प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

हिमाल प्रेस ९ पुष २०८२ १८:००
28
SHARES
प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले बुधबार शिष्टाचार भेट गरेका छन्।

कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायतको टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट गरेको हो।

टोलीले विशिष्ट अवस्थामा गठन भएको यो सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भनेर शुभकामना व्यक्त गरेको थियो।

प्रधानमन्त्री कार्की प्रतिष्ठानका पदेन संरक्षक पनि हुन्।

यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाबारेमा जानकारी गराएका थिए। देशको गीत, संगीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको उनले गुनासो गरे।

प्रतिष्ठान अहिले प्रिफ्याबको अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको उनले जानकारी गराए।

नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो। त्यसैमध्येको एउटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो।

प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरूसँग परामर्श गरी यसबारे आवश्यक पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast