इटहरी- दिउँसोको समयमै अँध्यारोले धपक्कै छोपेजस्तो भएको छ। शीतलहर र हुस्सुले शरीर छपक्कै भिजाएको छ। एक-दुई-तीन गरी विस्तारै हलभित्र भरिँदैछन् मानिसहरू। र, न्यानोले हालिरहेछ अँगालो। मधुरो संगीतले मौनताको घेरा तोड्यो र स-साना स्वरहरू विस्तारै भए- ‘किप साइलेन्स’। र, सुरु भयो काव्य डबलीको पहिलो श्रृङ्खला।
‘आकाशमा उड्ने चरा पनि जमिनमा आउनु पर्छ।
कति दिन रहला र यो जवानी, एक दिन माटोमा मिल्नु पर्छ।’ (कविशिरोमणि लेखनाथ पौड्याल)
नाट्यकर्मी सोनु जयन्ती मञ्चमा पुग्नासाथ कविशिरोमणि पौड्यालको कविताका हरफबाट कार्यक्रम सुरु गरे। डबलीमा १३ जना कविहरूले आफ्ना कविता प्रस्तुत गरे।
विवश पोखरेलले ‘नकचराहरूको नाममा,’ पुरुण याख्याले ‘पाना खाली नै छ,’ गोपाल देवानले ‘लाल अञ्जान जी,’ मुकुन्द प्रयासले ‘भ्रमको महाकाव्य,’ सुदीप पाख्रिनले ‘बोध,’ केजी सुब्बाले ‘आम्रपाली,’ शीर्षकको कविता प्रस्तुत गरे।
यसैगरी टीका आत्रेयले ‘खोज,’ सीमा आभासले ‘स्मृति,’ करुणा राईले ‘नफर्किएको बादल,’ बद्री भिखारीले ‘हिँड्दाहिँड्दै,’ प्रज्वल पराजुलीले ‘एक थोपा पानी,’ मनु मञ्जिलले ‘पहाड र पहिरो’ र देवान किरातीले ‘सत्चालिस लाख लासहरू’ शीर्षकको कविता प्रस्तुत गर्दा दर्शकहरू गहिरो अनुभूतिमा डुबे। कार्यक्रममा प्रकाश घिमिरेले अर्वाज बाजाको तालमा संगीत प्रस्तुत गरे।
कविता श्रवण गर्नु भनेको ध्यान गर्नु पनि हो। कविता लेखनका निम्ति निरन्तरको साधना अपरिहार्य छ। यही साधनाबाट रचयिता भएका कविताहरूको बुलन्दमा हराउँदा आमन्त्रित दर्शकहरू मोहित भए। ध्यानमा हराएजस्तै भए। कवि मनु मञ्जिलले समाजमा कविता नहुनु भनेको हृदय नभएको मानिसजस्तै रहेको उल्लेख गरे।
‘मानिससँग धन, पद र शक्तिले जतिसुकै ठूलो भएपनि जोसँग हृदय छैन, त्यो मानिस खासै उच्चस्तरको मानिस होइन, समाज पनि त्यस्तै हो,’ उनले भने, ‘विश्वको इतिहास हेर्ने हो भने जुन बेलामा कविता लेखन एकदमै फस्टाएको छ, त्यतिबेला नाटक पनि सुन्दर बनेको छ। गीत, संगीत सुन्दर बनेका छन्। निबन्धहरू र कथा पनि सुन्दर लेखिएको छ। र सिनेमाहरू पनि सुन्दर बनेका छन्। जुन बेला कविता लेखिन्छ, त्यो बेला सबैसबै सुन्दर हुन्छन्।’ खासगरी कथा, निबन्ध, गीत, नाटक र सिनेमा निर्माण हुनु कुनै सुन्दर काव्यजस्तै रहेको उनले उदृत गरे।

मञ्जिलले थपे, ‘कविता शिथिल भयो भने हृदय नभएको मानिसजस्तै हुन्छ। ठीक त्यही कारण सबै–सबै बिग्रन्छ। एकदमै राम्रा कथाकार र निबन्धकार बसेका ठाउँमा मैले भन्छु- मानिसले खास लेख्छ भने त्यो कविता हो। मानिसले निबन्धमा फैलाएर कवितालाई लेख्न सक्छ। कवितामा नराखेर कथामा राख्न सक्छ। त्यसकारण काव्य लेखन महत्वपूर्ण छ।’
विशेष गरी इटहरीमा हरेक दुई–दुई महिनामा काव्य डबलीलाई श्रृङ्खलाबद्ध रूपमा सञ्चालन गरिनेछ। उक्त कार्यक्रम कुनै संस्था वा व्यक्ति आयोजक नभई स्वस्फूर्त रूपमा यहाँका कवि, लेखकहरूको सक्रियतामा सञ्चालन भएको हो।
खासगरी साँझको समय मानिस मौन बस्न सक्ने र कार्यक्रम साँझको समयमा नै आयोजना गरिएको बताइयो। साढे ५ बजेदेखि सुरू भएको कार्यक्रममा कवि मञ्जिलले भने, ‘मौनताले कविलाई बल दिन्छ। साँझको समय मौन बस्न सकिने समय भएकाले यो समयमा कविताको कार्यक्रम राखिएको हो। कविता ध्यान हो। ध्यानको अनुभूति गराउनका निम्ति पनि यो कार्यक्रमले बल दिनेछ।’

कविताको तह टेकेका र कविता लेखनमा सक्रिय कविहरूलाई उक्त मञ्च प्रदान गरिनेछ ।
सहरलाई अर्कै एउटा उचाईमा पु¥याउने उद्देश्यले सुरू गरिएको काव्य डबलीमा मानिसहरूले फरक अनुभूति गरे। कुनै थियटरमा गएर चुपचाप नाटक हेरेजस्तै कविताको रसास्वादनमा हराएजसरी आमन्त्रित मानिसहरू मन्त्रमूग्ध बने। यतिबेलासम्म मानिसको शरीरको चिसो हटिसकेको छ र मनको कुनाकुना भएर कविताका धूनहरू गुञ्जिरहेको छ।
बाहिरको हुस्सु उस्तै थियो, तर काव्यिकताले न्यानो फैलाइसकेको छ। यसरी काव्य डबलीको पहिलो श्रृङ्खलाले व्यस्त सहरलाई मौनताको भाषा सिकायो। र, पुनः मानिसहरू एक–दुई–तीन गरी विस्तारै हराउँदै गए।





