ओलीको जित, ‘एमाले’ को हार

किरण पौडेल ३ पुष २०८२ १३:३०
90
SHARES
ओलीको जित, ‘एमाले’ को हार

काठमाडौँ- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। उनी पछिल्लो शक्ति सन्तुलनले फेरि एकपटक वर्चस्व कायम गर्न सफल भएका हुन्। औपचारिक रूपमा ओलीले व्यक्तिगत राजनीतिक विजय हासिल गरे पनि यही जित एमालेका लागि दीर्घकालीन हारको संकेत पनि हो।

२०७१ सालमा पहिलोपटक ओली नेतृत्वमा आएदेखि पार्टीभित्रको संस्थागत लोकतन्त्र, वैचारिक बहस र सामूहिक निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठ्दै आएको छ। पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीले सूत्रपात गरेको जनताको बहुदलीय जनवाद ओझेलमा पारिएको छ। ओलीको तेस्रो पटकको जितले यस्ता प्रक्रियामा झन् ओलीको एकाधिकार हुने निश्चित छ।

ओलीको राजनीतिक शैली सधैँ आदेशात्मक र व्यक्ति-केन्द्रित रहँदै आएको छ। पार्टी संगठन पनि यही निर्देशनबाट सञ्चालन भइरहेको जोकसैले पनि अनुभव गरेको विषय हो। महाधिवेशन प्रतिनिधि चयनमा पनि तलसम्मै शक्ति र सत्ताको प्रयोग गरेको आरोप लागेकै हो।

यिनै कारण एमालेको सांगठनिक स्वास्थ्यलाई क्रमशः कमजोर बनाएको तथ्य लुकाउन सकिँदैन। पार्टी विधान, पदावधि, सामूहिक नेतृत्वजस्ता विषय ओलीको सुविधाअनुसार व्याख्या र संशोधन हुँदै आएका छन्। यहाँ के भुल्न हुँदैन भने ओलीले आफू तेस्रोपल्ट अध्यक्ष बन्नकै लागि दुईबर्से कार्यकाल बढाएर तीनबर्से बनाएका हुन्।

यसबाट पनि संगठनभन्दा व्यक्ति शक्तिशाली भएको सन्देश दिएको छ।

एमालेमा अघिल्लो महाधिवेशनपछि फरक मत राख्ने नेताहरू किनारामा पारिँदै गएका थिए। कतिपय मौन बस्न बाध्य भएका थिए। कतिपय राजनीतिबाटै बाहिरिएका छन्। यसले पार्टीलाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको छ।

ओलीले दसौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका भीम रावललाई पार्टीबाटै निकालिदिएका थिए। १५ वर्ष पार्टीको कार्यकारी महासचिव बनेका माधवकुमार नेपाल र पूर्वअध्यक्ष झलनाथ खनाल ओलीकै कारण बाहिरिन बाध्य भए। विद्यादेवी भण्डारी पनि ओलीकै कारण पार्टीमा सक्रि हुन पाइनन्।

एमालेजस्तो लामो इतिहास र बलियो संगठन भएको पार्टीमा आन्तरिक प्रतिस्पर्धा भएर नेतृत्व चयन हुनु सकारात्मक हो। यसपटकको पार्टीको आन्तरिक चुनावले दसौँ महाधिवेशनपछि एमालेमा देखापरेको हैकमवादी ओली प्रवृत्ति बिस्तारै खुम्चँदै गएको छ। अब भने हार्ने पक्ष पनि शक्तिशाली भएर देखिएको छ। त्यसैले ओलीलाई सजिलो हुने देखिँदैन।

ओलीको जितले तत्काल सत्ता र संगठनमा स्थिरता आएको जस्तो देखिए पनि यसले वैचारिक विकासलाई रोकिदिएको छ। एमालेमा कुनै बेला बहस र वैचारिक प्रशिक्षण बलियो थियो। अहिले सांगठनिक र नीतिगत बहस भए पनि ओलीले जे चाहन्छन् त्यो मात्रै हुने गरेको छ। नीति निर्माणभन्दा सत्ता कसरी जोगाउने र शक्ति सन्तुलन कसरी मिलाउने अभ्यासमै ओली केन्द्रित हुँदै आएका छन्।

राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘ओलीलाई आफ्ना विरुद्ध कसैले उम्मेदवारी दिँदैनन् भन्ने थियो। ईश्वर पोखरेलले कति ल्याएभन्दा फरक लाइन अभ्यास भयो। त्यसैले अब ओली समूहलाई कठिन छ।’

एमाले पार्टी संगठन खस्कँदै गएको छ। पार्टी अध्यक्ष ओलीमाथि अनेक आरोप छन्। भदौ २३ गते जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको विषयमा धेरैले ओलीले जिम्मेवारी लिनुपर्ने बताएका छन्। कतिपयले उनलाई ‘नरसंहारकारी’ को आरोप लगाएका थिए। त्यति ठूलो घटना भए पनि ओलीले सार्वजनिक रूपमा पश्चात्ताप व्यक्त गरेका छैनन्। माफी मागेका छैनन् न त सहिद परिवारलाई सहानुभूति व्यक्त गरेका छन्।

ओलीमा तेस्रोपल्ट अध्यक्ष बन्ने तीव्र लालसा पूरा भएको छ। उनी जसरी पनि अध्यक्ष बन्न चाहन्थे भन्ने दृष्टान्त महाधिवेशनअघिको भाषणबाट नै स्पष्ट थियो। उनले महाधिवेशनमा आफूले बोलेपछि केही नहुने बताएका थिए। तर ओलीले सोचजस्तो भएन। प्यानलै बनाएर ओलीविरुद्ध प्रतिस्पर्धा भयो।

दाहाल भन्छन्, ‘पार्टीलाई अझ सुदृढ बनाउन ओलीको इगो झन् बाधक हुन्छ। ओलीले जिते पनि पार्टीलाई कमजोर बनाउने निश्चित छ। त्यसैले यसपटक एमालेले हारेको छ।’ फरक लाइन संघर्षले भने पार्टी जीवन्त बन्नेमा आशावादी देखिने उनको बुझाइ छ।

ओली जेनजी आन्दोलनका बेला भदौ २४ मा शक्तिशाली प्रधानमन्त्री थिए। स्थिति सम्हाल्न नसकेपछि उनी बालुवटारबाटै हेलिकप्टर चढेर भागेका थिए। जनताका अभिभावक त्यसरी भागेको घटना नेपाली इतिहासमा विरलै छ।

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा पनि ओलीको जित एमालेका लागि फलिफाप नहुने बताउँछन्। उनले भने, ‘ओली भन्ने पात्र जेनजी आन्दोलन सँगसँगै विभिन्न परिघटनाबाट फ्याँकिएका पात्र हुन्। तर पनि एमाले प्रतिनिधिले जिताए।’

उनका अनुसार ओलीको जितबाट एमाले पुरानो एमाले रहेन भन्ने देखिन्छ। खतिवडाले भने, ‘पहिले प्रतिनिधिहरू स्वचालित रूपले चुनिन्थे र आफैँले भोट हालेर जिताउँथे, अहिले त प्रतिनिधि पनि गुटका हुने भएकाले यस्तो हुन थाल्यो।’ समग्रमा अहिलेको एमाले ओलीको गुट मात्र हो भन्ने देखिएको उनको बुझाइ छ।

उनले भने, ‘ओलीले चुनाव जितेपछि आगामी निर्वाचनमा एमाले कमजोर हुने देखिन्छ। यसअघिको चुनावमा २७ प्रतिशत मत ल्याएको एमालेले अब २० प्रतिशतभन्दा कम मत ल्याउँछ। यो पार्टी अब दक्षिणपन्थी भासमा पुगिसकेको छ।’

व्यक्ति केन्द्रित पार्टीहरू नेतृत्व बलियो रहुन्जेल टिक्छन्, नेतृत्व कमजोर भएलगत्तै संकटमा पर्छन्। यसअघि ओलीमा उत्तराधिकारबारे स्पष्टता थिएन। दोस्रो पुस्ताको नेतृत्वलाई जानाजानी कमजोर बनाएका थिए। यो अधिवेशनबाट ओलीका बारेमा फरक सन्देश गएको छ। एमाले फेरि संस्थागत, वैचारिक र लोकतान्त्रिक चरित्रमा फर्किन सकेन भने ओलीको जित इतिहासमा एमालेको दीर्घकालीन हारका रूपमा दर्ज हुने निश्चित छ।

प्रकाशित: ३ पुष २०८२ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast