राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

हिमाल प्रेस ५ पुष २०८२ १४:१२ | Saturday, December 20, 2025
10
SHARES
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल प्रतिनिधिमूलक तस्बिर।

चितवन- चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको पछिल्लो गणनामा घडियाल गोहीको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। निकुञ्ज कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष दुवै नदीमा गरी जम्मा ३६६ वटा घडियाल फेला परेका छन्।

अघिल्लो वर्ष यी नदीहरूमा ३५२ वटा घडियाल गोही फेला परेका थिए। निकुञ्जले मङ्सिर २१ देखि २९ गतेसम्म गरेको प्रत्यक्ष अनुगमनका क्रममा राप्ती नदीमा २३१ र नारायणी नदीमा १३५ वटा गोही फेला परेका हुन्।

यस वर्षको गणनाको रोचक पक्ष भनेको भाले घडियालको उपस्थिति र दुर्लभ डल्फिनको दर्शन हो। गणनाका क्रममा राप्तीमा सात र नारायणीमा दुई गरी जम्मा नौ वटा भाले घडियाल फेला परेका छन्।

अतिसंकटापन्न अवस्थामा रहेका यी गोहीहरूको संरक्षणका लागि निकुञ्जले चलाएको अभियान र समुदायमा बढेको चेतनाका कारण सङ्ख्या बढेको अनुमान गरिएको छ। यस्तै, नारायणी नदीको गोलाघाट क्षेत्रमा गणनाकै क्रममा एउटा डल्फिन (साँस) समेत फेला परेको छ, जसलाई निकुञ्ज प्रशासनले जैविक विविधताको दृष्टिले सकारात्मक सङ्केत मानेको छ।

निकुञ्जका अनुसार राप्ती नदीमा गोहीको सङ्ख्या बढे पनि नारायणीमा भने गत वर्षको तुलनामा केही कमी आएको देखिएको छ। सन् १९७८ देखि कसरामा स्थापित घडियाल प्रजनन केन्द्रबाट हरेक वर्ष कृत्रिम रूपमा बच्चा हुर्काएर नदीमा छाड्ने गरिएकाले पनि यिनको अस्तित्व जोगिन मद्दत पुगेको छ। आगामी दिनमा घडियाल र तिनको बासस्थान संरक्षणका लागि नदी प्रणालीलाई अझ सुरक्षित बनाउँदै लैजाने निकुञ्जको योजना रहेको छ। रासस

प्रकाशित: ५ पुष २०८२ १४:१२ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast