मोरङ- जिल्ला प्रहरी कार्यालय मोरङले लेटाङ–२ की किशोरी अंशु गौतम हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै अंशु गौतम हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको हो। बलात्कारपछि अंशुको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले घटनाबारे किशोरीले आफन्तलाई बताइदिने डरले आरोपीले धारिलो हतियार प्रयोग गरी अंशुको हत्या गरेको अनुसन्धानबाट देखिएको खुलेको बताए। उनले लामो अनुसन्धान र मिहिनेतपछि अपराधीसम्म पुग्न सफल भएको र यसक्रममा ३ सय भन्दा बढीसँग सोधपुछ गरिएको जानकारी दिए। पक्राउ परेका अधिकारी विरुद्ध ज्यान सम्बन्धी र करणी सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाउने एसपी कटुवालले बताए।
गत असोज २१ गते हराएकी अंशु गौतमको शव १८ दिन पछि कात्तिक ७ गते लेटाङ वडा नं. २ को बेलबारी चिसाङ साझेदारी वनमा सडेको अवस्थामा फेला परेको थियो।
उनको हत्याको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान व्युरो सीआईबीको छुट्टै टोली खटिएको थियो।



