एनपीएल : लुम्बिनी फाइनलमा, बाहिरियो विराटनगर

हिमाल प्रेस २५ मंसिर २०८२ १९:११
14
SHARES
एनपीएल : लुम्बिनी फाइनलमा, बाहिरियो विराटनगर

काठमाडौँ- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्वालिफायर–२ मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो। उपाधिका लागि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयलसँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणको अन्तिम खेल र क्वालिफायर–२ मा खेल गुमाउँदा विराटनगर प्रतिस्पर्धाबाट बाहिरिन पुगेको हो। लिग चरणको अन्तिम खेलमा सुदूपश्चिमसँग पराजय भोगेको विराटनगर क्वालिफायर–२ मा लुम्बिनीसँग हार बेहोर्नुपर्‍यो।

लुम्बिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७.५ ओभर खेलेर ९४ रनमात्रै बनाउन सक्यो। लुम्बिनीले विराटनगरलाई ४० रनले पराजित गरेको हो।

शीर्ष तथा मध्यक्रमका ब्याटरहरू चल्न नसकेपछि विराटनगरले महत्वपूर्ण खेल गुमाउन पुगेको हो। विराटनगरका लागि तीन ब्याटरले मात्रै दोहरो अंकमा रन जोड्नसके।

सैम हिजलेटले सर्वाधिक ३४ रन बनाउँदा नरेन भट्टले २१ र मर्चेन्ट डी लङले १७ रनको योगदान दिए। यीबाहेक अन्य कुनै पनि ब्याटर दोहरो अंकमा पुगन् सकेनन्।

विराटनगरले सबैभन्दा बढी भरोसा गरेको मार्टिन गप्टिल र फाफ डु प्लेसीस सस्तोमा आउट भए। ओपनिङका लागि आएका गप्टिल २ र डुप्लेसीस ४ रनमा आउट भए।

त्यस्तै लोकेस बम शून्य रनमै पबेलियन फर्किए। शंकर राना ७, बसिर अहमद ३, सन्दीप लामिछानेले ३ रन बनाए।

विराटनगरलाई सस्तोमा आउट गर्न लुम्बिनीको कसिलो बलिङ र चुस्तदुरुस्त फिल्डिङ महत्वपूर्ण सावित भयो। लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा जम्मा १५ रन खर्चेर ३ विकेट लिए। उनी प्लेयर अफ द म्याच घोषित भए।

त्यस्तै रुबेन ट्रम्पलेम्यान, जेजे स्मीट र अविशेष गौतमले २–२ तथा सेर मल्लले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको मध्यम योगफल खडा गरेको थियो।

लुम्बिनीका लागि डी आर्सी सर्टले सर्वाधिक ४५ रन बनाउँदा कप्तान रोहित पौडेलले ३४ र निरोशन डिकवेलाले २९ रनको योगदान दिए। सन्दीप जोरा र जेजे स्मीट शून्य रनमा आउट भएन भने रुवेनले ११, शेर मल्लले ७ रनको योगदान दिए।

प्रकाशित: २५ मंसिर २०८२ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast