यस वर्षको हात्ती सुन्दरी बनिन् पुनमकली

हिमाल प्रेस १२ पुष २०८२ २०:२४
18
SHARES
यस वर्षको हात्ती सुन्दरी बनिन् पुनमकली क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा शनिबार सौराहामा आयोजित १९औँ चितवन हात्ती महोत्सवमा २५० अंक ल्याउदै ४० वर्षीय पुनम कली बनिन् मिस हात्ती ‘सुन्दरी २०८२ ’। तस्बिरः गोपाल दाहाल/रासस

नारायणगढ (चितवन)– सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया पुनमकलीले जितेकी छन्। चार वटा हात्तीलाई पछि पार्दै पुनमकलीले ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि जितेकी  हुन्। होटल लेण्डमार्क पोखरासँग आबद्ध पुनमकलीले कुल ३०० पूर्णाङ्कमध्ये २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन्।

महोत्सवका सह–आयोजक संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका व्यवस्थापक विनोद तिमिल्सेनाका अनुसार प्रतियोगितामा सेल्फीकली, चम्पाकली, पूजाकली र समृद्धिकली सहभागी थिए।

प्रतियोगितामा होटल गौतम बर्दिवाससँग आबद्ध २० वर्षीया हात्ती सेल्फीकलीले २३५ अङ्क ल्याएर दोस्रो स्थान हासिल गरिन् भने हेरिटेज ट्राभल काठमाडौँसँग आबद्ध ३५ वर्षीया हात्ती चम्पाकलीले २२४ अङ्क प्राप्त गर्दै तेस्रो भइन्।

यसै गरी होटल श्रीनगर पाल्पासँग आबद्ध ४० वर्षीया पूजाकली चौथो र हिमालय सोसल जर्नीसँग आबद्ध २६ वर्षीया समृद्धिकलीले पाँचौँ स्थान हासिल गरिन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौलाका अनुसार प्रतियोगितामा हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, सुन्दरता, सजावटसँगै हात्ती र माउतेबीचको सम्बन्ध, हात्तीको स्वास्थ्य अवस्था तथा हेरचाहको स्तरको मूल्यांकन गरिन्छ। सोही आधारमा सुन्दरी हात्ती छनोट गरिने उनले जानकारी दिए। ‘विशेष गरी माउतेले दिएको आदेश हात्तीले कत्तिको पालना गरेको छ, माउते–हात्तीबीचको समन्वय, अनुशासनलगायत पक्षमा अंक प्रदान गरी अन्तिम निर्णय गरिन्छ,’ डा. सडौलाले भने।

क्षेत्रीय होटल संघ चितवनको आयोजनामा सौराहासहित जिल्लाको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव आयोजना हुँदै आएको छ। महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ। सौराहास्थित बाघमारा चौरमा जारी महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेको छ।

प्रकाशित: १२ पुष २०८२ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast