ईश्वरपक्षको भेलाप्रति प्रदीप ज्ञवाली असन्तुष्टि, विद्या भण्डारीको अभिव्यक्तिप्रति आपत्ति

हिमाल प्रेस ७ पुष २०८२ ७:३३ | Monday, December 22, 2025
22
SHARES
ईश्वरपक्षको भेलाप्रति प्रदीप ज्ञवाली असन्तुष्टि, विद्या भण्डारीको अभिव्यक्तिप्रति आपत्ति नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनपछि पनि केही नेताहरूले गरेको छुट्टै भेलाप्रति असन्तुष्टि जनाएका छन् । उनले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको उल्लेख गर्दै त्यसका निर्णयलाई अन्तिम नमान्ने हो भने पार्टी ‘अन्त्यहीन बहस क्लब’ मा रूपान्तरण हुने चेतावनी दिएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ज्ञवालीले महाधिवेशन सकिए लगत्तै भएका केही गतिविधिले आफूलाई दुःखित बनाएको उल्लेख गरेका छन्। ‘हिजो अस्तिका दुई दृश्यले आँखा बिझायो,’ भन्दै उनले महाधिवेशनपछि केही नेताहरूले गरेको छुट्टै भेला अपेक्षित नभएको बताएका छन्।

उनका अनुसार एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको मुख्य कारण नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नको उत्तर दिनु थियो। महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको उनको भनाइ छ ।

महाधिवेशनअघि उठाइएका विषय बोकेर ‘दुई लाइनको संघर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ को बाटोमा हिँड्दा पार्टी अघि नबढ्ने उनको टिप्पणी छ। ‘तीन महिनाको छोटो अवधिमै पार्टीलाई तंग्रिएर एउटा बिन्दुमा ल्याइपुर्‍याएका छौं,’ उनले लेखेका छन्, ‘तर लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा अझै बाँकी नै छ।’

उनले अब पार्टीको सम्पूर्ण ऊर्जा यिनै लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। महाधिवेशनपछिको आन्तरिक विवादले मुख्य राजनीतिक एजेन्डाबाट ध्यान विचलित हुन नहुने उनको भनाइ छ।

त्यसैगरी, ज्ञवालीले पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएकोप्रति पनि आश्चर्य व्यक्त गरेका छन्। ‘पूर्वराष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो,’ उनले लेखेका छन्, ‘आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला?’

प्रकाशित: ७ पुष २०८२ ७:३३ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast