चुनाव नजिकिँदा बढ्यो राजनीतिक गतिविधि

हिमाल प्रेस २५ मंसिर २०८२ २१:०३
10
SHARES
चुनाव नजिकिँदा बढ्यो राजनीतिक गतिविधि

काठमाडौँ– अबको ८४ दिनपछि प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। आगामी फागुन २१ गतेलाई घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेशमा राजनीतिक गतिविधि बढेको छ। दलहरु चुनाव लक्षित अभियान र कार्यक्रममा केन्द्रित बनेका छन्। ‘जेनजी’ आन्दोलनपछि केही समय सुस्ताएको दलीय गतिविधि पुनःपुरानै लयमा फर्किएको हो।

यसअघिको प्रतिनिधिसमा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेद्वार सिफारिससँगै सांगठानिक गतिविधिलाई तीव्र पारेको छ। नेपाली कांग्रेस, गण्डकीका महामन्त्री विष्णु लामिछानेले उम्मेद्वार सिफारिस, कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरण र संगठन विस्तार सँगसँगै भइरहेको बताए।

‘जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेद्वारको नाम सिफारिस गर्ने काम भइरहेको छ,’ उनले भने, ‘निर्वाचनलाई लक्षित गरी जिल्ला र प्रदेशस्तरमा पार्टीका भेला, बैठकहरु भइरहेका छन्, पार्टीको महाधिवेशन नजिकिएकाले राजनीतिक माहोल बढेको छ।’

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुँदैछ। वडा, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन हुने भएकाले यतिबेला कांग्रेसभित्रको आन्तरिक राजनीति गर्माएको महामन्त्री लामिछानेले बताए। पार्टी महाधिवेशनसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा प्रदेशको सिंगो पार्टी पंक्ति जुटेको उनको भनाइ छ।

नेकपा (एमाले) ११औँ महाधिवेशनको संघारमा छ। महाधिवेशन प्रतिनिधिसहित पार्टीका नेता, कार्यकर्ता राजधानी पुग्ने क्रम सुरु भएको छ। शनिबारदेखि सुरु हुने महाधिवेशनले पार्टीको आन्तरिक राजनीतिलाई चलायमान बनाएको नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले बताए।

‘एमालेको महाधिवेशनले राष्ट्रिय राजनीतिमा प्रभाव त राख्छ नै, तर मुलभूत रुपमा एमालेको आन्तरिक जीवनमा यो महाधिवेशन धेरै महत्वपूर्ण छ,’ उनले भने।

महाधिवेशनको घोषणाले एमालेलाई गतिशील बनाएको र यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकताको भावनालाई थप सुदृढ पार्ने अध्यक्ष केसीले बताए। प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भइसकेको सन्दर्भमा दलका चुनावी गतिविधि स्वाभाविक रुपमा बढ्ने उनको भनाइ छ। राजनीतिक गतिविधि सही ढंगले अगाडि बढ्दा मुलुक र लोकतन्त्रको रक्षा हुने अध्यक्ष केसीले बताए।

विभिन्न दल र समूहहरुबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी यतिबेला राजनीति गतिविधिमा सक्रिय छ। उक्त पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ले गण्डकी प्रदेशस्तरीय पार्टी एकता सन्देशसभा यही मंसिर १४ गते पोखरामा सम्पन्न भएपछि अहिले जिल्लास्तरमा एकता सन्देशसभा भइरहेको जानकारी दिए। उनका अनुसार केही दिनअघि म्याग्दीमा एकता सन्देशसभा भइसकेको छ।

गोरखा र लमजुङमा बिहीबार एकता सन्देश सम्पन्न भएको छ। तनहुँ, पर्वत र स्याङ्जामा शुक्रबार, बागलुङ र नवलपुरमा शनिबार एकता सन्देश सभाको आयोजना हुने केन्द्रीय सदस्य गैरेले बताए।

एकता सन्देश सभामार्फत पार्टीका नीति र विचारलाई जनस्तरमा लैजाने र चुनावी वातावरण बनाउन काम नेकपाले गरिरहेको उनको भनाइ छ।

‘नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा जुटिसकेको छ, अहिले पार्टीको एकताको सन्देश देशव्यापी रुपमा प्रवाह भइरहेको छ, यसले निर्वाचनको माहोल बनाउन मद्दत पुगेको छ,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी, बागलुङका जिल्ला सदस्य राजेन्द्र शर्माले निर्वाचन केन्द्रित भएर पार्टीका गतिविधि अगाडि बढाइएको बताए। ‘संगठन विस्तारसँगै चुनावी तयारीमा जुटेका छौँ, १६ वटा वडाका अधिवेशन सम्पन्न गरिएको छ,’ उनले भने, ‘निर्वाचनको वातावरण बन्दैछ, दलहरु आ–आफ्नो तयारीमा लागेका छन्।’

उनले रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ बागलुङबाट चार जना आकांक्षी उम्मेद्वारको नाम पठाइएको जानकारी दिए। ‘प्रत्यक्षतर्फको निर्वाचनका आकांक्षी उम्मेद्वारहरुको आवदेन लिने काम भइरहेको छ,’ उनले भने, ‘जिल्लाबाट नामावली पठाउँछौँ, उम्मेद्वार छनोटको अन्तिम निर्णय पार्टी केन्द्रले गर्छ।’

गण्डकी प्रदेशमा क्रियाशील अन्य राजनीतिक दलहरु पनि चुनावको तयारीमा जुट्न थालेका छन्।

प्रकाशित: २५ मंसिर २०८२ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast