काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाग गठनको तयारीमा जुटेको छ। पार्टीका केन्द्रीय सदस्य रोशन पोखरेलले पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार विभाग गठनको विषयमा छलफल भइरहेको जानकारी दिए।
सबै पक्षलाई समेटेर १५ देखि २० वटा विभाग गठन गर्ने तयारी भइरहेको उनले हिमालप्रेसलाई जानकारी दिए। उनले भने,‘पार्टी विभाग गठनको विषयमा छलफलमै छौं। सबै पक्षलाई समेटेर विभाग गठन हुन्छ। १५ देखि २० वटासम्मको विभाग बन्छ। पार्टीको समिति, आयोग, परिषद् तथा विभागमा जेनजी पुस्ताका युवालाई बढीभन्दा बढी समेट्छौं।’
प्रलोकाको संरचना चार प्रमुख केन्द्रीय अंगमा आधारित छ। जसमा केन्द्रीय परिषद्, केन्द्रीय समिति, सल्लाकार समिति र विज्ञ परिषद् छन्। यिनीहरूका अतिरिक्त पार्टीमा संवैधानिक आयोगसमेत गठन गरिएको पोखरेलले बताए। यसअन्तर्गत केन्द्रीय निर्वाचन आयोग, लेखा आयोग, सुशासन तथा सदाचार आयोग तथा सो सरहकै पुनरावेदन समिति समावेश छन्।
पार्टीमा हाल सन्तोष परियार अध्यक्ष छन् भने अध्यक्ष मण्डलमा सुदन किराँती, दुर्गा सोब, ओजश्वी भट्टराई र सुरेन्द्र प्रसाद जयसवाल छन्। पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहेको छ। यी सबैमा समावेशी प्रतिनिधित्वलाई महत्त्व दिइएको छ।
यही मंसिर ७ गते पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वमन्त्री जनार्दन शर्मा, पूर्वसांसद सन्तोष परियार र जेनजी पुस्ताका युवा ओजश्वी भट्टराईबीच एकता प्रक्रिया सम्पन्न भएपछि प्रलोकाको संगठनात्मक गतिविधि भइरहेको नेता पोखरेल बताउँछन्।
उनका अनुसार विभाग, समिति, परिषद् र आयोगमार्फत संगठनलाई व्यवस्थित बनाउँदै पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभ्याउने लक्ष्य रहेको छ।



