखि नै बाबाले परराष्ट्रमा जागिर खानुपर्छ नानी! राजदुत हुनुपर्छ भन्नुहुन्थ्यो,’ उनले स्मरण गरिन्, ‘यो कुराले मलाई स्नातक अन्तिम सेमेस्टरसम्ममा छोएको थिएन,’ सानै उमेरमा ५ ठाउँमा अधिकृतमा नाम निकाल्ने प्रेरणाले सफलताको कहानी सुनाइन्, ‘२०८१ साल कात्तिकमा ब्याचलर पनि सकियो। यता मानव अधिकारतिर नासुमा नाम निक्ल्यो । अलिकति पढाइमा बल लगायो भने नाम निक्लिँदो रैछ भन्ने भयो।’
समयको व्यवस्थापन र पढाइमा लाग्न सके लोकसेवाको परीक्षामा नाम निकाल्न सकिने उनको अनुभव छ। स्नातक सकेपछि करिब तीन महिना मात्र लोकसेवाका लागि तयारी गरेको उनी बताउँछिन्। प्रेरणाले भनिन्, ‘बिदाको एकदमै सदुपयोग गर्नुपर्छ भन्ने अनुभव भयो। सार्वजनिक बिदाका दिनमा पनि मैले अध्ययन गरेकी हुँ।’





