जनकपुरधाम- हुलाकी सडक योजना कार्यालय जनकपुरधामलाई ३ वर्षअघि नै ६१ मोटरेवल पुल निर्माण गर्न भनिए पनि हालसम्म पनि १८ वटा पुलको ठेक्का अझै लाग्न सकेको छैन। हुलाकी सडक योजना कार्यालय जनकपुरधामले तीन वर्षदेखि डीपीआरसहितको श्रोत सुनिश्चत गरी सडक विभागमा विवरण पठाउँदै आएपनि चासो नलिई विभागले बेवास्ता गर्दा ठेक्का नलागेको हो।
हुलाकी सडक योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार करिब ३ करोड लागतसहितको श्रोत सुनिश्चत गरि १८ वटै पुलको विवरण अर्थ मन्त्रालयमा पठाए पनि हालसम्म अर्थ मन्त्रालयले चासो नलिइएका कारण ठेक्का नलागेको हो।
कार्यालयका अनुसार ठेक्का लाग्न बाँकीमा कमला बलान सडक खण्डको मैनावती पुल, जनकपुर-कदमचौक-कमला सडकमा जोगियारा नदी पुल, बाछाराजा नदी पुल र गरदनिया चोक पुल, यदुकुहा-खजुरी-महुवा सडकमा सरावे आमा हण्डा पुल, जनकपुर-जलेजर भिठ्ठामोड सडक खण्डमा पर्सा बिगघी खोला पुल, रातसखोला पुल, जलेश्वर-हार्डी सडकमा जंघा खोला पुल, मरहा खोला पुल र गेरूका नदी पुल छ।
यस्तै जनकपुर-बलवा पोखरभिण्ड संग्रामपुर सडक खण्डमा जंघा खोला र बिघी खोला पुल, सितलपुर-मलंगवा खरैईयाटोल सडकमा पुरानो लखनदृई पुल, गदहिया पुल, नयाँरोड-बरहया-मधुबनी सडकमा हरकठुवा पुल, धनकौल पुल र गोडैता-महिनाथपुर-च्युटाहा हनैया सडकमा एकादशी पुल ठेक्का लाग्न नसकेको हो । यता हुलाकी राजमार्गमा पर्ने २२ सडकको पुलसहित निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ।
हाल २१ पुल निर्माणको चरणमा छन्। पुल निर्माणको काम प्रभावकारी हुन नसक्दा स्थानीयले अपेक्षित लाभ हासिल गर्न पाएका छैनन्। सो आयोजनाअन्तर्गतका सडक कालोपत्रको अन्तिम चरणमा पुगेको भए पनि पुल निर्माणले गति लिनसकेको छैन। स्रोतको अभाव तथा अन्य प्राविधिक समस्याका कारण ठेक्का व्यवस्थापन हुन समय लागेको आयोजना प्रमुख महतोले जनाएको छ।
हुलाकी सडक आयोजना, जनकपुर खण्डको कुल चार सय तीन किलोमिटरमध्ये अब ६१ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको छ। सो खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका खण्डमा चालु आवको अन्त्यसम्म एउटा चरणमा पुर्याउन सकिने आयोजनाले जनाएको छ। सो योजना कार्यालयअन्तर्गत पूर्वपश्चिम तथा उत्तरदक्षिण गरी चार सय तीन दशमलव ६८ किलोमिटर सडक रहेको छ ।
त्यसमा दुई सय ९९ दशमलव ८० किलोमिटर नेपाल सरकारको बजेटबाट निर्माण भएको हो भने एक सय तीन दशमलव ८८ किलोमिटर सडक भारतीय अनुदान रहेको छ । हालसम्म तीन सय ४२ दशमलव ६८ किलोमिटर सडक कालोपत्र भइसकेको योजना प्रमुख महतोले जानकारी दिए।
हुलाकी सडक तथा निर्माणाधिन पुल निर्माणका लागि यस वर्ष करीब डेढ अर्ब रकम आवश्यकता रहेकोमा सरकारले मात्र५९ करोड ९० लाख बजेट विनियोजन गरेको छ ।
सडक तथा पुल समयमा निर्माण नहुनुको कारण बारे प्रमुख महतोले भने सरकारले आवश्यक बजेट उपलब्ध नगाउंदाल योजना समयमा सम्पन्न नभई ढिलाई हुँदै आएको हो ।



