एमालेको उपमहासचिवका उम्मेदवार लेखराज भट्ट (बायाँ), सचिवका उम्मेदवार भानुभक्त ढकाल (दायाँ)।
काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। एमाले नेतृत्वका लागि दुई समूह विभाजित भएर उम्मेदवारी दर्ता गराइरहेका छन्। संस्थापनबाट केपी शर्मा ओलीको प्यानल बन्दा इतरबाट ईश्वर पोखरेल समूहले अधिकांश पदमा दाबेदारी प्रस्तुत गरेको छ। नेताहरूका अनुसार ओली समूहमा भने लिष्ट बनेसँगै असन्तुष्टि बढेको छ।
लिष्टमा आफूले चाहेको पद नपाएपछि लेखराज भट्टले पद अस्वीकार गरेका छन्। पूर्वमाओवादी नेता लेखराजले उपमहासचिव पदमा दाबी गरेका थिए। तर ओलीले सचिवमै यथावत राखेपछि असन्तुष्ट बनेका थिए। तर ओलीले लिष्ट संशोधन गर्दै आफू निकट भानुभक्त ढकाललाई सचिवमा राखेर लेखराजलाई उपमहासचिवमा ल्याएका छन्। एमाले संस्थापन एक नेताका अनुसार लेखराजलाई मनाउन ओलीले भानुभक्तलाई घटुवा गरेका हुन्। तर संस्थापनमा असन्तुष्टि अझै छ।
महासचिवका दाबेदार प्रदीप ज्ञवालीले आफूले चाहेको पद नपाउँदा असन्तुष्ट छन्। ओलीले शंकर पोखरेललाई महासचिवको उम्मेदवार दोहोर्याएपछि ज्ञवाली असन्तुष्ट बनेका हुन्। त्यसो त, एमाले नेता राजेन्द्र गौतम समेत ओलीको लिष्टमा नाम नपरेपछि असन्तुष्ट छन्।
उनले सचिवमा दाबेदारी प्रस्तुत गरेपनि लिष्टमा परेनन्। ओली निकट स्रोतका अनुसार लिष्ट मिलाउने काम पनि अहिले भइरहेको छ। एमाले निर्वाचन आयोगका अनुसार साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय छ। नेतृत्वका लागि आगामी जेठ १ मा मतदान हुँदैछ।




