काठमाडौँ- कैलालीको गेटामा रहेको नेपालकै पहिलो दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको आवेदन परेको छैन। आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आवेदन दिन आह्वान गर्दै आफूलाई सम्पर्क गर्न आग्रहसमेत गरेका छन्।
शिक्षामन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन्। ‘सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदको लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन,’ मन्त्री पुनले लेखेका छन्।
मन्त्री पुनले उपकुलपतिका लागि १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा.भई काम गरेको इच्छुक व्यक्तिलाई विश्वविद्यालयको नेतृत्व लिन सार्वजनिक आह्वान पनि गरेका छन्।
‘मातृभूमिलाई योगदान दिने उद्देश्यले १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा.भई काम गरेको नेपाल आमाको कोही देशभक्त सन्तान हुनुहुन्छ भने आउनुहोस् वा मलाई नै सम्पर्क गर्नुहोस्,’ मन्त्री पुनले भने।
शिक्षा मन्त्रालयले उपकुलपतिका लागि गत कात्तिक १६ गते पहिलो र मंसिर ५ गतेसम्मका लागि दोस्रोपटक आवेदन माग गरेको थियो।



