काठमाडौ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँले पोखरलाई १३ रनले पराजित गरेको हो।
काठमाडौँले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा पोखराले ८ विकेट गुमाएर १५३ रन बनाउनसक्यो।
खेलको अन्तिम ओेभरमा साहब आलमको ह्याट्रिक विकेटले पोखराका ब्याटर धारासायी भए। उनले अन्तिम ओभरमा चार विकेट लिए। आलमले कुल ६ विकेट लिए।
शीर्षका साथै मध्यक्रमका ब्याटरहरू नचल्दा पोखरा खेलमा कमजोर देखियो। ओनिङका लागि आएका कप्तान कुशल भुर्तेल २२ रन बनाउँदा अर्का ओपनर एडम रोसिङ्टनले मात्रै ५ रन बनाए। त्यस्तै मध्यक्रममा ब्याटिङका लागि आएका जैसन रोय १६, ट्रिट राज दास ९, धनन्जय लक्षणले ३० रन बनाए।
धनन्जयसँग साझेदारी गरेर ५४ रनको व्यक्तिगत योगदान दिएका ऋषि धवनले टिमलाई माथि उकास्ने प्रयास गरे पनि अन्य ब्याटरहरूबाट साथ पाएनन्। पोखराका विपिन कार्की र आकाश चन्द शून्य रनमा आउट भए।
काठमाडौँका लागि आलमले ६ विकेट लिए। त्यस्तै कप्तान करण केसी र सन्नी पटेलले २–२ विकेट लिए।
यसअघि ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रनको योगफल खडा गरेको थियो। काठमाडौँका लागि बेन काल्र्सवर्थले ६४ रन बनाए।
आकाश त्रिपाठी शून्य रनमा आउट हुँदा, रासिद खानले ७, मिलिन्द कुमार १३ र भीम सार्कीले ५५ रनको योगदान दिए।
पोखराका लागि धनन्जयले ४, कुशल भुर्तेलले २, विपिन खत्री र किरण ठगुन्नाले १–१ विकेट निकाले।
पोखराले पराजित गरेसँगै ७ मध्ये पाँच खेल जितेर काठमाडौँ १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। पाँचमध्ये पाँच खेल जितेर १० अंकसहित सुदूरपश्चिम रोयल्स आफ्नो पहिलो स्थान कायमै राखेको छ।
त्यस्तै ६ मध्ये ४ खेल जितेको विराटनगर ८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ भने लुम्बिनी लायन्स ६ अंकसहित चौथो स्थानमा रहेको छ।
त्यस्तै पोखरा, चितवन, कर्णाली र जनकपुर क्रमशः पाँचौँ, छैठौँ, सातौँ र आठौँ स्थानमा रहेका छन्। शीर्ष चार टोली सेमिफाइनलका लागि छनोट हुनेछन्।



